Logo
Logo

बालेनसँगको टकराब ओलीलाई पर्नसक्छ महँगो


4.5k
Shares

नेपालीमा एउटा उखान छ, ‘थुतुनो र …. ठिकठाक राख्नू, बाँकी सबै ठीक हुन्छ ।‘ यो उखान जस्ताको तस्तै उदृत गर्नु श्लील हो कि अश्लील हो, त्यो छुट्याउने जिम्मा प्रबुद्ध पाठकहरूकै भयो । यसपटक यो पंक्तिकारले भने मुख छोडेकै हो । अन्यथा भए माफ गर्नुहोला ।

म सानो छँदाको बेला गाउँको कुरा हो । मेरो गाउँकी कान्छी सुब्बिनी कहिलेकाहीँ भन्नुहुन्थ्यो, ‘कारबारी काइँला, तँ छेउमा नआइज है । मलाई रिस उठेको छ । रिस उठेको बेला म आँखा देख्दिन, मुख छोड्छु । तँलाई नराम्रो लाग्ला ।’

हुन पनि हो, कान्छी सुब्बिनी रिस उठेको बेला जे पायो त्यही भन्थिन् । गाउँका ठूला मानिसहरू पनि उनलाई रिस उठेको बेला छेउछाउ जान नै डराउँथे । मेरो उमेर भने सबै छाडा शब्द जान्ने भैसकेको थिएन । मैले जानेका केही छाडा शब्द भने रिसाएकी कान्छी सुब्बिनीको मुखबाट आगो जस्तै निस्किन्थे ।
यसबीचमा सकयले धेरै पंखा लगाइसकेको छ । अहिले त कान्छी सुब्बेनी पनि हुनुहुन्न । म पनि गाउँ छोडेर धेरै घाटको पानी पिउँदै अमेरिका आइसके ।

तर पनि थुतुनो र …. ठिकठाक नराखेर दुःख पाउने नेपाली प्रवृत्तिमा कुनै कमी आएको छैन, उल्टै बढिरहेकै छ । अझ, अगाडि बढेर एक किसिमको प्रतिस्पर्धा छ भने पनि हुन्छ । अहिले त छाडा अंग्रेजी शब्दको प्रयोग गर्दा लाजै नहुने नेपाली समाजको विकास भइसकेको छ । यो विकाससँगै अंग्रेजी छाडा शब्दले हाम्रो भान्छा, बैठक सबैतिर सहज प्रवेश पाइसकेका छन् ।

बेला बेलामा थुतुनो र … ठीक नराख्दा दुःख पाउने सार्वजनिक जीवन भएका नेपालीहरूको कर्तुत पनि सार्वजनिक भइरहेकै छ । …. ठीक नराखेर दुःख पाउने केही राष्ट्रिय परिचयधारीहरूको नाम त पाठकहरूलाई कण्ठै छ । थुतुनो ठीक नराखेर दुःख पाउनेहरूको बारेमा पनि यहाँहरू राम्रैसँग जानकार हुनुहुन्छ ।

थुतुनो र …. नेपालको मात्रै विषय हैन, यो विश्वजनीन विषय हो । र, यो ठिकठाक राखे दुःख नपाइने कुरा संसारभरकै मानिसमा लागु हुन्छ । बेलाबेलामा यी ठीक नराख्दा दुःख पाउनेहरूमा ठूल्ठूला नामधारी पनि हुन्छन् । त्यस्तै एउटा नाम हो, अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्प । उनी थुतुनो र … दुवै चलाउनमा बदनाम छन् । केही समयअघि उनी नीलो सिनेमाकी एक नायिकासँग …. सम्बन्धित एउटा पुरानो मुद्दामा दोषी साबित भए र एक अपराधी राष्ट्रपतिको रूपमा अभिशप्त भएर अमेरिकालाई कलंकको टीका लगाइदिए ।

ट्रम्पले २०१६को राष्ट्रपति चुनावमा चन्दा उठाएको एकलाख ३० हजार अमेरिकी डलर स्टोर्मी डेनियल्सको मुखमा बुझो लगाउन खर्च गरे । ट्रम्पले उनीसँग खेलेको रासलीला सार्वजनिक नगर्न त्यो धनराशि खर्च गरेका थिए । हुन पनि डेनियल्सको मुखमा बुझो लगाएर उनी २०१६ को राष्ट्रपति चुनावमा विजयी भए ।

अहिले फेरि उनी राष्ट्रपति हुने दौडमा छन् । शायद, एक प्रमाणित अपराधी राष्ट्रपतिको उम्मेदवार होला भनेर अमेरिकी संविधानका परिकल्पनाकारहरूले परिकल्पना पनि गरेका थिएनन् । अमेरिकामा एउटा चर्चित भनाइ छ, ‘ट्रम्प चरित्र अमेरिकी चरित्र हैन ।

अमेरिका र अमेरिकी जनताको चरित्र फरक छ र हुनुपर्छ ।‘ तर, अहिलेको अमेरिका ट्रम्प चरित्र नै अंगिकार गरिरहेजस्तो देखिन्छ । त्यसको छिनोफानो गर्न आगामी नोभेम्बर ५ मा हुने अमेरिकी राष्ट्रपतिको चुनावको परिणाम पर्खनुपर्ने हुन्छ ।

