Logo
Logo

मालपोतमा खुलेआम भ्रष्टाचार


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । चावहिल मालपोत कार्यालयका खरिदार लक्ष्मण बस्नेत २० दिनदेखि कार्यालयमा आएका छैनन् । मालपोत कार्यालय चावहिलका खरिदार बस्नेतको मिलेमतोमा नक्कली व्यक्ति खडा गरी अर्काको जग्गा दर्ता गरेको खुलेपछि उनी गायब भएका हुन् । साबिक चपली भद्रकाली गाविस–७ को कित्ता नम्बर २६ को जग्गाधनी गणेशलाल मानन्धरको नाममा जग्गा पास हुनुपर्नेमा मालपोतका कर्मचारीको मिलेमतोमा अर्कै व्यक्तिको नाममा जग्गा धनी प्रमाण पुर्जा बनाउने काम बस्नेतले गरेका थिए ।
चावहिल मालपोत कार्यालयका कार्यालय प्रमुख पदमप्रसाद अर्याल, नायब सब्बा सुरेन्द्र तामाङ, खरिदार लक्ष्मण बस्नेतले ३५ लाख रकम घुस लिएर श्रेस्ता नै सच्याई अर्को नक्कली व्यक्ति खडा गरी जग्गा दर्ता गराएको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको छ । अख्तियारमा उजुरी परेको कुरा थाहा पाएका दिनदेखि खरिदार बस्नेत बेपत्ता छन् ।
नक्कली व्यक्ति खडा गरी जग्गा हडपेको उजुरी सक्कली जग्गा धनीले अख्तियारमा दिएका छन् । पुस ८ गते दर्ता भएको उजुरीको दर्ता नं. ११७१५ हो । उजुरीमा मालपोत कार्यालय चावहिलका कामु प्रमुख अर्याल, नासु तामाङ र खरिदार बस्नेतले घुस लिएर नक्कली ब्यक्तिको नाममा जग्गा दर्ता गरेकाले कारबाहीको माग गरिएको छ ।
सर्वोच्च अदालतबाट गएको साउन ३० गते भएको फैसलाबामेजिम साविक चपली भद्रकाली गाविस–७ को कित्ता नम्बर २६ को जग्गा जग्गा दर्ता गराउनुपर्नेमा सम्बन्धित व्यक्तिले छानविन गरेर मात्रै जग्गा दर्ता प्रक्रिया अघि बढाउन निवेदन दर्ता गरिसकेको अवस्थामा मालपोत कार्यालय चावहिलका खरिदार बस्नेतले घुसको डिलिङ गरी गैरकानुनी रुपमा नक्कली जग्गाधनीको नाममा गरेको उजुरीमा उल्लेख छ ।

खरिदार बस्नेतले कार्यालयको श्रेस्ता नै सच्याएर दुई तीन महिना बेपत्ता पारिएको तथा व्यहोराहरु कोतरेर मेटाई नक्कली व्यक्ति खडा गरेका थिए । उनीहरुले बनाएको कीर्ते जग्गाधनी पुर्जा अनुसार मिलाएर कुनै छानविन नगरी वास्तविक जग्गाधनी गणेशलाल मानन्धरको नाममा हुनुपर्नेमा काठमाडौं महानगरपालिका–२३ झोछेंका जितबहादुर मानन्धर र उमा मानन्धरका नाममा दर्ता गरिएको थियो ।
मालपोत कार्यालय चावहिलका कामु प्रमुख अर्यालले खरिदार लक्ष्मण बस्नेतलाई मुद्दा फाँटमा राखी यस्ता धेरै विवादित जग्गाहरु गैरकानुनी रुपमा दर्ता गर्दैआएका छन् । अरु सिनियर नासु र खरिदार हुँदाहुँदै बस्नेतलाई मुद्दा फाँटमा राखिएको छ । अर्याल र बस्नेतको मिलेमतोमा चावहिल मालपोत कार्यालयमा छुट जग्गा दर्ता पनि भएका छन् । जबकि सरकारको निर्णय बेगर गैरकानुनी रुपमा छुट जग्गा दर्ता गरी पूर्जा दिने मालपोत अधिकृत चेतनाथ ढकाल र तिर्खाराम अर्याल, कम्प्युटर अधिकृत प्रमोद भट्टराई, तत्कालीन नायब सुब्बाद्वय भोजराज पोखरेल र रामबाबु प्रसाद अर्यालसहित ५४ जनाबिरुद्ध २०७४ भदौ १४ मा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । त्यसमा खरिदार बस्नेत पनि संलग्न थिए । तर तत्कालीन अख्तियार प्रमुख दीप बस्न्यातलाई प्रभावमा पारेर बस्नेतको नाममा मुद्दा दायर गरिएन । छुट जग्गा दर्ता गर्दा जग्गा दर्ता गर्न सरकारले खुल्ला गरी सूचना जारी गरेर मात्र हुन्छ । सरकारले निर्णय नगरी छुट जग्गा दर्ता गर्नु गैरकानुनी हो ।
त्यसैगरी मालपोत कार्यालय चावहिलबाट नक्सालका चन्दनकृष्ण श्रेष्ठको बुढानीलकन्ठस्थित पार्कभिलेज होटलको पछाडिको २ रोपनी ८ आना जग्गा नक्कली चन्दनकृष्ण कायस्थ खडा गरी खरिदबिक्री गरेको अभियोगमा अख्तियारले मालपोत प्रमुख कमल तिमिल्सिनासमेत १३ कर्मचारी र भूमाफियासमेत १६ जनाविरुद्ध गएको पुस ९मा विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ । कार्यालय सहयोगी राजु थापा मगरले अन्य कर्मचारीलाई अनुचित प्रभावमा पारी जग्गाको जग्गाधनी दर्ता श्रेस्तामा वास्तविक जग्गाधनीको फोटो उप्काई आफ्नो फोटो टाँसी नक्कली प्रमाणपूर्जा र नागरिकताको प्रमाणपत्रसमेत खडा गरी नक्कली जग्गाधनीको नामबाट गैरकानुनीरुपमा जग्गा बिक्री र खरिद गरेको देखिएको मुद्दा दायर गरिएको थियो । तिनै कार्यालय सहयोगी थापामगरले चन्दनकृष्ण श्रेष्ठको नाममा नागरिकता बनाई ढड्डामा फोटो समेत परिवर्तन गरी जग्गा बिक्री गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्