Logo
Logo

कहाँ हरायो हाम्रो खुसी ?



खुसी अर्थात् प्रसन्नता । दुनियाँमा सबैभन्दा खुसी को होलान् ? हाम्रो मानसपटलमा चित्र बन्छ– अबोध बालक । कुनै चर्चित, सफल र धनी व्यक्तिको चित्र बन्दैन ।

सबैलाई बालापन प्रिय लाग्छ । यसको एउटै कारण हो- खुसी । हामी केटाकेटी हुँदा दसैँ आउनु, खुसी आउनु थियो । दसैँजस्तो खुसी कहिल्यै मिल्दैन थियो । मिठो खाना, राम्रो नाना । तर, अहिलेका केटाकेटीका लागि खुसी खोज्न दसैँ कुर्नु पर्दैन । मोबाइल चलाउन पाए पुग्छ !

मान्छेको उमेरसँगै जिम्मेवारी बढ्छ । कर्तव्य बढ्छ । खुसी भने घट्दै जान्छ । ठ्याक्कै माग र पूर्तिको नियमजस्तो । हालै सार्वजनिक तथ्याङ्कले पनि यही देखाउँछ । सबैभन्दा बढी दुःखी युवा छन् ।

१८ वर्षदेखि खुसी घट्न थाल्छ । ४० वर्षको आसपासमा न्यून बिन्दुमा पुग्छ । ५० वर्ष कटेपछि खुसी फेरि बढ्न थाल्छ । १८ वर्षपछि जिम्मेवारी काँधमा आइपर्छ । भविष्यको चिन्ता हुन्छ । के गर्ने कसो गर्ने छटपटी हुन्छ । जिन्दगीको लक्ष्य अलमलमा पर्छ । फलानोको छोराछोरीले यस्तो उस्तो प्रगति गरिसक्यो भन्दै खिस्याउँछन् ।

४० वर्ष आसपासमा बढी जिम्मेवारी आइपर्छ । बालबच्चा सानै हुन्छन् । लालनपालन, पढाइ सबै हेर्नुपर्छ । आमाबुबा डाँडाको जुनघामजस्तै । हेरचाह गर्नुपर्छ । जागिर गर्नेहरूलाई तलबले खर्च धान्न पुग्दैन । व्यापार गर्नेहरू पनि सफल भइसकेका हुँदैनन् ।

हामी खुसी दुनियाँमा खोजिरहन्छौँ । खुसी त आफैभित्र छ । जे गर्दा दुःखी भइन्छ, त्यो नगरौँ । दुःख रातजस्तो हो । अँध्यारो कहिल्यै हुँदैन । त्यो त प्रकाशको अभाव मात्र हो । दुःख पनि हुँदैन, त्यो खुसीको अभाव मात्र हो ।

सपना अधुरै हुन्छ । रहर एकातिर, बाध्यता अर्कोतिर । चुम्बकका समान ध्रुवहरूजस्तै । विकर्षण भइहाल्छ । जब मान्छेले पालो पाउन थाल्छन् । अर्थात् सन्तानको सहयोग मिल्न थाल्छ । जिम्मेवारी घट्दै जान्छ । त्यसपछि खुसी बढ्न थाल्छ ।

पछिल्लो समय समग्र नेपालीको खुसी घटेको छ । सन् २०२१ मा नेपाल खुसी हुनेको ८७औँ स्थानमा थियो । ०२२ मा ८४औँ, ०२३ मा ७८औँ स्थानमा रहेको नेपाल ०२४ मा ९३औँ स्थानमा पुगेको छ ।

नेपालीमा खुसी घट्नु स्वाभाविकै पनि हो । देशको राजनीति, आर्थिक र सामाजिक परिवेश लथालिङ्ग छ । दलहरू सत्ता खिचातानीमा व्यस्त छन् । लाखौँ बेरोजगार छन् । आत्महत्या गर्नेहरू दिनदिनै बढ्दैछन् । भ्रष्टाचार मौलाएको छ । हिंसा र अपराध बढ्याबढ्यै छ ।

अनेक पीडाहरूको चंगुलमा बाँचेका नेपालीमा खुसी घट्ने नै भयो । यसो भनिरहँदा विलासितालाई खुसी ठान्न भने मिल्दैन । गरिब पनि खुसी हुन सक्छन् । विलासी जीवन जिउने खुसी नहुन पनि सक्छन् । खुसीको मात्रा र परिणामले न धनी भन्छ, न गरिब । न शक्तिशाली भन्छ, न कमजोर नै ।

विश्वका सबैभन्दा धनाढ्य र एउटा फुटपाथमा जीवन गुजार्ने व्यक्तिले प्राप्त गर्ने खुसीमा खास अन्तर छैन । एउटा अरबपतिले करोडौँ आर्जन गर्दा जति खुसी अनुभूत गर्छ, त्यति नै खुसी एउटा फुटपाथमा बस्नेले भरपेट खान पाउँदा खुसी अनुभूति गर्छ ।

प्रचलित भनाइ छ, ‘भोक मीठो कि भोजन ? निद्रा मिठो कि ओछ्यान ?’ सहरमा ठूलो घर, गाडी, बैंक ब्यालेन्स आदिले मान्छेलाई सुख त पक्कै दिन्छ नै । तर, खुसी नदिन पनि सक्छ । यदि, पैसाले खुसी दिन्थ्यो भने एक रुपैयाँ पनि नहुने बालक होइन, संसारका सबैभन्दा धनाढ्य सबैभन्दा बढी खुसी हुने थिए ।

