Logo
Logo

प्रहरीको मनोबल गिराउने सरकारको तयारी


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २३ चैत ।
विपद्मा जोखिम मोलेर खटिएका प्रहरीको मनोबल गिराउने गरी सरकारले निर्णय गर्न लागेको छ । हचुवाका भरमा गृह मन्त्रालयले प्रहरीका डिआईजीको दरबन्दी कटौती गर्न लागेको हो ।


नेपाल प्रहरीमा प्रशासनतर्फ डिआईजीका २६ दरबन्दी छन् । त्यसमध्ये १० दरबन्दी कटौती गरेर बढुवा गर्न लागिएको हो । दरबन्दी कटौती गर्दा प्रहरीका धेरै अधिकृतहरको करिअरमा ठूलो असर पर्ने देखिन्छ । यसबाट सिंगो संगठनकै मनोबल घट्ने जोखिम छ ।

प्रहरी समायोजन अघि नै सरकारले डिआईजी दरबन्दी कटौती गर्न लागेको हो । अहिलेको विपद्को बेला सरकारले प्रहरीको दरबन्दी कटौती गरेमा फिल्डमा त्यसको नकारात्मक असर देखिने चिन्ता छ । यसबाट सिंगो प्रहरी संगठन नै अस्तव्यस्त हुने जोखिम छ ।

प्रहरीमा दरबन्दी थप घट गर्न संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्नुपर्ने हुन्छ । त्यस्तो अध्ययन नै नभई अहिले कटौती हुन लागेको छ । जस विषयमा प्रहरी मुख्यालय र गृह मन्त्रालयबीच विवाद चल्दै आएको छ ।

देशमा एक समूह प्रहरीलाई कमजोर बनाउन लागिरहेको छ । अहिलेको गृह नेतृत्वले समेत प्रहरीको पक्षमा नउभिएपछि प्रहरीमा नैराश्यता बढेको छ । यस्तो अवस्थाले प्रहरीको उच्च तहमा पनि राजिनामा बढ्ने र जागिरको आकर्षण समेत स्वात्तै घट्ने चिन्ता छ ।
करिब ८० हजारकै निजामती प्रशासनमा बिशिष्ट तहका ६० पद छन् । प्रहरीमा तीन मात्र छन् । डिआईजीको पनि १६ मात्र भएपछि अब इन्सपेक्टरबाट भर्ना भएकाहरु धेरै एसएस्पीबाटै अवकाश हुनेछन् । जसकारण अहिले नै एसपी र डिएसपीहरु राजिनामा दिने अवस्था सिर्जना हुने एक प्रहरी अधिकारी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्