Logo
Logo

बाजुरा : रुघाखोकी र ज्वरोले तीन सय घरपरिवार प्रभावित


- दृष्टि न्युज/संवाददाता


मार्तडी, १९ चैत । बाजुराको खप्तड छेडेदह गाउँपालिका–३ पुडाबाब्लाको गाउँवासी रुघाखोकीको संक्रमणले थला परेका छन् । एक सातादेखि फैलिएको रुघाखोकीको संक्रमणले ३०० भन्दा बढी परिवारका सदस्य बिरामी परेका छन् ।
रुघाखोकी र ज्वरोले एक घरका दुईदेखि पाँच जनासम्म प्रकोपका कारण बिरामी परेको वडाध्यक्ष दीपक रावतले बताए । सामान्य खोकी लाग्ने, ज्वरो आउने, रिंगटा लाग्ने, खान मन नलाग्ने र शरीर थकित हुनेजस्ता लक्षण बिरामीमा देखिएको स्वास्थ्यकर्मी गणेश रावतले बताए । परिवार नै रुघाखोकीले थला परेपछि सहयोग गर्ने मान्छेसमेत गाउँमा भेटिन छाडेको छ ।
लकडाउनको समयमा पुडाबाब्ला रुघाखोकीको प्रकोपका कारण थला परेको छ । प्रत्येक घरमा बालबालिकादेखि वृद्धवृद्धा सबै बिरामी परेपछि पानी बोकेर ल्याइदिने मान्छेको समेत अभाव छ ।
गाउँपालिकाका स्वास्थ्य संयोजक नन्दबहादुर रावतले मौसम परिवर्तनका कारण रुघाखोकीको प्रकोप देखिएकाले डराउनुपर्ने अवस्था नरहेको बताए । बिरामीमध्ये अधिकांश सामान्य अवस्थाका भए पनि केहीलाई गाह्रो भएको अवस्था छ । गाउँ नै रुघाखोकीको सङ्क्रमणले थला परेपछि गाउँपालिका अध्यक्षसहित स्वास्थ्यकर्मीको टोली आएर गाउँमै आधारभूत स्वास्थ्य एकाइ सञ्चालन गरिएको छ ।
यसैबीच कोभिड–१९ को संक्रमणका बेला बाजुरामा खाद्यान्न अपुग नहुने खाद्य तथा गुणस्तर व्यापार कम्पनी बाजुराले जनाएको छ । जिल्लामा खाद्यवस्तु अर्थात् चामलको अभाव नहुने खाद्य तथा गुणस्तर व्यापार कम्पनी बाजुरा शाखाका प्रमुख मेघराज ओझाले बताए ।
सदरमुकाम मार्तडीमा रहेको खाद्य संस्थानमा हाल ७०५ क्विन्टल चामल बिक्री नभएको शाखा प्रमुख ओझाले राससलाई जानकारी दिए । खाद्य कम्पनीमार्फत बिक्री हुने हिमाली गाउँपालिकाको कवाडीमा समेत खाद्यान्न अभाव नहुने गरी ढुवानी गरिएको प्रमुख ओझाले बताए ।
सरकारले गरेको लकडाउनलाई ध्यानमा राख्दै बिहान ११ देखि ३ बजेसम्ममा मात्र खाद्य तथा व्यापार कम्पनी शाखा खुला गरी खाद्यान्न बिक्री गर्ने गरेको प्रमुख जिल्ला अधिकारी गङ्गाप्रसाद न्यौपानेले बताए । रासस

प्रतिक्रिया दिनुहोस्