Logo
Logo

नौ मन्त्रीलाई थप जिम्मेवारी


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २४ चैत ।
लकडाउनपछि फुर्स्दिला बनेका नौ मन्त्रीलाई कोरोना रोकथामसम्बन्धि जिम्मेवारी दिइएको छ । । प्रधानमन्त्री केपी ओलीको सरकारी निवास बालुवाटारमा सोमबार बसेको बैठकले कोरोना भाइरस उच्चस्तरीय समन्वय समितिमा नरहेका बाँकी नौ मन्त्रीलाई परिभाषित जिम्मेवारी तोक्ने निर्णय गरेको हो ।


बैठकले महिला, बालबालिका, समाजकल्याण तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङलाई कोरोना भाइरसको संक्रमणले बालबालिकाहरूमा पारेको र पार्न सक्ने असर तथा त्यसमा गर्नुपर्ने सुधारात्मक कामका साथै उनीहरूलाई सम्बोधन गर्नुपर्ने विषयमा कार्ययोजना तयार पार्ने जिम्मेवारी तोकिएको छ । त्यस्तै, मन्त्री गुरुङलाई नै भाइरसको रोकथाम र नियन्त्रणका लागि सामाजिक संघसंस्थाहरूलाई परिचालनका लागि समन्वय गर्ने जिम्मेवारी दिइएको छ ।

युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मालाई युवा खेलाडीहरूलाई कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा राहत वितरणका लागि स्वयंसेवकका रूपमा तयार गरेर परिचालन गर्ने जिम्मेवारी तोकिएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्याललाई गण्डकी प्रदेश सरकारसँगको समन्वय, वनमन्त्री शक्तिबहादुर बस्नेतलाई कर्णाली प्रदेश सरकारसँगको समन्वय गर्ने जिम्मेवारी दिइएको छ ।

उर्जामन्त्री वर्षमान पुनलाई प्रदेश ५ को सरकार, कानुनमन्त्री डा. शिवमाया तुम्बाहाम्फेलाई संसद्मा रहेका राजनीतिक दलहरूसँगको समन्वय, श्रम तथा रोजगारमन्त्री रामेश्वर राय यादवलाई प्रदेश २ को सरकारसँगको समन्वयको जिम्मेवारी तोकिएको छ । खानेपानी तथा सरसफाइमन्त्री बिना मगरलाई सुदूरपश्चिम प्रदेश सरकारसँगको समन्वयको जिम्मेवारी तोकिएको छ ।
लकडाउनपछि केही मन्त्रीहरु व्यस्त भएपनि केही फुर्सदिला बनेका थिए । उनीहरुलाई आ–आफ्नो क्षेत्रको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्