Logo
Logo

चौधरी फाउण्डेसनबाट ‘पिसीआर रिएजेन्ट’ हस्तान्तरण


- दृष्टि न्युज/संवाददाता


काठमाडौँ, २७ चैत । चौधरी ग्रुपको चौधरी फाउण्डेसनले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई बुधबार कोरोना भाइरसको परीक्षणमा उपयोग हुने एक हजार थान ‘पिसीआर रिएजेन्ट’ हस्तान्तरण गरेको छ ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई फाउण्डेसनका महाप्रबन्धक मधूसुदन पौडेलले मन्त्रालयमा सो हस्तान्तरण गर्नुभएको हो । सो अवसरमा मन्त्री ढकालले विषम परिस्थितिमा सरकारलाई सहयोग गरेकामा फाउण्डेसनलाई धन्यवाद दिँदै यसले चिकित्साकर्मीको मनोबल उच्च बनाउन सहयोग पुग्ने उल्लेख गर्नुभएको थियो ।

फाउन्डेसनका महाप्रबन्धक पौडेलले सामाजिक हितका निम्ति जहिल्यै सरकारसँग मिलेर काम गर्न तयार रहेको बताउनुभयो । फाउण्डेसनले ‘पीसीआर रिएजेन्ट’ चीनबाट आयात गरेको जनाएको छ । यसअघि पनि फाउण्डेसनले सातै प्रदेशका गरी ४८ स्वास्थ्य संस्थामा पिपिई र अन्य स्वास्थ्य सामग्री सहयोग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्