Logo
Logo

नेपाल प्रवेश नपाउँदा सीमामा सास्ती झेल्दै सयौँ नेपाली


वीरेन्द्र रावल


  • वीरेन्द्र रावल

धनगढी, १९ चैत्र । पाँच दिनदेखि नेपाल-भारत सीमामा पर्ने भारतको धार्चुलामा अलपत्र परेका नेपालीहरुको दैनिकी कष्टकर बन्दै गएको छ । नेपाल सरकारले तत्काल उनीहरुलाई नेपाल प्रवेश गर्न नदिने भन्ने निर्णय गरेपछि उनीहरु आक्रोशित र चिन्तित देखिएका छन् ।
भारतको गढवाल, मन्सुरी, पिथौरागढ, हल्दवानी, नैनीताललगायतका क्षेत्रबाट लकडाउनको समयमा नेपाल आउन खोजेका ५ सय ४५ जनाको संख्यामा रहेका नेपालीहरु चैत १७ गतेसम्म नेपाल सरकारलाई देश प्रवेश गराउन दवाव, नाराजुलुश र आक्रोश व्यक्त गर्दैथिए । जब नेपाल सरकारले लकडाउनको अवधि लम्ब्यायो, तब उनीहरुलाई तत्काल नेपाल आउन नदिने घोषणा गरेपछि नेपाल प्रवेश पाउने आशा उनीहरुले तत्कालका लागि मारेका छन् ।


भारतका विभिन्न स्थानबाट धार्चुला पुगेका नेपाली भारतको धार्चुला र नेपालको दार्चुला जिल्लाको सीमानामा पर्ने महाकाली किनारमा पुगेका ५ सय ४५ जना नेपालीहरुले धार्चुलाको नदी किनारबाट नेपाल सरकारसँग आफ्नो देश प्रवेश गर्न देउ भन्दै गुहार गर्दै आइरहेका थिए ।
तीन दिनसम्म नारा जुलुश गर्दै हारगुहार गर्दै आइरहेका भारतका विभिन्न शहरहरुबाट नदी किनारबाट सीमानासम्म पुगेका नेपालीहरुलाई नेपाल प्रवेश नदिएको झोंकमा मरे मरौंला, बाँचे आफ्नो देशको किनारमा त प्रवेश गरिएला भन्दै ज्यानको माया मारेरै नदीमा हाम फालेको बैतडीका ईन्द्रराज खत्रीले बताए ।
नेपाल सरकारले आफ्नो देश छिर्न नदिएको र भारतीय एसएसबीले दिएको यातना खेप्न नसकेर पौडेर नेपाल प्रवेश गर्नकै लागि नदीमा हाम फालेको उनीहरुले बताएका छन् ।
भारत सरकारले लकडाउन गर्दा कामकाज ठप्प भएपछि पेटको जोहो गर्ने माध्यम नहुँदा पैदल दुरी तय गरेर उनीहरु नेपाल र भारतको सीमानामा पर्ने दार्चुलासँग सीमाना जोडिएकोे दार्चुलास्थित महाकाली नदीको किनारको बगरमा खुल्ला आकाशमा बसिरहेका छन् । उनीहरुमध्ये तीन जनामात्र नेपाल प्रवेश पाएका छन् भने उनीहरुलाई जिल्ला प्रशासन कार्यालय दार्चुलाले सम्बन्धित स्थानमा लगेर क्वारेन्न्टाइनमा राखेको छ । ‘कामकाज ठप्प भयो, साहुले काम छैन तिमीहरु खाली बसेर केगर्छौ भन्यो’ नदीमा पौडिएर नेपाल प्रवेश गरेका बैतडी, डिलाशैनीका धनराज धामीले भने ।
नेपाल सरकारले लकडाउन गरेको दोस्रो दिन १ हजार ८ सयको संख्या धार्चुलामा अलपत्र परेका नेपालीलाई भने जिल्ला प्रशासन कार्यालय दार्चुुलाले नेपाल भित्रयाएको थियो ।
भारतबाट नेपाल आएकाहरु क्वारेन्टाइनमा नबसेर सोझै घर जाने र गाउँघरमा पनि ठूलो संक्रमणको अवस्था आउने भएकाले प्रक्रिया पु¥याएर उनीहरुलाई क्वारेन्टाइनमा राख्ने शर्तमा नेपाल सरकारको निर्णय भएपछि सुरुको लटमा जेजतिले प्रवेश पाएपनि केन्द्रबाटै बाँकी नेपालीलाई तत्काल नेपाल प्रवेश नगराउन भनिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए ।
भारतीय एसएसबीले पहिलो दिन निकै यातना दिएको र त्यसको एक दिनपछि सामान्य चिउरा खान दिएको उनीहरुले बताएका छन् । जिल्ला प्रशासन कार्यालय दार्चुलाका अनुसार डोटी घर भएका १०५, डडेल्धुराका २७, कैलालीका ७७, बैतडीका २ सय, दार्चुलाका ९४ र बझाङका गरी १ सय ९८ जना भारतका विभिन्न स्थानबाट दार्चुलाको सीमानामा तीन दिन पहिले पुगेका थिए ।
नेपाल सरकारले महाकाली पुल नखोलेपछि धार्चुलामा अलपत्र परेका उनीहरुलाइै भारतीय डिएमले खाना र एसडिएमले पानीको व्यवस्था गरिरहेको दार्चुलास्थित तेजराज तिमिल्सिनाले जानकारी दिएका छन् । धार्चुलामा अलपत्र परेका नेपालीलाई त्यहाँका बन्द गोदममा र गोदमबाहिर बस्ने व्यवस्था मिलाइएको भएपनि गर्मीको समयमा बिभिन्न किरादेखि लिएर सर्पदंशको जोखिम मोलेर कष्टर जीवनयापन गरिरहेका भन्दै उनीहरुले आफुहरुलाई छिटोभन्दा छिटो नेपाल प्रवेश गराउन माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्