Logo
Logo

यस कारण अझै तीन दिन वर्षा



काठमाडौं । हाल नेपालमा स्थानीय वायुको उच्च प्रभाव रहेको छ । जसका कारण अझै तीन दिनसम्म वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार शुक्रबार आज बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

यस्तै, दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ ।
कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा देशका बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज राति देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यस्तै, भोलि शनिबार देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रहने छ । बाँकी भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।

बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

शनिबार राति देशका पहाडी भू-भागमा आंशिक बदली रहने छ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । शनिबार कोशी, गण्डकी, र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । यस्तै, आइतबार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिदेखि साधारणतया बदली र देशका बाँकी भू-भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने छ ।

गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा तथा बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आइतबार राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्