Logo
Logo

प्रहरीलाई ५० प्रतिशत भत्ता दिन गृहको प्रस्ताव


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १७ चैत ।
कोरोना नियन्त्रण तथा रोकथाममा प्रत्यक्ष रुपमा खटिएका प्रहरीलाई ५० प्रतिशत भत्ता दिन गृह मन्त्रालयले प्रस्ताव गरेको छ । जोखिमको अवस्थामा नियमित भन्दा धेरै समय काम गर्नुपरेकाले उनीहरुलाई भत्ताको प्रस्ताव गरिएको हो ।


गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई ५० प्रतिशत भत्ता दिने प्रस्ताव मन्त्रिपरिषद्मा पेश गरेको छ । सरकारले यसअघि नै चिकित्सक, स्वास्थ्यकर्मी तथा एम्बुलेन्स चालकलाई भत्ता दिने निर्णय गरिसकेको छ । सुरक्षाकर्मीलाई यो अवस्थामा भत्ता दिने पक्षमा आफुहरु रहेको गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले बताए ।

सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरु यतीबेला फ्रन्टलाइनमा बसेर काम गरिरहेका छन् । एकातर्फ उनीहरुलाई कामको बोझ छ भने अर्काेतर्फ जोखिम पनि छ । उनीहरुलाई फिल्डमा उत्साहित गराउन भत्ता दिन लागिएको छ । साथै उनीहरुको २५ लाख रुपैयाँको जीवनबिमा समेत गर्ने निर्णय आइतबार मन्त्रिपरिषद्ले गरिसकेको छ । साथै सेनालाई पनि भत्ता दिन रक्षा मन्त्रालयले प्रक्रिया अघि बढाएको छ ।

यतीबेला सुरक्षाकर्मीहरु दैनिक १५ घन्टासम्म खटिएका छन् । इन्चार्जहरु त १८ घन्टासम्म खटिनुपर्ने बाध्यता छ । विषय परिस्थितीमा उच्च मनोबलका साथ उनीहरु काम गरिरहेको प्रहरी प्रवक्ता एसएसपी उमेशराज जोशी बताउँछन् । स्रोत साधन अभावका बाबजुत पनि प्रहरीले दृढताका साथ काम गरिरहेको उनी बताउँछन् । यस्तो अवस्थामा थप सुविधा प्राप्त भए फिल्डमा खटिनेको मनोबल अझै बढ्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्