Logo
Logo

टोकियो ओलम्पिक अर्को वर्ष पनि अनिश्चित


टोकियो/एजेन्सी


टोकियो, २८ चैत (एजेन्सी) । जापानमा हुने तय भएको टोकियो ओलम्पिक प्रतियोगिता निर्धारित समयभन्दा एक बर्ष पछाडि पनि हुनेमा आशंका व्यक्त गरिएको छ । टोकियो ओलम्पिकका प्रमुख कार्यकारी अधिकृत तोशिरो मुटोले अर्को बर्षपनि ओलम्पिक हुन्छ भन्ने सुनिश्चित गर्न नसकिने बताएका छन् ।
विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण प्रतियोगिता अनिश्चित नै रहेको उनको भनाई छ । यसै बर्ष सन् २०२० मा हुने तय भएको प्रतियोगिता कोरोना भाइरसको संक्रमणकै कारण ठिक एक बर्ष पछाडी सारेर अर्को बर्ष सन् २०२१ को जुलाई २३ देखि गर्ने निर्णय भइसकेको छ । प्रमुख कार्यकारी अधिकृत मुटोले प्रतियाेिगता अझ धेरै दिन पछाडि सर्नसक्ने सम्भावना उत्तिकै रहेको शुक्रबार बताए ।
जापानमा प्रधानमन्त्री सिन्जे आवेले यसै हप्तादेखि लागु हुनेगरी केही ठाउँका लागि सङ्कटकालको समेत घोषणा गरेका छन् । ‘आगामी जुलाईसम्ममा कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण भइसक्छ भन्ने कुरा कसैले भन्न सक्दैन, त्यसैले अहिले तोकिएकै मितिमा ओलम्पिक प्रतियोगिता हुन्छ भन्ने सुनिश्चत गर्न पनि मैले सक्दिन’ उनले भने ।
शुक्रबार आयोजित पत्रकार अन्तरक्रियामा उनले तोकिएकै मितिमा प्रतियोगिता हुने बारेमा आफुसँग स्पष्ट जवाफ भएको बताए । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि गत महिना सम्बन्धित निकायहरुले यसै बर्ष सन् २०२० मा हुने तय भएको टोकियो ओलम्पिक सारेर अर्को बर्ष सन् २०२१ को जुलाई २३ देखि र पारालोम्पिक अगस्ट २४ देखि गर्ने निर्णय गरेका थिए ।
प्रधानमन्त्री आवेले कोरोना भाइरस विरुद्धको लडाईलाई छिटो छरितो, प्रभावकारी र शसक्त नबनाएकाले ओलम्पिक प्रतियोगिता सार्नु परेको भन्दै उनको आलोचना पनि भएको छ । प्रमुख कार्यकारी अधिकृत मुटोले प्रतियोगिता एक बर्ष पछाडि हुने मानेर नै तयारीको कामहरु तिब्र गतिमा अगाडी बढाइने बताए । उनले त्यतिबेलासम्म कोरोना भाइरसको संक्रमण अन्त्य हुने आशा पनि व्यक्त गरेका छन् । जापानमा कोरोना भाइरसका कारण शुक्रबारसम्ममा झण्डै पाँच हजार जना संक्रमित भएका छन् भने झण्डै एक सय जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्