Logo
Logo

मानवीय त्रासदीमा भ्रष्टाचार !


रमेश घिमिरे


  • रमेश घिमिरे
    स्वतन्त्र पत्रकार

काठमाडौं, २५ चैत । विश्व ‘कोभिड-१९’रुपी संक्रमणको मानवीय त्रासदीसँग जुधिरहेको बेला नेपाल र नेपालीको एकपटक फेरि शीर निहुरिएको छ ।
नेपालमा कोेरोना भाइरस (कोभिड–१९)को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि खरिद गरिएको करिब डेढ अर्ब रुपैयाँको औषधि तथा स्वास्थ्य उपकरणमा ठूलो चलखेल भएको खबर बाहिरियो । र, प्रधानमन्त्री केपी शर्मा ओली स्वयंमले यसमा हस्तक्षेप गरेर नेपाली सेनालाई स्वास्थ्य उपकरण र औषधि खरिदको जिम्मा दिन बाध्य हुनुप¥यो ।
नेपालीे जनताले दुई तिहाई मतले जिताएको सरकारका लागि यो भन्दा लाजमर्दो कुरा के नै हुन सक्छ र ? मानवीय त्रासदीमा पनि कमिशन, यो भन्दा ठूलो अपराध के हुन सक्छ ?
यस्तै, नेपाल एयरलाइन्सको विमान चार्टर्डमा पनि कमिशनकै कुरा आएको छ । आखिर हामी कहिल्यै नसुध्रिने भयौँ ।
विश्वव्यापीरुपमा कोरोना संक्रमणको महामारीसँग लड्नका लागि विभिन्न देशका सरकारले आ–आफ्नो सेना कार्य क्षेत्रमा खटाएकै छन् । तर, हाम्रा प्रधानमन्त्रीले नेपाली सेनालाई औषधि किन्ने जिम्मा दिँदा कोलाहल मच्चिएको छ । सेनाको प्रयोग हुने भनेकै राष्ट्रिय विपत्तिको समयमा हो । अझ यो कोरोनाको विपत्ति एक राष्ट्रको मात्र नभएर विश्व महामारीको विपत्ति हो । यस्तो बेला नेपाली जनताको स्वास्थ्य सुरक्षाका निम्ति सेना प्रयोग नगरेर कहिले गर्ने ? प्रश्न गम्भीर छ ।
नेपालमा कोरोना भाइरसको संक्रमण दोस्रो स्टेजमा प्रवेश गरेको छ । यो भनेको गम्भीर कुरा हो । हामीले सर्तक भएर यसको रोकथाम तथा नियन्त्रणका लागि पर्याप्त कदम चालेनौँ भने यसले नेपालमा पनि महामारीको रुप लिनेछ । अहिले जति कदम चालिएको छ, ती पर्याप्त छैन ।
हाललाई यसको सामाधन भनेको स्वास्थ्यकर्मीको सुरक्षा, नेपाल–भारत सीमानाका सिल र कोरोना संक्रमणको तिव्र परीक्षण नै हो । हामीले नागरिकले गर्न सक्ने भनेको आ–आफ्नो घरमा बसिदिएर सरकारलाई सहयोग गर्ने हो ।

प्रतिक्रिया दिनुहोस्