नेपालका लागि अमेरिकाको भन्दा पनि अहिलेका लागि त भारतको उदाहरण बढी सान्दर्भिक होला । भर्खरै भारतमा आमनिर्वाचन सम्पन्न भएको छ । ९० प्रतिशत हिन्दूहरू बसोबास गर्ने देशमा हिन्दूहरूकै मसिहा भनेर धेरै थुतुनो चलाउने नरेन्द्र मोदीलाई जनताले उनको सक्कली रूप ऐनामा देखाइदिए ।

बितेका दुई आमनिर्वाचनमा बहुमतले विजयी भारतीय जनता पार्टीले यसपटक सामान्य बहुमत पनि गुमायो । यो हारको पछाडि अरू तमाम कारण भए पनि मूलकारण मोदीको थुतुनो नै हो । चुनावका दौडान उनको थुतुनो यति तुच्छ किसिमले चल्यो कि उनले के भन्न हुने र के भन्न नहुने तमाम सीमाहरू नै बिर्से । उनले जिब्रोमा लगाम लगाउन चाहेनन् वा बिर्से, त्यो उनी नै जानुन् । तर, उनको थुतुनो यसपटक धेरै चल्यो, यो देखेर उनका अनुयायीहरू पनि थुतुनो चलाउने प्रतिस्पर्धामा उत्रे ।

यो प्रतिस्पर्धा यति भद्दा थियो कि स्वयं हिन्दूहरू नै मोदीलाई पाठ पढाएर हिन्दू मर्यादा कायम राख्नुपर्ने निर्णयमा पुगे । त्यसैको परिणाम भारतीय जनता पार्टीको ४०० पारिको लक्ष्य बोकेको बेलुनको हावा नमज्जाले खुस्क्यो ।

अब नेपालको कुरा गरौँ । नेपालमा पनि थुतुनो र … चलाउने नेताहरूको कमी छैन । तर, नेपालमा थुतुनो चलेको सजिलै देखिए पनि … चलेको कुरा संवेदनशील मानिन्छ र त्यति बाहिर आउँदैन । कृष्णबहादुर महरा, महेश बस्नेत, ऐन महरा यस्तो हर्कतमा मुछिएका पछिल्ला सार्वजनिक नामहरू हुन् । प्रचण्ड दाहिना नहुँदा महराको राजनीति सकियो भने ओली दाहिना हुँदा बस्नेत र महरा ‘गौरवशाली’ एमाले पार्टीका केन्द्रीय सदस्य नै छन् ।

नेपालमा थुतुनो चलाउने नेताहरूमा पुराना ओली र नयाँ रवि लामिछानेको जोडा छैन । यी दुवैको लागि वरदान र अभिशाप दुवै थुतुनो हो । पदमा हुँदा होस् वा नहुँदा, यिनीहरूको थुतुनो चलाइरहेकै हुन्छ । थुतुनो चलाएरै हासिल गरेको उपलब्धि थुतुनो चलाएरै माटोमा मिलाइरहेका हुन्छन् । रविले पछिल्लो पटक संसदमा सहकारी प्रकरणमा नराम्ररी थुतुनो चलाएका थिए, अहिले त्यसको चर्को मूल्य तिर्न रक्षात्मक अवस्थामा छन् । रविका शुभचिन्तकहरूलाई पनि उनको थुतुनो बढी नै चलेको लागिसकेको छ । शायद रविलाई पनि यसको आभास भएको हुनुपर्छ ।

तर, ओलीको समस्या अर्कै छ । ओली आफ्नो बोलीमा लगाम लगाउनै सक्दैनन्, उनको बोली यति दूर्क्ष्य छ कि कतिपय बेला उनको बोली सुन्दा नेपालको पूर्वप्रधानमन्त्री भइसकेको नेकपा एमालेको अध्यक्षले बोलेको हो कि एउटा रक्सी खाएर होश गुमाएको जड्याहाले पनि त्यति तल्लोस्तरमा ओर्लिएर बोल्दैनन् । होस् सम्हालेर बोल्छन् । धन्न उनी अहिलेसम्म तथानाम मात्र बोलिरहेका छन् सुब्बिनी कान्छीजस्तो छाडा शब्द भने बोलेका छैनन् ।

सत्य के हो भने ओली कहाँ के बोल्छन्, सुरमा बोल्छन् कि बेसुरमा बोल्छन्, जो कोहीलाई भेउ पाउनै गाह्रो हुन्छ । मनलागी बोल्ने उनको एक किसिमको बानीभन्दा पनि रोग नै हो । बोल्दै जाँदा के के बोल्छन्, आफैँलाई थाहा हुँदैन । ओलीको यो जे पायो त्यही बोल्ने फ्लोलाई अरूले कन्ट्राफ्लो दिइरहेका हुन्छन् । फरक यति मात्र हो कि कन्ट्राफ्लो दिने पात्रहरू फेरिरहन्छन् ।

