Logo
Logo

कोरोना जितेर घर फर्किइन् प्रसिद्धी


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ६ बैशाख । कोरोेना भाइरस (कोभिड–१९) संक्रमित काठमाडौंकी १९ वर्षीया प्रसिद्धी श्रेष्ठ निको भएर डिस्चार्ज भएकी छन् । उनीमा कोरोना पुष्टि भएपछि १० चैतमा टेकुस्थित शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनमा वार्डमा भर्ना भएकी थिइन् ।
टेकु अस्पतालका प्रवक्ता डा. अनुप बाँस्तोलाका अनुसार उनी शनिबार बिहान डिस्चार्ज भएकी हुन् । सबै रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको स्वास्थ्य मन्त्री भानुभक्त ढकालका प्रेस सल्लाहकार माधवप्रसाद तिवारीले जानकारी दिएका छन् । ती युवती ४ चैतमा फ्रान्सबाट कतार हुँदै नेपाल आएकी थिइन् । फ्रान्सबाट कतारको दोहासम्म सँगै आएको भियतनामी साथीले फोन गरेर आफूलाई संक्रमण रहेको बताएपछि परिवारका सदस्यले उनलाई टेकु अस्पताल ल्याएका थिए ।
नेपालमा कोरोना भाइरस पुष्टि भएपछि उपचार गरेर निको हुने दोस्रो व्यक्ति हुन् । यसअघि एक जना कोरोना पुष्टि भएर पनि निको भइसकेका छन् । तीन साताभन्दा बढी अस्पतालमा बिताएपछि डिस्चार्ज भएकी श्रेष्ठले कोरोना बिरामीको उपचारका लागि आफ्नो रगतको प्लाज्मा दिन तयार भएको बताएकी छन् ।
हाल टेकु अस्पतालमा चैत १२ गते कोरोना पोजिटिभ देखिएका धादिङका युवक उपचारत छन् । उनी युएईबाट चैत ६ गते नेपाल आएका थिए । शुक्रबार एकैदिन नेपालमा कोरोना संक्रमित १४ जना थपिएका थिए । हाल नेपालमा कोरोना संक्रमितको संख्या ३० छ पुगेको छ । जसमा अब २८ जना विभिन्न अस्पतालमा उपचाररत छन् । उनीहरुको पनि स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्