Logo
Logo

राहत प्याकेज ‘कौवालाई बेल पाक्यो हर्ष न विस्मत’


अशोकशरण अधिकारी


  • अशोकशरण अधिकारी

काठमाडौं, १७ चैत । विश्वव्यापी संक्रमित कोरोना भाइरसको कारण मुलुक ठप्प भएको आज एक साता बित्यो । हुनेखानेदेखि हुँदाखाने सबै वर्ग आफ्नो घर र कोठामा सीमित बनेका छन् ।

श्रमजीवी, कलमजीवी, बुद्धिजीवी सबैको दैनिकी र रोजीरोटी बाध्यतावश खोसिएको छ । तरपनि परिवारको आकारअनुसार उनीहरूको चुल्हो कम्तिमा बिहान र बेलुकी बाल्नैपर्ने बाध्यता पनि छ । एक हप्तासम्म जेनतेन धानेको निम्न र विपन्न वर्गको चुल्हो निभ्ने क्रममा छ ।
शहरमा अर्काथरी पनि छन्, जसको चुल्हो नै छैन । उनीहरू सडकमै सुत्छन्, सकडमै कमाउँछन् र सकडमै खान्छन् । कम्तिमा अर्को एक सातासम्म लम्ब्याइएको र त्यसपछिको एक हप्ता पनि लकडाउन हुनसक्ने आँकलनका बीच सरकारले आइतबार राहत प्याकेजको घोषणा गर्यो । क्रमसंख्या डेढ दर्जन भएपनि राहत प्याकेजको यथार्थलाई हेर्दा सरकारले ल्याएको विपन्न वर्गको निम्ति राहत प्याकेज ‘कौवालाई बेल पाक्यो हर्ष न विस्मत’ सरह भएको छ ।
यतिखेर गरिब र विपन्न वर्गको आवश्यकता भनेको कम्तिमा आगामी तीन महिनासम्म बिहान बेलुकीको हातमुख जोर्नको लागि चिन्ता लिनुनपर्ने अवस्थाको ग्यारेण्टी थियो । तर, राहत प्याकेजले त्यसतर्फ दृढताका साथ सम्बोधन गरेको देखिएन । अर्कोतर्फ, नीजि घरबेटी, विद्यालय र स्वास्थ्यकेन्द्रलाई राहत प्रदानको लागि अनुरोध गरेको निर्णयले सरकारको कोष खर्चमा कति चाप पर्दछ ? विगत केही वर्षदेखि विकास खर्च हुन नसकेर थुप्रिएको अर्बौं रूपैयाँलाई मन खोलेर अहिलेको महामारीमा सरकारले उपयोग गर्नुपर्दथ्यो ।
पानी र बिजुलीको बिल ढिलो तिर्दा हुने, इन्टरनेटमा केही सहुलियत दिने र कर छुट दिने विषयले बिहान बेलुकी हातमुख जोर्न धौधौ समूहलाई समेट्छ की समेट्दैन ? ठूलालाई आइतबार दिउँसो राष्ट्र बैंैकले जारी गरेको निर्देशनले र उच्चमध्यम वर्गलाई बेलुकी सरकारले सार्वजनिक गरेको राहत प्याकेजले राम्रैसँग समेटेको देखियो । तर गरिबीको रेखामुनी रहेका झण्डै २७ लाख निमुखा र विपन्न वर्गलाई भने कसैले पर्याप्त ध्यान नदिएको अर्थ लागेको छ ।
जति कुरो गरेपनि स्वयम् अर्थमन्त्री युवराज खतिवडाकै आलोचना गरेकै अर्थ लाग्छ । उनी किन सधैँ गरिब र निमुखा जनतालाई राहत दिने कुरामा मुण्टो बटार्छन् ? दुई वर्षअघि अत्यधिक बहुमतसहितको पहिलो वामपन्थी सरकारले ल्याउन लागेको सर्वाधिक प्रतिक्षित बजेटमा वृद्ध भत्तामा सामान्य रकम पनि वृद्धि नगरेपछि उनको सर्वत्र आलोचना भएको थियो ।
जनतासँग प्रत्यक्ष राजनीतिमा संलग्न नभई पश्चिमा दातृ संस्थाको निर्देशनमा अर्थमन्त्री भएका खतिवडाले आइतबार सार्वजनिक गरेको राहत प्याकेजमा पुर्णतः असफल भएका छन् । यसको परिणाम आगामी निर्वाचनमा किसान मजदूरको पार्र्टी भनिने नेकपाले राम्रै परिणाम भोग्ने छ ।

प्रतिक्रिया दिनुहोस्