Logo
Logo

देव विकास बैंकमा भ्रष्टाचार


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । सरकारी कार्यालयहरुमा हुने भ्रष्टाचारको निकै चर्चा हुन्छ । तर, निजी क्षेत्रमा पनि भ्रष्टाचारको रोग उस्तै छ । नेपालमा भ्रष्टाचार सामाजिक रोग नै बनिसकेको छ ।
सरकारी कार्यालयमा बरु अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्ने त्रास हुन्छ, निजी क्षेत्रमा त्यस्तो त्रास पनि नहुने भएकाले भ्रष्टाचार मौलाउँदो छ ।
जनताको लगानीमा खुलेका बैंक तथा वित्तिय संस्थाहरुमा पनि डरलाग्दो अवस्था छ । बैंकहरुमा खरिद लगायत काममा त कसिमनको चलखेल हुने गरेको छ नै साथै कर्जामा पनि ठूलो भ्रष्टाचार हुने गरेको छ । बैंकका सञ्चालक तथा कर्मचारीले ‘घुस’ लिएर अनियमित रुपमा कर्जा प्रवाह गर्ने गरेको पटक पटक भेटिदै आएको छ । यो क्रम अझै रोकिएको छैन ।
सेनाका पूर्व जर्नेल बज्र गुरुङ अध्यक्ष रहेको देवः विकास बैंकमा भएको करिब २ करोड अनियमितताको अहिले प्रहरीले अनुसन्धान गरिरहेको छ । अनुसन्धानमा रमाइलो के खुलेको छ भने एक दर्जन गाडी रहेको भनेर नक्कली कागजपत्र पेश गरेर २ करोड भन्दा धेरै कर्जा प्रवाह गरियो । सो प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरोले बैंकका कर्मचारीसहितका व्यक्तिहरुलाई पक्राउ गरी छानबिन अघि बढाएको छ । पछि कर्जा नउठेपछि बुझ्दा थाहा भयो कि ऋणीहरुसँग गाडी नै थिएन । नक्कली कागजपत्र पेश गरी बैंकका कर्मचारीलाई घुस खुवाएर दुई करोड रुपैयाँ हात पारेका थिए ।
यो घटनाले बैंकभित्र हुने गरेको अनियमिततालाई प्रष्ट पार्छ । विगतमा बैंकका सञ्चालक तथा कर्मचारीको मिलेमतोमा भएका ठूला भ्रष्टाचारहरुमा प्रहरीले मुद्दा दायर गरिसकेको छ । तर पनि अनियमितता रोकिएको छैन ।
चिनजान नभएका व्यक्तिहरुलाई बैंकबाट कर्जा लिन निकै गाह्रो छ । पाए पनि धितोको तुलनामा थोरै मात्र पाउँछन् । तर, सञ्चालक र कर्जा विभागका कर्मचारीसँग चिनजान भएका व्यक्तिहरुले धितो बिना नै कर्जा पाउने गरेका छन् । जसकारण बैंकप्रति जनताको धारणा सकारात्मक हुनसकेको छैन । केन्द्रीय बैंकले पनि राम्रोसँग नियमन गर्न नसक्दा बैंकहरुमा अनियमिता नरोकिएको हो ।

प्रतिक्रिया दिनुहोस्