Logo
Logo

सस्तो लोकप्रियतामा रमाउँदै प्रधानन्यायाधीश राणा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले अदालतका बिचौलियालाई कारबाही गर्ने उद्घोष गरेका छन् । बाहिरका बिचौलियालाई मानहानीमा मुद्दा चलाउने र अदालतभित्रका कर्मचारीलाई कार्यसम्पादन मूल्यांकनका क्रममा नम्बर नदिई बढुवा रोक्ने उनको कथन छ । तर प्रधानन्यायाधीश राणाले अदालतमा शुद्धीकरण उनकै वरिपरिबाट सुरु गर्नुपर्ने देखिन्छ । कुना कुना टेबुल टेबुलमा खोज्नैपर्दैन । आफंैबाट परिवर्तन सुरु गरिसकेपछि मात्र उनको कथनी र करनीमा एकरुपता देखिनेछ । न्यायालयप्रति जनविश्वास बढ्नेछ । उनका वरिपरिका बिचौलियाहरु बलराम सापकोटा, मनोज शर्मा, उनकै भाइ प्रभुशमशेर राणाहरुलाई उनले अवहेलना मुद्दा दायर गरी सुरुवात गर्न सक्नुपर्छ ।
प्रधानन्यायाधीश राणा राष्ट्रपति समक्ष सपथ खान जाँदा उनीसँगै शितलनिवासमा मनोज शर्मा, नवराज थपलियाहरु पनि थिए । राणाको सपथमा उनीहरु कुन हैसियतले गएका हुन् ? न्यायालयमा हाक्काहाक्की विचौलिया प्रवेश गराएर न्यायालयलाई विवादमा ल्याउने पूर्वप्रधानन्यायाधीश दामोदर शर्माका भतिजा मनोज शर्माको काम नै पछिल्ला दिनमा मुद्दाको सेटिङ गर्ने हो । यो कुरा प्रधानन्यायाधीश राणालाई थाहा छ । दामोदर शर्माले अस्थायी न्यायाधीश बनाएका उनीहरुलाई पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले स्थायी नबनाएपछि मनोज शर्माको काम नै मुद्दाको दलाली गर्ने हुँदैआएको छ । मनोज शर्माहरुलाई उनले मानहानी मुद्दा चलाएर शुद्धीकरणको सुरुवात गर्नसके मात्र उनको भनाइ र गराइमा एकरुपता पाइनेछ । राणाको छत्रछायाँमा मुद्दामा सेटिङ गर्दैआएका मनोज शर्माहरु त राणा प्रधानन्यायाधीश भएपछि उच्च अदालतको मुख्यन्यायाधीश र न्यायाधीश नियुक्ति पक्का भन्दै भोजभतेरमा ब्यस्त छन् । राणाले बाहिर किन बिचौलिया खोज्दै हिंड्ने ? उनकै वरिपरि बिचौलियाहरुको लर्को रहेका यी केही प्रतिनिधि उदाहरण हुन् ।
सर्वोच्च अदालतका कर्मचारीहरु नै बिचौलिया छन् भन्ने कुरा राणालाई थाहा छ । के उनले ती कर्मचारीमाथि कारबाही गर्नसक्छन् ? विगतमा उनीसँग पनि ती कर्मचारीहरुको कहीँ न कहीँ कनेक्सन हुने गरेकै थियो होला । तिनलाई जागिरबाटै बर्खास्त नगरी किन कार्यसम्पादन तलमाथि गर्नुप¥यो ? कार्यसम्पादनमा गडबड गर्ने भनेर सस्तो लोकप्रियताका लागि होहल्लामात्र गरिएको हो । बिचौलियालाई अदालतको अवहेलना मुद्दा लाउने कुरा पनि सस्तो प्रचारबाजीमात्र हो । बिचौलिया भनेर निधारमा लेखिएको हुँदैन । कुनै न्यायाधीशले कालु गुरुङ, बलराम सापकोटा जस्ता बिचौलियाले आफूलाई मुद्दामा प्रलोभन दिएको गुनासो गर्नुप¥यो । त्यो गुनासो कसले गर्ने ? गुनासो नै नगरी के आधारमा मानहानी मुद्दा लाउने ? फेरि न्यायाधीशले नै सुन पसले, मासु पसलेमार्फत् घुसको डिल गर्ने भएपछि कसरी बिचौलिया पहिचान गर्नसक्छन् ? सुनपसले र मासुुपसलेलाई अवहेलना मुद्दा कसरी चलाउने ? त्यसकारण यो राणाको स्टन्टमात्र हो ।
अजय सुमार्गीको मुक्तिश्री सिमेन्टको नाममा विदेशबाट भित्रिएको शंकास्पद ८० करोड रुपैयाँ फुकुवा गर्ने बरिष्ठ न्यायाधीश दीपकराज जोशीलाई न्यायपरिषदको हवाला दिएर पेशी नतोक्ने, च्याम्बर खोस्नेदेखि प्रहरी लगाएर लखेटियो । तर, सुमार्गीकै स्याटेलाइट कम्पनीको नाममा आएको पौने ३ अर्ब रुपैयाँ शंकास्पद पैसा फुकुवा गर्न अन्तरिम आदेश दिने न्यायाधीश तेजबहादुर केसीलाई राणाले पेशी तोकिरहेकै छन् ।
उच्च अदालत बिराटनगरका मुख्य न्यायाधीश कुलरत्न भूर्तेलले ३८ क्वीन्टल सुनतस्करीमा थनुामा रहेका प्रहरीका पूर्व र बहालवाला भ्रष्ट अधिकारीदेखि तस्कर विमल पोद्दार र आरके ज्वेलर्सका राजेन्द्र शाक्यलाई जिल्ला अदालत मोरङको थुनछेक आदेश उल्टी गर्दै साधारण तारेखमा छाड्न निरन्तर सुनुवाइ राखे । सेटिङ गरी मुद्दा छरेर पेशी तोक्ने भूर्तेललाई केही नगरी साधारण तारेखमा छाड्ने पाँच न्यायाधीशलाई तानेर ठूलो हल्लाखल्ला मच्चाउने काम गरेका छन् । पाँच न्यायाधीशले जस्तै ३८ क्वीन्टल सुन तस्करीका आरोपी छाड्ने आदेश दिने उच्च अदालत बिराटनगरका न्यायाधीशद्वय जनक पाण्डे र साधुराम सापकोटालाई तानिएको छैन । सुनतस्करीका आरोपी छाड्न पेशी तोक्ने भूर्तेल, छाड्ने आदेश दिने पाण्डे र सापकोटालाई किन तानिएन ? यो प्रश्नको जवाफ राणाले दिन सक्छन् ?

