Logo
Logo

बजेटमा माओवादीले एकलौटी गर्यो : केपी ओली 


1.8k
Shares

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको आगामी बजेट एकपक्षीय भएको भन्दै असन्तुष्टि जनाएका छन् । अर्थमन्त्री पुनले सत्ता साझेदार दलहरूसँग छलफल नगरी एकलौटी रुपमा बजेट ल्याएको भन्दै असन्तुष्टि जनाएका हुन् ।

शनिवार आयोजित पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले नेकपा (माओवादी केन्द्र)प्रति ढल्किएर अर्थमन्त्री वर्षमान पुनले बजेट ल्याएको टिप्पणी गरे । ‘बजेट समाजवाद उन्मुख हुनुपर्नेमा अन्योलग्रस्त देखिएको छ ।’ उनले भने, ‘बजेट निर्माण प्रक्रियामा नै सरकारले कमजोरी गरेको छ ।’ 

ओलीले कमजोरी भए पनि बजेटलाई समर्थन र पारित गरेर जाने एमालेको नीति रहेको उल्लेख गरे । उनले सरकारले प्रस्तुत गरेको बजेटमाथि एमालेले खुलेर छलफल गर्न चाहेको बताए । 

‘बजेट वक्तव्यमा रहेका करका दर, भन्सार, आयकरसँग सम्बन्धी विभिन्न प्रकारका करहरू सम्बन्धी या सम्पूर्ण आयको अनुमानसम्बन्धी र व्ययका क्षेत्रहरू अनुमानमा आधारित भएर कस्तो खालको दिशा समेटेको छ बजेटले ? ।’ ओली प्रश्न गरे, ‘हामी जानुपर्ने कता हो ? सैद्धान्तिक रुपमा कस्तो दिशा समातेको छ बजेटले ? यी विषयहरूमा केन्द्रित भएर छलफल गर्नेछौँ । अरू छलफल बाँकी रहन्छ ।’ 

उनले मन्त्रालयका लागि विनियोजित बजेटमा पनि असन्तुष्टि पोखेका छन् । उनले बजेटमा सुधार गर्नुपर्ने पक्षमा व्यापक छलफल गरेर अगाडि बढ्ने बताएका छन् ।

अध्यक्ष ओलीले सरकारमा सहभागी दलहरूसँग छलफल गरेर बजेट आएको भए राम्रो बजेट आउन सक्ने बताए । ‘छलफल नहुँदा बजेट अर्थमन्त्री र माओवादी पार्टीको बजेट हो कि ? जस्तो देखिन गएको छ । रकम बाँडफाँड पनि एकातिर ढल्किएको खालको जस्तो देखिन्छ ।’

‘हामीले समाजवाद निर्माणको बाटो लिएका छौँ । त्यसका लागि समाजवाद निर्माणका आधारहरू तयार गर्ने, समाजवाद उन्मुख बजेट, नीति, कार्यक्रम, योजनाहरू, ती कुराहरू बजेटले स्पष्ट ढङ्गले समाउनु पर्दथ्यो ।’ उनले थपे, ‘बजेट अलि अन्योलग्रस्त देखिन्छ । पछि छलफल हुनेछ ।’ 

‘यस बजेटलाई हामी समर्थन गर्छौँ । र पारित गर्छौँ । यसको मतलब बजेटमा रहेका कुनै कमी पनि औँल्याउन हुँदैन भन्ने होइन ।’ अध्यक्ष ओलीले भने, ‘बजेटमा समर्थन गरेर अघि बढ्न पनि पार्टीका सांंसदहरुलाई निर्देशन छ ।’

प्रतिक्रिया दिनुहोस्