Logo
Logo

गृहमन्त्रीज्यू, पिक एण्ड ड्रप सबै तिर आवश्यक


- दृष्टि न्युज/संवाददाता



केही समय देखि काठमाण्डौंको रत्नपार्क वरपर पिक एण्ड ड्रप नीति लागु गरिएकोछ । यसवाट ट्राफिक जाम केही भएपनि कम गर्न मद्दत गरेकोछ । यस्तो पिक एण्ड ड्रप नीति वास्तवमा सबैतिर लागु गर्न पर्दछ ।

शुरुमा रत्नपार्क वरपर पिक एण्ड ड्रप नीति लागु गर्दा सार्वजनिक सवारी साधन रोक्ने पुराना केही स्टपहरु हटाएकोले यात्रुहरुलाई केही समस्या पर्न गएको थियो । तर अहिले वानी पर्न थालेकोछ र राम्रो भएकोछ ।

वास्तवमा सडकमा नै बस पार्क राख्नु सही थिएन । मूल सडकमा नै सार्वजनिक यातायातका साधनहरुले एक लेन पार्क वनाउन दिनु सही होइन । मूल सडकहरुमा पिक एण्ड ड्रप गर्न मात्रै पाउने नवनाई ट्राफिक जाम कम हुनेछैन ।

उपत्यकाका सबै मूल सडकमा पिक एण्ड ड्रप नीति लागु गर्दा मूल सडकहरु सबैमा एक लेन थपे वरावर हुन्छ । किनभने यात्रु कुरेर वसेका सार्वजनिक सवारी साधनहरुले एक लेन मूल सडक ओगटेका हुन्छन् । जसले गर्दा साँघुरो वाटो झन् साँघुरो हुने गर्दछ ।

सबै मूल सडकहरुमा यात्रु कुरेर वस्न नपाउने र पिक एण्ड ड्रप मात्र गर्न पाउने नीति लागु गर्ने हो भने ट्राफिक जाम कम हुनाको साथै गन्तब्यमा चाँडो पुगिने हुन्छ । जस्तै भक्तपुरवाट रत्नपार्क आउन २० वटा भन्दा वढी ठाउँमा गाडि रोकिने हुन्छ । प्रत्येक स्टपमा २ मिनेट मात्रै यात्रु कुर्ने गरेपनि ४० मिनेट ढिला हुन्छ । यस्तै समस्या सबै रुटमा रहेकोछ । १० मिनेटमा पुगिने ठाउँ प्रत्येक स्टपमा यात्रु कुर्न रोक्दा ३० मिनेट लाग्ने गरेकोछ ।

पिक एण्ड ड्रप लागु गर्दा चालक र गाडि व्यवसायीहरुको चिन्ता यात्रु कम चढ्ने हुन्छ कि भन्ने हो । तर वास्तविकता अर्को छ । यात्रीहरु उपत्यकामा घटेको छैन, वढेको नै छ । पहिलो गाडि छिटो हिँडेपछि अर्को गाडिले वाँकि यात्री पाउने नै हुन्छ । सबै छिटो हिँड्ने हो भने यात्रीहरु कम होइन झन् वढी पाउने हुन्छ सार्वजनिक सवारी साधनले । किनभने अरु साधन भन्दा यो नै सस्तो, छिटो हृुन्छ ।

तसर्थ पिक एण्ड ड्रप रत्नपार्क वरपर मात्र होइन उपत्यकाका सबै सडकहरुमा लागु गरिनु पर्दछ । यो हेर्दा सानो सुधार जस्तो लाग्छ, तर यसले लाखौं यात्रीहरुलाई फाइदा पुग्नेछ । यसतर्फ सरकारको ध्यान जानु पर्ने हो ।

रवीन्द्र श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्