Logo
Logo

ज्वरो र निमोनियाबाट मृत्यु भएकी युवतीको स्वाब परीक्षण गरिँदै


- दृष्टि न्युज/संवाददाता

0
Shares

चितवन, २१ चैत । भरतपुर अस्पतालमा आज शुक्रबार बिहान ज्वरो र निमोनियाबाट मृत्यु भएकी एक युवतीको स्वाब परीक्षण गरिने भएको छ । परीक्षणको नतिजा नआएसम्म मृत शरीरलाई छुट्टै सुरक्षित राखिएको छ । परीक्षणका लागि केन्द्रीय प्रयोगशाला काठमाडौँ पठाइनेछ ।
अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीका अनुसार बिहीबार राति सिन्धुली घर भएकी २६ वर्षीया उषाकुमारी राईलाई ज्वरो र निमोनियाका कारण उपचारका लागि भरतपुर अस्पताल ल्याइएको थियो । राति १२ बजे अस्पताल ल्याइएका राईको सघन उपचारकक्षमा उपचारकै क्रममा बिहान २ बजे मृत्यु भएको हो । अधिकारीले उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखिने बताए । युवतीको मृत्युको कारणबारे नतिजा आएपछि थाहा हुने भएकाले उच्च सावधानी अपनाइएको उनले जानकारी दिए ।
कोरोना भाइरसको त्रास भएकाले ज्वरो आएका बिरामीको उपचारमा विशेष सतर्कता अपनाइएको जनाइएको छ । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार सिन्धुलीको हरिहरपुर गाउँपालिका–२ की राईलाई हेटौँडा अस्पतालले राति थप उपचारका लागि भरतपुर अस्पताल पठाएको हो । अस्पतालमा हरेक महिना विभिन्न कारणबाट ५० देखि ५५ जनाको मृत्यु हुने गरेको उनले जानकारी दिए । यद्यपि ज्वरोका बिरामीको उपचारका क्रममा मृत्यु भएमा स्वाब परीक्षण गर्न लागिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्