Logo
Logo

कोरोना सन्त्रास : अर्थमन्त्री खतिवडाको रोइलो


अशोकशरण अधिकारी


  • अशोकशरण अधिकारी

काठमाडौं, १८ चैत । ‘कसैलाई के धन्दा, घरज्वाइँलाई खानकै धन्दा’ भनेझैँ अर्थमन्त्री युवराज खतिवडा कोरोनाको महामारी र लकडाउनमा पनि आगामी वर्षकै बजेटको रोइलो गर्दैछन् । सोमबार साँझ एउटा टेलिभिजनसँग र मंगलबार विभिन्न सञ्चार माध्यमका प्रतिनिधिसँग उनले आगामी आर्थिक वर्षको बजेटको निम्ति पर्याप्त स्रोत जुटाउनुपर्ने भएकाले सर्वसाधारणको राहतमा धेरै रकम खर्च नगरिएको बताएका छन् ।

मुलुकमात्र होइन विश्व नै कोरोनाको संक्रमण र आतंकबाट ग्रसित एवं त्रसित रहेको अवस्थामा आमनागरिकको स्वास्थ्य, उपचार र राहत सम्बन्धमा कुनै कसर बाँकी राख्न नहुनेगरी काम गर्नुपर्ने बेलामा मन्त्रीले अर्थ मन्त्रालयका कर्मचारीलाई पनि आगामी बजेटको तयारीमा जुट्न निर्देशन दिएका छन् जबकी, पछिल्लो दुई सातामा योजना आयोगदेखि सम्पूर्ण मन्त्रालयले बजेट तयारीको पूर्व निर्धारित कार्यक्रम स्थगन गरेका छन् ।
बजेट घोषणा गर्ने दिन आउन अझै दुई महिना बाँकी छ । मुलुकमा लकडाउनसँगै आमनागरिकमाझ कोरोनाको त्रास र आतंक छ । तर, राज्यको ढुकुटीको जिम्मेवारी लिएका मन्त्री तत्कालको महामारीबाट पार लगाउन गरिने अत्यावश्यक काममा भन्दा स्वःघोषित विद्धता उजागर गर्न आफू आगामी आर्थिक वर्षको बजेट तयारीमा जुटेको देखाउनमै उद्दत छन् ।
विगत दुई वर्षदेखि बजेटमा महत्वाकांक्षी लक्ष्य राख्ने तर उपलब्धी निकै कम हात पर्दै आइरहेको छ । चालु आर्थिक वर्षको बजेटमा त्यसैपनि अर्थमन्त्रीको भनाइ र लक्ष्य पूरा नहुने नै थियो । झन् अहिले कोरोनाको कारण चालु आर्थिक वर्षको लक्ष्य पूरा नहुने मात्र होइन निकै कम उपलब्धी प्राप्त हुने देखिन थालेको छ । यसैको लागि उनले भूमिका बाँध्दै आफू र मुलुकको भन्दापनि कोरोनाको कारणले बजेटको लक्ष्य प्राप्त हुन नसकेको सन्देश रणनीतिक हिसाबले प्रवाह गर्न थालेका हुन् ।
शुरुदेखि नै कोरोनाबाट मुलुकको आर्थिक बृद्धिमा १ प्रतिशतको हाराहारीले मात्र असर पर्ने बताउँदै आएका अर्थमन्त्रीले यसको असर व्यापक हुने देखिएपछि आफ्नो बचाउका लागि बजेट तयारीको समाचार सम्प्रेषण गरेका हुुन् । मुलुक र विश्वनै विषम परिस्थितिबाट गुज्रिरहेको अवस्थामा खतिवडाको बजेट तयारीलाई काठमाडौंवासीले भने ‘बेला न कुबेला बजि नियाँला’ को उपमा दिएका छन् ।
प्रतिनिधिसभा वा राष्ट्रिय सभाको सांसद नभएपनि छ महिनाको लागि मन्त्री बन्ने आर्शिवाद पाएकाले पछिल्ला दिनमा खतिवडालाई ‘पाहुना मन्त्री’समेत भन्न थालिएको छ । हुन तः पहिले अर्थमन्त्रालयको मात्र जिम्मेवारी पाएका उनलाई अहिले अर्थसँगै सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयको समेत जिम्मेवारी दिइएको छ । यतिखेर उनी नेपाल सरकारका प्रवक्ता पनि हुन् ।

प्रतिक्रिया दिनुहोस्