Logo
Logo

घुस पनि विदेशमा, रकम पनि विदेशमा


डा. दीपेश केसी

1.1k
Shares

कुनै समय थियो देशमा भ्रष्टाचार लाखमा हुन्थ्यो । बिस्तारै यो करोडमा हुन थाल्यो, अरबमा हुँदै खर्बमा हुन थालेको छ । भ्रष्टाचार सानो या ठूलो जेसुकै भए पनि भ्रष्टाचार नै हो । तर, देशमा भ्रष्टाचार संख्या र परिमाणमा मात्र बढेको छैन, देशको रकम भ्रष्टाचारबाट धमाधम बाहिरिन थालेको छ । भ्रष्टाचार गरेको रकम विदेशमै व्यवस्थापन गर्ने तथ्यहरू उजागर भएका छन् ।

आइटीसम्बन्धी भ्रष्टाचारमा विकल पौडेलले कमिसनबापतको रकम सिंगापुर र न्यूयोर्कको बैंकमा व्यवस्थापन गरेको तथ्य अख्तियारले पत्ता लगाएर मुद्दा नै दायर गरेको छ । उनले उच्च सरकारी अधिकारीहरूलाई पनि घुसको रकम विदेशमै दिलाएका छन् । पछिल्लो समय ठूला नियुक्तिहरूमा घुसको लेनदेन विदेशमै हुन थालेको छ । अर्बभन्दा माथिको ठेक्कापट्टाका बिचौलियाहरू अड्डा नै खडा गरेर विदेशमा छन् । उनीहरू माफिया शैलीमा राजनीतिक नेतृत्व, उच्च कर्मचारीदेखि अदालतका भ्रष्ट न्यायाधीशलाई समेत प्रभावमा पार्छन् ।

एनसेलको कर छली प्रकरणमा लेनदेन विदेशमै भएको खुलासाहरू भइरहेको छ । सुन काण्डमा लेनदेन विदेशमै चलखेल भएको खुल्यो । यस्ता गतिविधिले देशका जिम्मेवार अधिकारीहरू नै भ्रष्टाचारमा चुर्लुम्म डुबेको छर्लङ्ग हुन्छ । जो भ्रष्टाचार गर्दैन ऊ उच्च पदमा पुग्दैन भन्ने अवस्था बनिसकेको छ ।

मोटो रकम नबुझाई मालदार अड्डा या निकायमा नियुक्ति नहुने र भएपछि खुलेआम भ्रष्टाचार गर्ने परिपाटी चलिरहन्छ । यसको उदाहरण नेपाल टेलिकमको खरिद प्रकरणलाई लिन सकिन्छ । अर्बभन्दा माथिको ठेक्कामा प्रतिस्पर्धाविहिन बनाउन प्रिक्वालिफिकेशनमा एकमात्र कम्पनी छान्ने परिपाटी विकास भएको छ । भ्रष्टाचारबाट बढी घुस लिने शैली हो यो । निर्माण देखि आइटी सम्बन्धी खरिदबिक्रीमा यस्ता भ्रष्टाचार खुल्न थालेको छ ।

सहकारी ठगी प्रकरण त सामान्य नागरिकको रकम लुटको शैली हो । राजनीतिक दलका नेता कार्यकर्ता देखि कर्मचारी समेत मिलेमतो गरी सहकारीमा ठगी भएको छ । यो प्रकरणमा रवि लामिछानेको नाम निकै चर्चामा छ । वास्तवमा यो प्रकरणमा एमाले, काँग्रेस, माओवादीलगायत सबै दलका कतिपय नेताहरू मुछिएका छन् । साग बेच्ने, नाङ्ले पसल थाप्नेहरूको थाप्नेहरूले पसिनाको कमाई खाई नखाई जोगाएको रकम ठगी गर्नु महाअपराध हो । तर, सहकारी ठगहरूलाई बचाउनका लागि घुस लेनदेन चल्न थालेको छ । सुन तस्कर देखि कालोबजारी जोगाउन पनि घुसको लेनदेन चलेको छ ।

भ्रष्टाचारीले राजनीतिक संरक्षण लिने गरेका छन् । कोही राजनीतिक दलका नेता कार्यकर्ता बनेका छन् त कोही कर्मचारी भए दल विशेषको लेबी तिर्ने अघोषित कार्यकर्ता बनेका छन् । जब उनीहरूमाथि कारबाही हुन खोज्यो तब जोगिन ठूलै नेताको दबाब दिलाउने गर्छन् ।

अर्कोतर्फ, दल विशेषको राजनीतिक अस्त्र बन्ने गरेको छ भ्रष्टाचारीमाथि कारबाहीको विषय । कुनै दल विशेषका नेतालाई ट्र्यापमा पार्ने र बार्गेनिङ गरेर राजनीतिक लाभ लिने गतिविधि पनि चलेको छ । जस्तो आइटी सम्बन्धी भ्रष्टाचारमा मुछिएका काँग्रेस नेताहरू ज्ञानेन्द्रबहादुर कार्की र मोहनबहादुर बस्नेतलाई उन्मुक्ति दिन ठूलै दबाब दिइयो । यो प्रकरणमा उच्च कर्मचारीलाई पनि दबाबमा मुद्दा दायरबाट जोगाइएको चर्चा छ । यसमा पनि राजनीतिक लेनदेनको खेल खेलिएको बुझिन्छ ।

