Logo
Logo

नाउपालाई च्याप्दै मुख्यमन्त्री शाह, दुई मन्त्रीको रातारात तोकियो जिम्मेवारी


1k
Shares

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी नागरिक उन्मुक्ति पार्टी (नाउपा)का दुईजना विनाविभागीय मन्त्रीको रातारात जिम्मेवारी तोकिएको छ । बधुबार राति मुख्यमन्त्री कमलबहादुर शाहले यसअघि विनाविभागीयमन्त्री बनाएका दुई जनालाई जिम्मेवारी दिएका हुन् ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा सबै मन्त्रीको उपस्थितिमा नाउपाका लक्ष्मणकिशोर चौधरीलाई सामाजिक विकास मन्त्रालय र खुशीराम चौधरीलाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवार तोकिएको छ ।

मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार दुबै जनाले हिजै पत्र बुझिसकेका छन् भने र आज कार्यभार सम्हाल्ने तयारी गरेका छन् ।
नाउपा संसदीय दलका नेता घनश्याम चौधरीले दुईमन्त्रीको जिम्मेवारी तोकेको पुष्टि गरेका छन् । उनले मुख्यमन्त्रीसँगको छलफलमा जिम्मेवारी तोकिएको बताए ।

मन्त्री नियुक्त गरेपनि जिम्मेवारी नतोक्दा उनीहरुले राजीनामा दिने चेतावनी दिएका थिए । उनीहरुले झण्डा हल्लाउने मात्र मन्त्रीको काम नभएको भन्दै मन्त्रालय तोक्नु ताकेता गर्दै आएका थिए ।

सुदूरपश्चिममा नाउपाका ७ सांसद छन् । तीमध्य पाँचजना मन्त्री नियुक्त भएका छन् । अहिले कांग्रेस नेतृत्वको सरकारमा १८ सांसद रहेको कांग्रेसबाट मुख्यमन्त्रीसहित २ मन्त्री छन् भने ७ सांसद रहेको नाउपाबाट ४ मन्त्री र एक राज्यमन्त्री छन् ।
माओवादी र नेकपा एकीकृत समाजवादीले समर्थन फिर्ता लिएपछि नाउपाले साथ दिदा समेत सरकार जोगाउन दुई सांसदको अभाव छ । नाउपामा पनि अहिले कांग्रेस नेतृत्वको सरकारलाई समर्थन गर्ने विषयमा विवाद छ ।

नाउपाको केन्द्रले नयाँ गठबन्धनमा जाने निर्णय गरेको छ । तर, प्रदेश संसदीय दलका बहुमत सदस्य कांग्रेस नेतृत्वकै सरकारलाई निरन्तरता दिन चाहन्छन् । नाउपाभित्रै प्रदेश सरकारलाई समर्थन गर्ने कि नगर्ने भन्नेमा पार्टीका नेता रेशम चौधरी र अध्यक्ष रन्जिता श्रेष्ठबीच विवाद रहँदै आएको छ ।

रेशम चौधरी पक्ष कांग्रेस नेतृत्वलाई सरकारलाई समर्थन गरेर जाने पक्षमा रहेछ । तर, अध्यक्ष रन्जिता सुदूरपश्चिम प्रदेश सरकारमा नाउपाबाट सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाउन कसरत गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्