Logo
Logo

सुदूरपश्चिममा कोरोना त्रास : स्वाब संकलन गर्दै स्वास्थ्यकर्मी टोली


- दृष्टि न्युज/संवाददाता


डोटी, २७ चैत । सुदूरपश्चिममा कोरोना भाइरसको संक्रमणका बिरामीको संख्या बढेपछि तथा भारतबाट आएका नागरिक पनि बढी भएकाले उनीहरुको स्वाब संकलनका लागि विशेषज्ञ डाक्टरसहितको टोली जिल्ला आइपुगेको छ ।
टोलीले जिल्लाको बोगटान फुड्सिल गाउँपालिकाको खत्याडीबाट काम थालेको छ । खत्याडीमा स्वाब संकलनपछि जिल्लाका अन्य स्थानका कवारेन्टाइनमा रहेका नागरिकको स्वाब संकलनको कार्य शुरु गरिने भएको छ । उक्त गाउँपालिकामा सबैभन्दा बढी भारतबाट काम गरी आएका नागरिक क्वारेन्टाइनमा भएका कारण पहिलो चरणमा त्यहाँ स्वाब संकलन शुरु गरिएको हो ।
भारत तथा अन्य मुलुकबाट काम गरेर गृहजिल्ला आएर क्वारेन्टाइनमा बसेकाहरुको स्वाब सङ्कलनका लागि आएका विशेषज्ञ डाक्टरहरुमा नेपाली सेना, सशस्त्र प्रहरी र निजामतीसहितका चिकित्सकको घुम्ती टोली रहेको जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ । संघीय सरकारले उक्त टोलीलाई स्वाव संक्लनका लागि डोटी पठाउने निर्णय गरेसँगै उक्त टोली जिल्ला आएको हो ।
टोलीले जिल्लाका १२ वटै ठाउँका क्वारेन्टाइलमा पुगेर त्यहाँ राखिएका नागरिकहरुको स्वाब संकलन गरी परीक्षणका लागि काठमाडौँ लैजाने प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताए । स्वाब परीक्षणका लागि आएको उक्त टोलीलाई जिल्लाका पाँच ठाउँमा स्वाब संक्लनका लागि लैजाने तयारी भएको प्रजिअ पौडेलले जानकारी दिए ।
स्वाव संकलनका लागि टोली यहाँका सबै क्वारेन्टाइन जाने भएपछि अहिले सम्पूर्ण क्वारेन्टाइन स्थलमा हेलिप्याड निर्माण भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले बताए । उनले भने, ‘स्वाव संकलनका लागि टोली गाउँमा जाने भएकाले सुरक्षाकर्मी खटाएर क्वारेन्टाइन भएका ठाउँमा हेलिप्याड बनाउने काम शुरु भएको छ, स्वाब संकलन कार्यजारी छ ।’ टोलीले एक दिनमा २०० जनासम्मको स्वाब संकलन गर्ने लक्ष्य लिएको बताइएको छ ।
डोटीमा लकडाउनपछि भारतबाट आएका ३०५ जना र सोभन्दा अघि आएका ३१ जना गरी जम्मा ३३६ लाई क्वारेन्टाइनमा राखिएको छ । अहिलेका लागि जिल्ला प्रशासन कार्यालयले जिल्लाका पाँच ठाउँमा स्वाब संकलन केन्द्र राखेको छ । जिल्लाका नौ स्थानीय तहमध्ये केआइसिंह गाउँपालिका र दिपायल सिलगढी नगरपालिकाका लागि राजपुर, बोगटान फुडसिल गाउँपालिकाका लागि खत्याडी, जोरायल र बडिकेदार गाउँपालिकाका लागि बिपीनगर, आदर्श र सायल गाउँपालिकाका लागि मौवा र शिखर नगरपालिकाका लागि धुर्कोटमा स्वाब परीक्षण संकलन केन्द्र तोकिएको जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्