Logo
Logo

प्रधानमन्त्री डाभोसमाः दक्षिण एसियाको रणनीतिक दृष्टिकोण सम्बन्धमा आज सम्बोधन गर्ने


- दृष्टि न्युज/संवाददाता


काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्व आर्थिक मञ्चको बैठकमा सम्बोधन गर्दै छन्।

मञ्चको ४९औँ वार्षिक बैठकका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै विश्व आर्थिक मञ्चको ४९औँ वार्षिक बैठकमा भाग लिन सोमबार अपरान्ह स्विटजरल्यान्डको डाभोस आइपुगेका प्रधानमन्त्री ओलीले आज बैठको एक विशेष सत्रलाई सम्बोधन गर्ने भएका हुन्।

आज मञ्चको ‘दक्षिण एशियाको रणनीतिक दृष्टिकोण’ विषयक पूर्णसत्रलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री ओलीले स्थानीय समय अनुसार साँझ पौने ७ बजे सुरु हुने सत्रलाई सम्बोधन गर्नेछन्। विश्वका राष्ट्राध्यक्ष तथा सरकार प्रमुख, ठूला कम्पनीका कार्यकारी प्रमुख, आर्थिक तथा कुटनीतिक क्षेत्रका तीन हजार भन्दा धेरै सहभागी मञ्चको बैठकको हिजो डाभोसमा उद्घाटन भएको हो। बैठकमा नेपालले पहिलो पटक सहभागिता जनाएको हो।

प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डललाई जुरिच अन्तर्राष्ट्रिय विमानस्थलमा स्विटजरल्याण्डका लागि नेपाली राजदूत दीपक धितालले स्वागत गरेका थिए।

प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा उहाँका धर्मपत्नी श्रीमती राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, अर्थमन्त्री डा युवराज खतिवडा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराई, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेल, परराष्ट्र सचिव शङ्करदास वैरागीलगायत उच्च सरकारी अधिकारी सहभागी रहेका छन ।

प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल आगामी शनिबार स्वदेश फर्कने कार्यक्रम छ ।
–––

प्रतिक्रिया दिनुहोस्