माधव नेपाल, प्रचण्ड, रवि लामिछाने यतिबेला ओली–कित्तामै भएकाले त्यतातिर फ्लो–कन्ट्राफ्लो छैन । गगन थापा र विश्वप्रकाश शर्मासँग एक किसिमकको फ्लो–कन्ट्राफ्लोल चलिरहेकै हुन्छ ।

पछिल्लो समय ओलीको फ्लोलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले मज्जैले कन्ट्राफ्लो दिइरहेका छन् । उनीहरूको यो फ्लो–कन्ट्राफ्लो रोचक मोडमा पुगेको छ । एक किसिमले हेर्ने हो गिरिबन्धु टी स्टेट प्रकरणमा नीतिगत भ्रष्टाचार गरेका ओलीलाई बालेनको कन्ट्राफ्लो महँगो परेको छ । ओली र उनका जोजोम्यानहरू मुखै छाड्ने अवस्थामा पुगेको पछिल्लो अवस्थाले त्यसको गम्भीरता दर्शाउँछ ।

आखिर ओली किन बोलीमा लगाम नलगाई बोलिरहेका छन् त ? यसको उत्तर खोज्न डा. गोविन्द केसीले एकपटक भनेको कुरा सम्झनुपर्ने हुन्छ । उनले भनेका थिए ओली मेक्लोमेनको सिकार भएका छन् ।

चिकित्सकीय भाषामा मेक्लोमेनको बारेमा यस्तो लेखिएको पाइन्छ, ‘कुनै पनि अंग प्रत्यारोपण गर्दा शरीरको प्रतिरोधात्मक शक्तिले त्यसलाई बाहिरी वस्तु ठान्दै त्यसविरुद्ध संघर्ष गर्न खोज्छ । यस क्रममा शरीरको प्रतिरोधात्मक शक्ति कम गरी प्रत्यारोपित नयाँ अंग शरीरमा अभ्यस्त गराउने औषधि प्रयोग गरिन्छ ।

मिर्गौला प्रत्यारोपणपछि ओलीले इमिनोसस्प्रेस्यान्ट नामक त्यस्तो औषधि सेवन गर्दै आएका छन् । यो औषधि एक किसिमको ड्रग्स नै हो, जसले आफ्नो सामर्थ्यभन्दा बढी गर्न सक्छु भन्ने भ्रम पैदा गरिदिन्छ । चिकित्सकीय भाषामा त्यसलाई मेक्लोमेन भनिन्छ ।

ओलीको पछिल्लो व्यवहार हेर्दा उनी मेक्लोमेनकै सिकार भएजस्तो देखिन्छ । उनी एकजना सामान्य मानिसले गर्ने स्वाभाविक कामभन्दा पनि अस्वाभाविक मानिसले गर्ने खालका गतिविधि गरिरहेका छन् । अहिले ओलीसँगै मुलुक पनि मेक्लोमेनको सिकार भैरहेको छ । किनकि, गतिको सामान्य नियमअनुसार पनि ओलीको हरेक क्रियामा अरूले पनि त्यही तहको प्रतिक्रिया गर्नुपर्ने हुन्छ, त्यसो हुँदा मुलुक दोहोरो मेक्लोमेनको सिकार हुन पुगेको हो । आमसञ्चारको भाषामा भन्दा फ्लो र कन्ट्राफ्लोको स्थितिले यस्तो अवस्था सिर्जना भएको हो ।

जे होस् यतिबेला मुलुक ओलीमय अर्थात् मेक्लोमेनमय भएको छ । उनले नेपालीको नौ दिनमा नौलो बीस दिनमा बिर्स्यो भन्ने समस्याबाट भरपूर फाइदा लुट्दै हुनै नसक्ने कुरा फ्लो गराएर अरूलाई पनि त्यही गतिमा कन्ट्राफ्लोमा उतारेका छन् । प्रकारान्तरमा, देश ओलीमेनिया र ओलीफोबियामा गरेर ठाडो चिरामा दुई फग्ल्याटा भएको छ ।

तर, यो अवस्था ओलीका लागि त अहितकार छ नै, उनको ‘ओमाले’पार्टीको स्वस्थ भविष्यका लागि पनि सर्वथा अनुचित छ । गोदी मिडिया चलाएर बोलीमा लगाम नलगाउँदा मोदी र उनको दल भाजपाले भारतमा जस्तो करारी हार बेहो¥यो, ओली र उनका जोजोम्यानहरू पनि यही दिशा र दशामा अगाडि बढ्ने हो भने २०८४ मा उनीहरूको पनि त्यही हालत हुनेछ । मोदी त प्रचण्ड बहुमतबाट ताछिएर गठबन्धन सरकारको अवस्थामा झरे, एमाले प्रमुख प्रतिपक्षबाट कहाँ पुग्ने हो, उनीहरूले नै जान्ने कुरा हो ।

नेपालीमा भनाइ नै छ, अति गरे खती हुन्छ । ओलीका लागि पनि यही नियम लागु हुन्छ । उनले मोदीले भ्रम पालेजस्तै चमत्कारिक छु भन्ने भ्रम नपाले हुन्छ । आगे उनकै मर्जी ।

प्रतिक्रिया दिनुहोस्