Logo
Logo

क्यानले सोध्यो निगमलाई २७ बुँदे स्पष्टीकरण, चित्तबुझ्दो जवाफ नदिए कारबाही


378
Shares

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नेपाल वायुसेवा निगमलाई २७ बुँदे स्पष्टीकरण सोधेको छ । हवाई क्षेत्रको नियामक निकाय क्यानले राष्ट्रिय ध्वजावाहक कम्पनी नेपाल वायु सेवा निगमको कार्यसम्पादनमा कमजोरी औंल्याउँदै स्पष्टीकरण सोधेको हो ।

निगमको आन्तरिक अडिट कमजोर रहेको उल्लेख गर्दै युरोपेली युनियन (ईयु)को अडिट र प्राधिकरणले विभिन्न समयमा गरेको अडिटबाट देखिएका समस्या हटाउन निगमले गरिरहेको कामबारे स्पष्टीकरण सोधिएको क्यानका उपमहानिर्देशक जगन्नाथ निरौलाले बताए ।

उनका अनुसार सात दिनको समय राखेर स्पष्टीकरण सोधिएको र चित्तबुझ्दो जवाफ नआए कानुन अनुसार कारबाही हुनेछ । यस्तै निगमको ए ३२० जहाजको इन्जिन पटक–पटक बिग्रिने र समयमै इन्जिन प्राप्तिको योजना बनाउन नसकेको प्रति पनि क्यानले प्रश्न उठाएको छ ।

क्यानले पाँच वर्षदेखि ट्विनअटर जहाज ‘नाइन एन–एबिएक्स’ मर्मत नगरेको जनाउँदै त्यसलाई थन्क्याइएको बारेमा समेत स्पष्टीकरण सोधेको छ । ट्विनअटर जहाजमा भीएचएफ जडान नगरिएको र लेखा परीक्षणबाट देखिएका कमजोरी सुधारको कार्ययोजना पेस गर्न नसकेको विषयसमेत स्पष्टीकरणमा समेटिएको छ ।

यस्तै, अव्यवस्थित ह्यांगर व्यवस्थापनबारे पनि क्यानले निगमसँग स्पष्टीकरण सोधेको छ । जिम्मेवार पदाधिकारीहरू जहाजका पार्टपुर्जा र उपकरण खरिदमा केन्द्रित हुने तर आफ्नो दायित्व तथा कर्तव्य पालनामा ध्यान नदिएको प्राधिकरणले जनाएको छ ।
उपमहानिर्देशक निरौलाले निगमले हवाई उडान सुरक्षामा हेलचेक्र्याइँ गरेको पाइएको बताउँदै चित्तबुझ्दो जवाफ नआए ‘नागरिक उड्डयन नियमावली २०५८’ अनुसार कारबाही हुने बताए ।

यस्तै, निगमका तीन विभागमा रिक्त जनशक्ति नियुक्त नभएकोमा पनि प्रधिकरणको असन्तुष्टि छ । प्राधिकरणले ‘कन्टिनुइङ एयर वर्दिनेस’ र ‘मेन्टिनेन्स म्यानेजर’ पद लामो समयसम्म खाली राखिएको बारेमासमेत प्रश्न गरेको छ । तोकिएको समयमा अनिवार्य मर्मत गरिनुपर्ने जहाज नगरिएको र बारम्बार यस्ता समस्या दोहोरिएको भनेर निगमले प्राधिकरणसँग स्पष्टीकरण सोधेको छ ।

उडान सुरक्षामा देखिएका कमजोरी, जहाजहरू लामो समय ‘ग्राउन्डेड’ हुने, निगमको मेन्टिनेन्स संगठन कमजोर देखिएको, इन्जिन प्राप्त गर्ने उचित योजनाविना जहाज इजरायलमा राखिएकालगायतका २७ बुँदे स्पष्टीकरण निगमलाई प्राधिकरणले सोधेको छ । क्यानले निगमलाई सात दिनभित्र चित्तबुझ्दो जवाफ दिन भनेको छ ।

प्रतिक्रिया दिनुहोस्