महत्त्वपूर्ण स्थानका जग्गा भाडामा लगाउँदा ठूलो भ्रष्टाचार हुने गरेको खुल्दै आएको छ । यसमा मुख्य दलका नेता देखि कार्यकर्ता पनि संलग्न छन् । एकले अर्कोलाई ठेगान लगाउने शैलीमा यो विषय उठाउने र सेलाउने गर्छ । भ्रष्टाचारीले सधैँ उन्मुक्ति पाउँछ । अहिले त भ्रष्टाचारबाट जोगिन मन्त्रिपरिषद्बाट नै सामान्य भन्दा सामान्य विषय पारित गराउने परिपाटी विकास भएको छ ।

क्याबिनेटको निर्णय अख्तियारको छानबिनको दायरामा नपर्ने भएकाले यसो गरिएको छ । कतिपय सरकारी र सार्वजनिक जग्गा भाडामा लगाउँदा पनि क्याबिनेटबाट निर्णय गराइएको छ । जस्तो पुलचोकको सैनिक स्मारकको जग्गा भाडामा लगाउँदा पनि क्याबिनेटबाट नै निर्णय गराइयो । स्मारक नै तहसनहस पारेर भाडामा लगाउने सम्मको गतिविधि भएको छ ।

देशमा सबैभन्दा ठूलो परिमाणको भ्रष्टाचार आइटी क्षेत्रमा भएको छ । सामान्य नागरिकको चासो र आँखामा नपर्ने भएकाले यसमा भ्रष्ट नेता देखि कर्मचारीको पनि चासो रहने गर्छ । अरबौँको भ्रष्टाचार भएको छ आइटी क्षेत्रमा । कतिपयमा त अख्तियारले मुद्दा नै दायर गरेको छ ।

आइटी क्षेत्रमा भएका भ्रष्टाचारमा इम्बोस्ड नम्बर प्लेट, प्रिन्टिङ प्रेस खरिद, पेमेन्ट गेटवेकर लगायत चर्चित छन् । एनसेलको छली, टेलिकमको बिलिङ प्रणालीका अलावा कतिपय खरिद पनि पर्दछन् । सात पुस्तालाई पुग्ने गरी रकम कमाइने देखेर कतिपय भ्रष्टाचारी बन्न तयार भएर पनि नियुक्त हुन तयार हुन्छन् यस्ता क्षेत्रमा । विकल पौडेल र सुनिल पौडेल यसका उदाहरण हुन् ।

देशमा भ्रष्ट बन्न खुलेआम तयार हुने डरलाग्दो परिस्थिति विकास भएको छ । अर्कोतर्फ, भ्रष्टलाई काँध थाप्न प्रभावशाली नेता नै तयार हुने गरेका छन् । जति ठूलो भ्रष्टाचार गरेर बदनाम भए पनि अख्तियार नलाग्ने र पैसाको बलमा चुनाव जित्ने भएकाले कतिपयले त खुलेआम भ्रष्टाचार गरेको हुँ भन्दै चुनौती दिन्छन् ।

यो हदसम्मको अवस्था विकास हुनुमा भ्रष्ट राजनीतिक नेतृत्व पनि कारण हो । भ्रष्टाचारीको कुनै पार्टी, जात, धर्म हुँदैन भन्ने मान्यताका साथ कारबाही अगाडि बढ्नुपर्ने हो । तर, मेरो दलको, मेरा जाति, समुदाय, क्षेत्रको हो भनी कारबाहीबाट रोक्ने खोज्ने परिस्थिति विकास गर्न खोजिएको छ ।

भ्रष्टाचारले राजनीतिलाई दुर्गन्धित बनाइदिनुको कारण यो पनि हो । भ्रष्टाचार कसैले गर्न आँट नगर्ने परिस्थिति निर्माण गर्न दण्डबाट जोगिन नसक्ने परिवेश निर्माण गर्नुपर्छ । अर्कोतर्फ, समाजले पनि भ्रष्टाचारलाई निरुत्साहित गर्न पैसा नै सबथोक हो भन्ने मान्यतालाई निरुत्साहित बनाउनुपर्छ ।

सबैभन्दा महत्त्वपूर्ण विषय भनेको राजनीतिक नेतृत्व भ्रष्टाचारबाट मुक्त हुने र गराउनेमा लाग्नुपर्छ । जब राजनीतिक नेतृत्व नै भ्रष्ट हुन्छ भने देशमा निश्चित रुपमा भ्रष्टाचार बढ्छ । अहिले यति ठूलो परिमाणमा भ्रष्टाचार हुनु र विदेशमा घुसको लेनदेन हुने र पैसा उतै व्यवस्थापन हुने भनेको राजनीतिक नेतृत्वको भ्रष्ट चरित्र पनि कारण हो । यो देशका लागि घातक छ ।

प्रतिक्रिया दिनुहोस्