Logo
Logo

आफूलाई बचाउन ओलीले फाले ‘प्रचण्ड अस्त्र’ (भिडियोसहित)


1.1k
Shares

काठमाडौं । नेकपा एमालेभित्र अहिले पुनर्गठनको बहस चलिरहेको छ । तर, यो बहस पार्टीको आन्तरिक संरचनामा मात्रै सीमित नभएर एउटै प्रश्नमा केन्द्रित हुन थालेको छ– अध्यक्ष ओलीको नेतृत्व जोगाउने कि परिवर्तनको बाटो खोल्ने ?

गत निर्वाचनमा व्यहोरेको हारको समीक्षा गर्न एमालेले गठन गरेको कार्यदलले देशभर पुगेर तल्लो तहसम्मका सुझाव सङ्कलन ग¥यो । पार्टी कहाँ चुक्यो, सङ्गठन किन खस्कियो र अब कसरी अगाडि बढ्ने भन्ने प्रश्नको उत्तर खोज्नु यसको मुख्य उद्देश्य थियो । तर, ती प्रयासहरू अहिले ओझेलमा परेका छन् । आज एमालेभित्र पार्टी सुदृढीकरणभन्दा पनि ओलीलाई फाल्ने र जोगाउने होडबाजी चर्किएको छ ।

महासचिव शंकर पोखरेलले तयार पारेको प्रतिवेदनले निर्वाचनको समीक्षा गर्दै अध्यक्ष ओलीले नेतृत्वबाट मार्गप्रशस्त गर्नुपर्ने निष्कर्ष निकाल्यो । महासचिवको उक्त प्रतिवेदनलाई काउन्टर दिन हतार–हतार उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले ओलीको बचाउ गर्दै छुट्टै प्रतिवेदन ल्याए । त्यसले पनि नपुगेर होला, पार्टीभित्र बौद्धिक नेताको छवि बनाएका प्रदीप ज्ञवालीलाई २९ पृष्ठ लामो अर्को स्तुतिगान लेख्न लगाइयो । उक्त प्रतिवेदनमा ओलीको नेतृत्वका उपलब्धिहरूलाई मात्रै बढाइचढाइ प्रस्तुत गरिएको छ ।

एकातिर कार्यकर्ताको प्रस्ट म्यान्डेटसहितको प्रतिवेदन थियो भने अर्कोतिर नेतृत्वको देवत्वकरण गर्नुपर्ने बाध्यता ! एउटा प्रतिवेदनले नेतृत्व परिवर्तनको वकालत ग¥यो भने अर्कोले ओलीकै निरन्तरतामा जोड दियो । यसरी कार्यदलभित्रै दुई स्पष्ट धार देखिएपछि दुवै प्रतिवेदनलाई मिलाउने प्रयास गरिए पनि त्यो सफल हुन सकेन । स्थिति झनै जटिल बनेपछि ओलीले आफ्नै निवास गुन्डुमा नेताहरूलाई डाके, तर त्यहाँ पनि दुवै पक्ष आ–आफ्नो अडानबाट पछि हटेनन् ।

यही साङ्गठनिक सङ्कट र आन्तरिक घेराबन्दीका बीच ओलीलाई अचानक आफ्ना ‘परम मित्र’ तथा ‘परम शत्रु’ पुष्पकमल दाहाल ‘प्रचण्ड’को याद आयो । नेपाली राजनीतिको यो जोडी साँच्चै नै उदेकलाग्दो छ । यिनीहरू कहिले यति गहिरो राजनीतिक प्रेममा पर्छन् कि, स्वर्ग गए पनि नर्क गए पनि सँगै जाने कसम खान्छन्, अनि कहिले चरम नाटक र नौटङ्की देखाउँछन् ।

