Logo
Logo

उत्तर कोरियाद्वारा ‘कोरोना भाइरस फ्रि’ देश घोषणा


(एएफपी)


सोल, २० चैत (एएफपी) । उत्तर कोरियाले आफ्नो देशमा कोरोना भाइरसको एकजना पनि बिरामी नभेटिएको बताउँदै उत्तर कोरियालाई कोरोना फ्रि घोषणा गरेको छ ।
विश्वमा झण्डै १० लाख जना कोरोना भाइरसको संक्रमण फैलिइरहेको र संसारका प्रायः सबैजसो देशमा यसको प्रभाव पुगिसकेको समाचार आइरहँदा उत्तर कोरियाले आफ्नो देशमा कोरोना भाइरसको संक्रमण नभएको बताएको हो ।
उत्तर कोरियाका एकजना स्वास्थ्य अधिकारीले सो जानकारी दिएका हुन् । उनले आफ्नो देशमा आजसम्म कोही पनि यसका संक्रमित नभेटिएको बताएका छन् । तर उत्तर कोरियाले आफ्नो देशमा यसका विरामीहरु भेटिएपनि बाहिर नभनेको बताइने गरिएको छ । यसका कारण उत्तर कोरियाको आलोचना समेत हुने गरेको बताइएको छ ।
उत्तर कोरियाले छिमेकी चीनमा गत जनवरीमा कोरोना भाइरसको प्रकोप बढेको समाचारआएपछि आफ्ना सबै सीमाहरु बन्द गरेको थियो । सीमा बन्द गरेर देशभित्र पनि यसबाट बच्ने उपायका बारेमा कडा कानूनहरु लागू गरेको बताइएको छ ।
उत्तर कोरियाको इपिडिमियोलोजी विभागका प्रमुख पाक म्योङ सुले उत्तर कोरियाले अपनाएका कडा कानून र मापदण्डका कारण उत्तर कोरिया यो संक्रमणबाट बच्न सफल भएको बताए । उनले आफ्नो देशमा सीमा बन्द, विदेशबाट आउने सबैजनालाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्ने, हरेक नागरिकको निगरानी गरेर राज्यले नै उपचार गर्नेजस्ता कार्यहरु गरेका कारण पनि यो महामारी फैलिन नपाएको जानकारी दिए ।
तर, दक्षिण कोरियामा रहेका एकजना अमेरिकी सैन्य कमाण्डर जनरल रोबर्ट अब्रामले भने आफूले उत्तर कोरियामा कोरोना भाइरसको एक विरामी भएको थाहा पाएको बताएका छन् । गत महिना आफूले यस्तो समाचार थाहा पाएको उनको भनाई थियो ।
दक्षिण कोरियासँगको सीमा क्षेत्रमा यसका एकजना संक्रमित रहेको आफूले थाहा पाएको उनले बताएका थिए । त्यसैगरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि ‘उत्तर कोरियामा केही न केही भएको’ बताएका छन् । उनले उत्तर कोरियालाई यस्तो महामारीका विरुद्धमा मिलेर लड्न र आवश्यक परे अमेरिकी सहयोग लिन एक पत्र पठाएका थिए ।

प्रतिक्रिया दिनुहोस्