Logo
Logo

लकडाउनको मौकामा लागूऔषध तस्करी


- दृष्टि न्युज/संवाददाता


सर्लाही, १९ चैत । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट बच्नका लागि सरकारले गरेको लकडाउनलाई चुनौती दिँदै लागूऔषध ओसारपसार हुन थालेको छ ।
ईलाका प्रहरी कार्यालय हरिपुरको गस्ती टोलीले मंगलबार राती तरकारीको बोराभित्र राखिएको लागूऔषधको रुपमा प्रयोग हुने ४० बोतल कोरेक्स बरामद् गरेको छ ।
हरिवन–कौडेना सडकखण्डमा दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको मोटरसाइकलमा उक्त लागूऔषध ओसारिएको ईलाका प्रहरी कार्यालय हरिपुरका प्रहरी निरीक्षक विक्रम साहले जानकारी दिए । साहका अनुसार कविलासी नगरपालिका–२, पिपरियामा उक्त लागूऔषध बरामद गरिएको हो ।
‘राती १० बजेतिर बिचमा बोरा राखेर मोटरसाईकलमा दुईजना आईरहेका थिए’, प्रहरी निरीक्षक साहले भने, ‘प्रहरी गस्ती टोलीलाई देख्ने बितिकै बोरा फालेर उनीहरु भागे, धुलोका कारण पिछा गर्दापनि भेट्न सकिएन ।’ प्रहरी निरीक्षक साहका अनुसार बोरा खोलेर हेर्दा माथिपट्टी आलू, प्याज, खोर्सानी राखिएको र तलपट्टी २०० मिलिलिटर दरका ४० वटा कोरेक्सका बोतल रहेको थियो ।

लकडाउनकै बेला केही दिनअघि सदरमुकाम मलंगवाबाट सशस्त्र प्रहरीले फरक–फरक दिनमा दुईजनालाई भारतको सोनवर्षाबाट लागूऔषध लिएर आउँदै गरेको अवस्थामा पक्राउ गरी नेपाल प्रहरीलाई बुझाएको थियो ।
लकडाउनका कारण आम सर्वसाधारणलाई बाहिर हिड्न सकस भइरहेको बेलामा कारोबारी एवं सेवनकर्ता भने भारतीय बजारसम्म पुगेर लागूऔषध नेपालतर्फ भित्र्याउन सफल भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्