Logo
Logo

सेना र सशस्त्र प्रहरीको पनि तलब कट्टी गर्ने तयारी


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २७ चैत ।
नेपाल प्रहरी मात्र नभई नेपाली सेना तथा सशस्त्र प्रहरी बलका कर्मचारीको पनि तलब कोरोना रोकथाम तथा उपचार कोषमा जम्मा गर्न कट्टी हुने भएको छ । सरकारले सबै निकायका सरकारी कर्मचारीको तलक कट्टी गर्ने निर्णय गरिसकेको छ ।


फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको तलब भने कट्टी नगर्न दबाब परेको छ । तर, सरकारले निजामती कर्मचारीसँगै सुरक्षाकर्मी, शिक्षक लगायतको पनि तलब काटेर कोषमा जम्मा गर्ने निर्णय गरेको हो । सुरक्षाकर्मीको समेत तलब कट्टीको निर्णय भएको प्रधानमन्त्री कार्यालयका सचिव नारायण बिडारीले बताए ।

नेपाल प्रहरीले असईदेखि आईजिपीसम्मको तलब कट्टी गर्ने निर्णय गरिसकेको छ । भूकम्पको बेला सिपाही र हवल्दारको समेत कटौती भएको थियो । तर, उनीहरुको तलब कम हुने भएकाले प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीले अधिकृतस्तरको मात्र कट्टी गर्ने निर्णय गरेका हुन् ।

नेपाली सेना र सशस्त्र प्रहरीमा पनि यसबारे छलफल भइरहेको छ । सेनामा अहिले कट्टी गर्दा प्रहरीको जस्तो आलोचना हुने भएकाले कल्याणकारी कोषबाट दिनेबारे समेत छलफल अघि बढाएको छ । सशस्त्र प्रहरीमा पनि बैशाखको तलबबाट कट्टी गर्न लागिएको छ ।
विपदको बेला ज्यान जोखिममा राखेर खटिने सुरक्षाकमीलाई भत्ता दिन माग भएको थियो । तर सरकारले खाजा खर्च दिएर टारेको छ । अर्काेतर्फ तलब समेत कट्टी गर्ने निर्णय भएपछि यसको सर्वत्र आलोचना भएको छ ।

प्रतिक्रिया दिनुहोस्