ललितपुर जिल्ला अदालतका न्यायाधीश विश्वमंगल आत्रेयलाई भीएलएनका संचालक राम श्रेष्ठलाई छाडेको आरोपमा तानियो । तर त्यसअघि तिनै राम श्रेष्ठलाई छाड्न आदेश दिने काठमाडौं जिल्ला अदालतका न्यायाधीश अमृत बस्नेतलाई खोई तानिएको ? आत्रेय र बस्नेतले एकै प्रकृतिको आदेश दिएका हुन् । तर आत्रेयलाई कारबाही हुँदा बस्नेतले कसरी उन्मुक्ति पाए ? यसलाई कुन रुपमा परिभाषित गर्ने प्रधानन्यायाधीशज्यू ? प्रधानन्यायाधीश राणाले ब्यक्तिको गोपनीयताको मौलिक हकको हनन् गर्दै नेपाल दूरसंचार कम्पनी(टेलिकम) सँग १ सय ५० भन्दा बढी कानुन ब्यवसायी र आफूलाई मन नपरेका कर्मचारी लगायतको कलडिटेल मागेको कुरा पनि आएको छ । जबकि पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले ब्यक्तिको कलडिटेल माग्नु कानुन विपरीत भएको फैसला गरिसकेका छन् । यसर्थमा उनले कल डिटेल मागेका हुन् भने सर्वोच्च अदालतको आदेशको पनि विरुद्ध हुन्छ ।
प्रधानन्यायाधीश राणाकै छत्रछायाँमा नै बिचौलियाको खुलेआम प्रवेश अदालतमा थियो र छ । तर उनले विगतका क्रियाकलापमा सुधार गरेका हुन् र उनी प्रधानन्यायाधीशको कुर्सीमा बसेपछि अंगुलीमालबाट ऋषि अंगुलीमाल हुन खोजेका हुन्, रत्नाकरबाट बाल्मिकी ऋषि हुनेतिर अग्रसर भएका हुन् भने त्यसको प्रमाण आफ्ना वरिपरिका बिचौलियाहरुमाथि अवहेलना मुद्दा लगाएर देखाउन सक्नुपर्छ । एकै प्रकृतिको आदेश दिने कसैलाई कारबाही गर्ने त कसैलाई उन्मुक्ति नदिई समन्याय गर्नुपर्छ ?

प्रतिक्रिया दिनुहोस्