यी दुई नेताले २०७५ सालमा नेकपा एमाले र तत्कालीन माओवादी केन्द्रलाई एकीकृत गर्दै (नेकपा बनाएका थिए । ओली र प्रचण्ड दुवै अध्यक्ष, एउटै पार्टी, एउटै सरकार र एउटै शक्ति बनेका थिए ! त्यतिबेला लाग्थ्यो– अब नेपालमा कम्युनिस्ट राजनीतिलाई कसैले हल्लाउन सक्दैन । तर, शक्ति जति ठूलो भयो, नेतृत्वको प्रश्न उति नै पेचिलो बन्दै गयो । कसले सरकार चलाउने ? कसले पार्टी चलाउने ? आलोपालो हुन्छ कि हुँदैन ? सम्झौता के थियो र व्यवहार के भयो ? यी प्रश्नले नेकपाभित्र दूरी बढाउँदै लग्यो । अन्ततः त्यो एकता तीन वर्ष पनि टिकेन । ओली र प्रचण्ड छुट्टिए, नेकपा फुट्यो अनि एमाले र माओवादी फेरि अलग भए । ‘स्वर्ग गए पनि नर्क गएपनि सँगै जाने’ कसम खाएका ओली र प्रचण्ड एकाएक एकअर्काविरुद्ध तिखो आरोप–प्रत्यारोप र वाकयुद्धमा उत्रिए ।

तर, जब–जब यी दुईमध्ये कसैलाई राजनीतिक सङ्कट पर्छ, तब उनीहरू एकअर्काको साथ खोज्न पुग्छन् । राजनीतिमा स्थायी मित्रता र स्थायी शत्रुता हुँदैन भन्ने कुरा ओली र प्रचण्डले जति सायदै अरू कसैले बुझेका छन् । अहिले ओलीलाई प्रचण्ड चाहिएको देश बनाउन होइन, न त वामपन्थी एकताको कुनै महान् उद्देश्य पूरा गर्न नै हो । ओलीलाई प्रचण्ड चाहिएको त केवल एमालेभित्रका आफ्ना आलोचकहरूलाई साइजमा राख्न र तर्साउन मात्रै हो ।

अहिलेको परिस्थिति २०७५ सालको जस्तो किमार्थ होइन । त्यतिबेला वामपन्थी जनमतको ठूलो लहर थियो, दुवै नेता जनअनुमोदित थिए र उनीहरूसँग देश चलाउने स्पष्ट र शक्तिशाली जनादेश थियो । तर, आज परिस्थिति फेरिएको छ । ओली आफ्नै पार्टीभित्रको अविश्वासको आगोमा पिल्सिरहेका छन् । उनलाई पार्टीभित्रको गुटबन्दी, असन्तुष्टि र नेतृत्व पुस्तान्तरणको आवाजले चारैतिरबाट घेरेको छ । यस्तो बेला प्रचण्डसँगको सम्भावित सहकार्यको हल्लाले मात्र पनि एमालेभित्रका ती नेताहरूको मुटुमा ढ्याङ्ग्रो ठोकेको छ, जो भित्रभित्रै ओलीको विकल्प खोजिरहेका थिए । किनकि, यदि साँच्चै नयाँ राजनीतिक समीकरण बन्यो भने हिजो नेकपा हुँदाको जस्तै शक्ति बाँडफाँट हुनेछ, जहाँ ओली र प्रचण्डले आलोपालो सत्ता र पार्टी चलाउनेछन् अनि दोस्रो तहका नेताहरू फेरि पनि किनारामा धकेलिनेछन् । ओलीले यो मनोवैज्ञानिक त्रासलाई राम्ररी बुझेका छन् । त्यसैले उनले एमालेभित्रको असन्तुष्टिलाई वैचारिक बहसमार्फत होइन, प्रचण्डको हाउगुजी देखाएर व्यवस्थापन गर्न खोजेका हुन् ।

तर, यहाँ एउटा गम्भीर प्रश्न उठ्छ– के यो समीकरण साँच्चै त्यति सजिलो छ ? हिजो जुन अहङ्कार, पदीय टकराव र अविश्वासका कारण विशाल नेकपा छिन्नभिन्न भयो, के ती मूल कारणहरू आज समाधान भइसकेका छन् ? हिजो एउटै मञ्चबाट एकअर्कालाई देशद्रोही, धोकेबाज र प्रतिगामीको बिल्ला भिराउनेहरू आज कुन राजनीतिक नैतिकताको धरातलमा उभिएर फेरि हात मिलाउँदै छन् ? यी प्रश्नहरूको जवाफ न ओलीसँग छ, न त प्रचण्डसँग ।