पैसाबिना जीवन चल्दैन । गाँस, बास, शिक्षा, स्वास्थ्यका लागि पैसा चाहिन्छ । बिहान उठेदेखि राति नसुतेसम्म पैसा चाहिन्छ । त्यसैले धन सम्पत्ति, भौतिक सुख सुविधाबाट नै खुसी मिल्छ भन्ने सोच हामीमा बढ्दै गएको छ । पैसा नभई हुँदैन । तर, सबथोक भने होइन । युनिभर्सिटी अफ सिकागोले गरेको एक अध्ययनले खुसीका लागि पैसाको भूमिका निकै न्यून हुने देखाएको छ ।

सहयोगी मान्छे बढी खुसी हुन्छन् । उनीहरू अरूलाई खुसी बनाएर आफू खुसी हुन्छन् । अरूलाई खुसी बनाउँदा आफूलाई जुन खुसी मिल्छ, त्यो अरू खुसीभन्दा धेरै माथि हुन्छ । जसरी अंकमा पछाडि शून्यले फरक पार्छ, पुन्यले पनि त्यसरी नै खुसी थप्छ ।

खुसीबारे अल्बर्ट आइन्स्टाइनको दुई सिद्धान्त छन् । पहिलो– जब मान्छे शान्त र सरल तरिकाले जीवन बाँच्छन् । ऊ खुसी हुन्छन् । जब सफलताको पछिपछि दौडिन्छौँ, मन बेचैन हुन्छ ।

आइन्स्टाइनको अर्को सिद्धान्त छ– जहाँ इच्छा छ, त्यहाँ उपाय । हरेक व्यक्ति खुसी हुन सक्छन् । तर, उसको सोचाइ र भोगाइको कुरा हो । खुसी आफूभित्रै छ । त्यसको लागि दुई काम गर्नुपर्छ । एउटा– खुसीका लागि काम गर्ने । अर्को– खुसी भएर काम गर्ने ।

खुसी जाने जहाँ पनि पाइन्छ । नजाने कहीँ पनि पाइँदैन । कोही आफ्नो पुर्खाको सम्पत्ति बेचेर लाखौँ पाउँदा खुसी हुँदैनन् । कोही सडकमा १० रुपैयाँमा बेलुन बेच्दा पनि खुसी हुन्छन् ।

शोधकर्ताहरूका अनुसार १२ प्रतिशत खुसी हामी आफैँले सिर्जना गर्न सक्छौँ । परिवार, समाज र कामभित्रै खुसी खोज्नुपर्छ । तर, पैसा र शक्तिको खोजीमा लाग्दा खुसी बिर्सने गरेका छौँ । खुसीले नै मान्छेलाई सफल बनाइदिन्छ । अर्थशास्त्री एन्गस स्टेवार्ड डेटनले सन् २०१५ मा ‘खुसीको विज्ञान’ खोजेबापत नोबेल पुरस्कार पाएका थिए ।

पछिल्लोपटक खुसी कहिले कहिले भएको थियौँ ? भनेर कसैले सोध्यो भने सोच्नुपर्छ । खुसी एउटै कुरामा मात्रै हुँदैन । खुसीका अनेक आयाम छन् । नदीको किनारमा बस्नेहरूका लागि बाढीले बगाएर ल्याएको दाउराको मुढोले पनि खुसी दिन्छ । अस्पतालमा काम गर्नेका लागि बिरामीको एक मुस्कानले पनि खुसी दिन्छ ।

खुसी जीवनको गन्तव्य होइन । एउटा यात्रा हो । दुर्घटनामा परेको मान्छे र चिट्ठा पाएको मानिसबिच के फरक छ ? एउटा अध्ययनले के देखाएको छ– दुर्घटनामा परेको मानिस ६ महिने उपचारपछि जिन्दगीप्रति सकारात्मक हुन्छ । यसपछि ऊ खुसी रहने प्रयास गर्छ । त्यति ठूलो दुर्घटनामा पनि मरिनँ भन्ने ठान्छन् । उ बाँचेकोमा खुसी हुन्छन् ।

यसको ठीकविपरीत चिट्ठा पाएको मानिस बिस्तारै दुःखी हुँदै जान्छन् । उ दुःखी हुनुको मुख्य कारण ठूलो खुसी खोज्नु । उ त्यो चिट्ठा परेको भन्दा ठूलो खुसीको खोजीमा हुन्छन् । र, पाएन भने दुःखी हुन्छन् ।

खुसीका लागि हामी अनेक थरीका तनाव खपिरहेका छौँ । भौँतारिरहेका छौँ । सारा समय र ऊर्जा लगाइरहेका छौँ । सके नाम र दाम दुवै, नभए दाम त कमाउनै पर्छ भनेर एकपटक मिलेको यो अमूल्य जीवनलाई समेत मूल्यहीन बनाइरहेका छौँ ।

हामी खुसी दुनियाँमा खोजिरहन्छौँ । खुसी त आफैभित्र छ । जे गर्दा दुःखी भइन्छ, त्यो नगरौँ । दुःख रातजस्तो हुन्छ । वैज्ञानिकहरूले अँध्यारो छैन भन्छन् । त्यो प्रकाशको अभाव मात्र हो भन्छन् । दुःख भन्ने चीज पनि हुँदैन, त्यो खुसीको अभाव मात्र हो ।

हामीले पनि जीवनमा साना तर रचनात्मक काम गर्ने हो भने खुसी खोज्न कतै भौँतारिनु पर्दैन । हामी खुसी नभेट्टाएर होइन, त्यसलाई चिन्न नसकेर दुःखी भइरहेका छौँ ।

प्रतिक्रिया दिनुहोस्