Logo
Logo

सरकारलाई खरेलको सुझाव


- दृष्टि न्युज/संवाददाता


अच्युतकृष्ण खरेल, पूर्वप्रहरी महानिरीक्षक

काठमाडौं, २६ चैत । पूर्वप्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेल आफ्नै निवासमा ‘लकडाउन’मा छन् । समय बिताउन खरेलले समाचारमाध्यम ‘अनलाइन’हरु प्रयोग गरिरहेका छन् । सञ्चारमाध्यममा आएका सूचना र सामाजिक सञ्जालमा आएका कतिपय टिप्पणी आलोचनालाई खरेलले गम्भीरता पूर्वक लिएका छन् ।
बुधबार दिउँसो ‘दृष्टि अनलाइन’लाई प्रतिक्रिया दिँदै पूर्वप्रहरी महानिरीक्षक खरेल भने, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार राष्ट्रका नाममा दिएको सम्बोधनले वर्तमान अवस्थालाई ठोस सम्बोधन गरेन । नेपालको सीमामा करिब दुई हजार नेपाली अलपत्र परेका छन् । तिनीहरुलाई देशभित्र ल्याएर ‘क्वारेन्टाइन’मा राखिने प्रतिवद्धता प्रधानमन्त्रीको भाषणमा समेटिएको भए सीमामा अलपत्र नेपालीहरुको मनले शान्ति पाउनेथियो ।’
‘भारतसँग खुला सीमा भएको कारण कति भारतीय नागरिक दिनमा नेपाल भित्रिन्छन् ? कति नेपाली भारत पस्छन् भन्ने कुराको तथ्यांक हामीसँग छैन । कम्तिमा राज्यले सीमामा आवत–जावत गर्ने नागरिकलाई परिचयपत्रको व्यवस्था गरेको भए यस्तो बेलामा सीमा प्रवेशमा निगरानी हुन्थ्यो’ खरेल भन्छन् ।
विश्व स्वास्थ्य संगठनले पनि भारतसँग खुला सीमा जोडिएको कारण नेपाल खतरामुक्त छैन भनिरहेको छ । हुन पनि भारत र विदेशबाट आएका नेपालीहरुको कारण कोरोना भाइरस भित्रिएको पुष्टि भएको छ । विश्वका अन्य देशहरुमा जस्तो महामारी नेपालमा फैलिसकेको छैन, अर्थात सरकारलाई अझै काम गर्ने अवसर छ । तर, काठमाडौं र प्रदेशका सिमित अस्पतालमा मात्र कोरोना भाइरस जाँच्ने उपरकण भएको हुँदा त्यसले चिन्ता बढाएको छ ।
‘यसैले देशैभरका सरकारी, नीजि, सेना, प्रहरीका अस्पतालहरुमा पनि कोरोना भाइरस जाँच्ने र उपचार गर्ने विधि स्थापित गरियो भने सम्भावित जोखिमबाट हामी जोगिन सक्छौंँ । त्यसका लागि सांसद विकास कोषको रकम आपत्तकालिन काममा प्रयोगमा ल्याउन सरकारलाई खरेलको सुझाव छ ।
त्यसैगरी ‘विदेशमा अलपत्र परेका नेपालीहरुले पशुपतिनाथको नाम जपिरहेका छन् । यो विपदको बेलामा ती नागरिकहरुको बारेमा पनि ठोस रुपमा सोच्नुपर्छ । सकिन्छ भने जुनसुकै देशमा रहेका नेपाली नागरिकलाई उद्वारको उपाय खोजिनुपर्छ । सरकार र राज्यको आवश्यकता यस्तै आपत्तको बेला पर्ने हो । त्यो कुरा प्रधानमन्त्रीको सम्बोधनमा कतै उल्लेख गरिएको पाइएन’ खरेल भन्छन् ।
देश ‘लकडाउन’ छ । सबैले सरकारकै मुख ताकेको छ । सरकारलाई पनि ‘मैले राम्रै काम गरेको छु’ भन्ने लागेको हुनसक्छ । त्यतिले मात्र अहिलेको समस्या टर्दैन । भोलि आइपर्ने महाविपत्तिको सामना गर्न के–के तयारी गर्नुपर्छ भनेर आजैदेखि त्यो काम गर्नुपर्छ । प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्यकर्मी र सरसफाइकर्मीलगायत कुनैपनि कर्मचारीको मनोवलमा आँच आउने काम सरकारले यति बेला गर्नु हुँदैन ।

प्रतिक्रिया दिनुहोस्