Logo
Logo

कोरोना कहर : जापानमा आपतकाल घोषणा, १० खर्ब डलरको आर्थिक प्याकेज व्यवस्था


टोकियो/एएफपी


टोकियो, २५ चैत (एएफपी) । जापानका प्रधानमन्त्री शिन्जो आबेले मंगलबार कोरोनाभाइरस संक्रमण बढ्ने खतरा देखिएको भन्दै त्यस्तो परिस्थितिलाई नियन्त्रणमा राख्न टोकियोलगायत देशका केही भागमा आपतकालीन अवस्था घोषणा गरेका छन् ।
‘जनताको जीवन र अर्थव्यवस्थालाई गम्भीर असर पार्ने अवस्था आएको मैले अनुभव गरेको छु । म आजै बेलुका आपतकालीन अवस्था घोषणा गर्नेछु’ आबेले भनेका छन् । ‘विशेष गरी टोकियो र ओशाका जस्ता सहरी क्षेत्रहरूमा’ नयाँ संक्रमणको तीव्र वृद्धिलाई औंल्याउँदै उनले एक दिनअघि सोमबार नै आपतकाल घोषणाको योजना सार्वजनिक गरेका थिए ।


यो घोषणा मंगलबार मध्यरातदेखि लागू हुनेछ । नयाँ व्यवस्था अनुसार प्रभावित सातै क्षेत्रका गभर्नरहरुले आमजनतालाई आआफ्ना घरभित्रै बस्न र व्यापार व्यवसाय बन्द गर्न लगाउन सक्नेछन् । तर यो युरोप र संयुक्तराज्य अमेरिकाका कतिपय क्षेत्रमा देखा पर्ने लकडाउन जस्तो कडा प्रतिबन्ध होइन । जापानमा आपतकालीन अवस्थामा पनि मानिसहरू बाहिर घुमफिर गर्न वा व्यापार व्यवसाय खुला राख्न सक्नेछन् । यहाँ घरभित्र बस्न वा व्यवसाय बन्द नगर्नेमाथि कुनै दण्डसजायको व्यवस्था गरिएको छैन ।
विज्ञहरू र स्थानीय नेताहरूले आपतकाल घोषणाका लागि जोड दिएका थिए । यसैसाता टिबिएस प्रशारण संस्थाले गरेको सर्वेक्षणमा सहभागी ८० प्रतिशत जनताले आपतकाल घोषणालाई समर्थन गरेका थिए । घोषणाबाट सात क्षेत्र प्रभावित हुनेछन् : टोकियो, छिमेकी चिबा, कानागावा र साइतामा, ओशाकाको पश्चिमी क्षेत्र र छिमेकी ह्योगो, र फुकुओकाको पश्चिमी क्षेत्र । यो आपतकाल करिब एक महिनाका लागि हुनेछ ।
संक्रमण बढ्दै गएपछि तत्काल आपतकाल घोषणा गर्न सरकारमाथि चिकित्सा विशेषज्ञहरू सुझाव दिएका थिए । आइतबार मात्र टोकियोको शहरी इलाकामा एकै दिन १४३ जनामा कोरोना संक्रमण देखिएको थियो । हुनत यो संख्या विश्वका धेरै भागमा देखिएको संख्याभन्दा कम हो ।
राजधानी टोकियोका चिकित्सकहरूले यस हप्ता शहर पहिले नै ‘गम्भीर अवस्था’ मा रहेको र अस्पतालको क्षमता कम रहेको भन्दै चेतावनी दिएका थिए । आपतकालको घोषणाको पक्षमा देखिनु भएका टोकियोका गभर्नर युरिको कोइकेले मंगलबार टोकियो निवासीहरुलाई हिँडडुललाई सीमित गर्न अनुरोध गर्न आग्रह गरेका छन् ।
‘यसले दैनिक जीवनमा असुविधा हुन सक्छ, तर म सबैको सहयोगको लागि आह्वान गर्दछु किनकि जीवन खतरामा छ’ उनले भने । गभर्नर कोइकेले मंगलबार साँझ पत्रकार सम्मेलन गरी टोकियोमा अबलम्बन गरिने उपायहरुका बारेमा जानकारी गराउने अपेक्षा गरिएको छ ।
सरकारका प्रवक्ता योशिहिडे सुगाले सार्वजनिक यातायातलाई कम नगरिने तर ‘व्यक्ति–व्यक्ति बीचको सम्पर्क र दूरी घटाउन उचित उपायहरू अपनाउने छौं’ उनले भने, ‘संक्रमणलाई थप फैलिनबाट जोगाउन हामी सबै सम्भावित नीतिहरू अख्तियार गर्नेछौँ । म तोकिएका क्षेत्रका बासिन्दाहरूलाई शान्तपूर्वक व्यवहारका लागि आग्रह गर्न चाहन्छु ।’

आपतकाल घोषणाबाट जापानको आर्थिक अवस्थामा पर्ने प्रभावका बारेमा चिन्ता बढेको छ, र प्रधानमन्त्री आबेले सोमबार १० खर्ब डलरको एक प्रोत्साहन प्याकेज घोषणा गरेका छन् । यो रकम कूल गार्हस्थ्य उत्पादनको करिब २० प्रतिशत हो ।
युरोप र संयुक्तराज्य अमेरिकाका केही भागमा देखा परेको भाइरसको प्रकोपबाट हालसम्म जापान जोगिएको छ । जापानमा हालसम्म ४ हजार ४१ जना भाइरसबाट संक्रमित भएका छन् भने १०८ जनाको मत्यु भएको छ ।
प्रस्तावित आर्थिक प्याकेजमा मार्चको अन्त्यसम्ममा करिब २० लाख मानिसलाई फ्लुसँग सम्बन्धित औषधि (एभिजान) खरिद गर्न पनि प्रयोग गरिनेछ । अनुसन्धानमा यो औषधि कोविड–१९ को उपचारमा निकै उपयोगी हुने देखिएको छ । साथै, कोरोना महामारीका कारण आर्थिक अवस्था कमजोर भएका प्रत्येक परिवारलाई करिब २ हजार ८०० अमेरिकी डलर उपलब्ध गराउन पनि उक्त आर्थिक प्याकेजबाट खर्च हुनेछ ।
अमेरिकी सरकारले पनि कोरोना महामारीका कारण अर्थतन्त्रमा पारेको प्रभाव कम गर्न गत महिना २० खर्ब डलरको आर्थिक प्याकेज घोषणा गरेको थियो । अमेरिकी इतिहासमै यो सबैभन्दा ठूलो आर्थिक प्याकेज हो । त्यसैगरी, जर्मनी, फ्रान्स, बेलायत, इटाली, स्पेन र ठूला अर्थतन्त्र भएका अरु मुलुकहरुले पनि आर्थिक प्याकेज घोषणा गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्