एकातिर एमालेको कार्यदलले बनाएको प्रतिवेदनमा नेतृत्वको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाइएको छ भने अर्कोतिर ओली गुन्डुमा नयाँ राजनीतिक समीकरणको तानाबाना बुनिरहेका छन् । त्यहाँ पनि दुवै पक्षले आ–आफ्नो अडान नछाडेपछि ओलीले बाध्य भएर प्रचण्डको नाम अगाडि सारेका हुन् । यसले के देखाउँछ भने, ओलीलाई आफ्नो पार्टीका कार्यकर्ताको सुझाव र भावनाभन्दा आफ्नो पदको धेरै माया छ ।

ओलीले प्रचण्ड कार्ड फालेर वाम एकताको सङ्केत दिएपनि त्यसले एमालेभित्रको आन्तरिक किचलोलाई रोक्न सक्दैन । सङ्गठन किन भताभुङ्ग भयो ? चुनावमा किन अनपेक्षित हार व्यहोर्नुप¥यो ? कार्यकर्ता किन यतिविघ्न निराश र असन्तुष्ट छन् ? यदि नेतृत्वमा कुनै समस्या नै छैन भने पार्टी पुनर्गठनको आवश्यकता किन प¥यो ? प्रचण्डसँग मिल्नु एउटा रणनीतिक राजनीतिक समीकरण हुन सक्छ, तर एमालेभित्रको असन्तुष्टि समाधान गर्नु नितान्त सङ्गठनात्मक आवश्यकता हो । यी दुई कुरालाई एउटै डालोमा राखेर हेर्नु ओलीको ठूलो भूल हुनेछ । त्यसैले अहिलेको यो लडाइँ केवल ओली र प्रचण्डबीचको सत्ता सङ्घर्ष वा मिलनको मात्रै होइन, यो त एमालेभित्रको पुरानो, जडसूत्रवादी नेतृत्व र नयाँ राजनीतिक मागबीचको निर्मम टकराव पनि हो ।

यसर्थ, अहिलेको यो सम्पूर्ण राजनीतिक परिदृश्य र उकुसमुकुस केवल ओली र प्रचण्डबीचको सम्भावित मिलनको कथा होइन । यो त एमालेभित्रको यथास्थितिवाद र रूपान्तरणबीचको अन्तिम लडाइँ हो । यसको छिनोफानो अब गुन्डुको गोप्य बैठकले वा केही आसेपासे नेताहरूको स्तुतिगानले होइन, केन्द्रीय कमिटीको बैठकले गर्नुपर्नेछ । राजनीति सधैँ नेताहरूको बन्द कोठाको निर्णय र उनीहरूले चाहेको बाटोबाट मात्रै चल्दैन । कहिलेकाहीँ भुइँतहका कार्यकर्ताले उठाएको एउटा सानो तर जायज प्रश्नले दशकौँ पुरानो नेतृत्वको किल्ला ढालिदिन्छ र नयाँ बाटो कोरिदिन्छ ।

अहिले एमालेको सामुन्ने उभिएको यक्ष प्रश्न पनि त्यस्तै छ– ओली रहने कि एमाले बदलिने ? अनि सबैभन्दा रोचक कुरा, एमाले बदलिने यो अनिवार्य प्रक्रियामा ओलीले आफूलाई बदल्छन् वा ओलीलाई जोगाउन सिङ्गो एमाले फेरि त्यही पुरानो, असफलताको बाटोमा फर्किन्छ ? या फेरि प्रचण्डकै काँधमा चढेर उनले आफ्नो नयाँ राजनीतिक यात्रा सुरु गर्नेछन् ? यदि रूपान्तरणको यो हुरीलाई समयमै सम्बोधन गरिएन भने, यो नयाँ राजनीतिक चालबाजी एमालेको पुनर्जीवन होइन, ओलीको आफ्नै राजनीतिक अवसानको अन्तिम अध्याय बन्नेछ ।

प्रतिक्रिया दिनुहोस्