Logo
Logo

पत्रकारका लागि तत्काल राहत प्याकेज ल्याउन माग


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २४ चैत । नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिले कोरोना भाइरसको संक्रमणको संकट एवं जोखिमपूर्ण स्थितिमा र लकडाउनको विषम परिस्थितिमा पनि जनतालाई सुसूचित गर्न क्रियाशील सञ्चारकर्मी र सञ्चारमाध्यमका लागि तत्काल राहत प्याकेज घोषणा गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
प्रदेश समितिका महासचिव श्रीजन झाले सोमबार विज्ञप्तिमार्फत सञ्चारकर्मी र सञ्चारमाध्यमका लागि विद्युत, टेलिफोन, इन्टरनेटसहितका सञ्चार सामग्रीमा छुट र अनुदानको व्यवस्था तथा लकडाउन अवधिमा प्रकाशन आबद्ध पत्रकारले नै सञ्चालन गरेका स्वरोजगारमुखी पत्रपत्रिकाको हकमा लोककल्याणकारी विज्ञापन भुक्तानी गर्न माग गरेका छन् ।
पत्रकारका लागि दुर्घटना तथा स्वास्थ्य बीमा, निःशुल्क उपचार र जोखिम मोलेर कार्यक्षेत्रमा खटिने श्रमजीवी पत्रकारका लागि स्वास्थ्य सुरक्षासम्बन्धी सामग्रीसहित तत्काल राहत प्याकेज घोषणा गर्दै सहजता प्रदान गर्न सरकारको ध्यानकर्षणसहित माग गरिएको छ ।
नेपालमा पनि कोरोना भाइरस संक्रमण देखापरेको सन्दर्भमा उत्पन्न परिस्थितिमा पनि जनताको सूचना र समाचारको अधिकारलाई अक्षुण्ण राख्दै आफ्नो कर्म क्षेत्रमा निरन्तर क्रियाशील प्रदेश समिति आबद्ध र सबै सञ्चारकर्मीमा उनले कृतज्ञता व्यक्त गरेका छन् ।
महासंघको प्रदेश समितिले मुलकमा देखिएको यस चुनौतीपूर्ण अवस्थामा पनि आत्मविश्वास र मनोबलसहित आफ्नो कर्म क्षेत्रमा निरन्तर क्रियाशील हँुुदै जनताको सूचना र समाचार प्राप्तिको हकलाई जीवन्त राख्न पत्रकारिताजगत्ले दृढ इच्छाशक्ति कायम राख्दै पेशागत आचारसंहिता पालना गरी खेलेको भूमिका स्वागतयोग्य रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्