Logo
Logo

पाल्पामा एक युवतीको बीभत्स हत्या



तानसेन । पाल्पामा एक युवतीको घाँटी रेटेर हत्या भएको छ । पाल्पाको रिब्दीकोट गाउँपालिका–१ ख्याहामा बीभत्स तरिकाले हत्या भएको अवस्थामा युवतीको शव भेटिएको हो । मंगलबार दिउँसो घरनजिकै पँधेरोमा नुहाउन गएकी ती युवतीको धारीलो हतियारले शरीरका विभिन्न स्थानमा प्रहार गरेर हत्या गरेको अवस्थामा भेटिएको थियो ।

रिब्दीकोट गाउँपालिका–१ ख्याहाका वडाध्यक्ष चिरञ्जीवी पोखरेलकाअनुसार मृतक १९ वर्षीया पद्मा ख्याहा कराङ्दीका दलबहादुर र कमला सुनारकी छोरी हुन् । उनी शारदा माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिइन् ।

मंगलबार दिउँसो करिब ४ बजे घरनजिकै रहेको पँधेरामा नुहाउन गएकी उनी अबेर साँझसम्म नफर्किएपछि खोजी गर्ने क्रममा हत्या गरिएको अवस्थामा शव भेटिएको थियो । वडाध्यक्ष पोखरेलका अनुसार उनको घाँटी र हातका औलाहरू काटिएका थिए भने घटनास्थलको प्रकृती हेर्दा जबरजस्ती गर्न खोज्दा बच्ने प्रयत्न गरेपछि हत्या भएको जस्तो देखिएको छ ।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक नरेन्द्र चन्दले घटना साँझपख भएकोले आज बिहानबाट मात्र अनुसन्धान सुरू गरिएको बताए । प्रहरी उपरीक्षक चन्दका अनुसार अनुसन्धानको लागी भैरहवाबाट कुकुर घटनास्थल पुगिसकेको छ । उनले भने, ‘अहिले बिहानैदेखि अनुसन्धान अगाडि बढाइएको छ । चाँडै घटनाबारे वास्तविकता पत्ता लाग्ने छ ।’

प्रतिक्रिया दिनुहोस्