Logo
Logo

‘खनालको हर्कतले सिंगो प्रहरी बदनाम’


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १३ बैशाख ।
पदमा रहँदा सर्वेन्द्र खनालको छवी हिरो प्रहरी अधिकृतको जस्तो थियो । अपराधीविरुद्ध चर्का कुरा गर्थे । कतिपय अवस्थामा काम पनि राम्रो गरेका थिए ।


तर, उनलाई नजिकबाट चिनेका प्रहरी अधिकृतहरु भने उनी दोहोरो चरित्रका व्यक्ति भएको बताउँछन् । ‘आफ्नो स्वार्थका लागि उनी जे पनि गर्न तयार हुन्छन्,’ ती प्रहरी अधिकृत भन्छन्,‘बर्दीको आवरणमा उनले गरेका अपराधको लामै सूचि छ ।’

खनाल महानिरीक्षक पदबाट अवकाश पाएको साढे दुई महिना भएको छ । शक्ति र चर्चाबिना उनी बाँच्न नसक्ने उनका सहयोगीहरु बताउँछन् । त्यसकारण अहिलेको सत्तालाई खुशी बनाएर कतै नियुक्ति खाने चक्करमा लागेका थिए । त्यसका लागि जिल्लावासी सांसद किसन श्रेष्ठसँग उनको सहकार्य भयो । श्रेष्ठ विवादास्पद पृष्ठभुमी भएका नेता हुन् । पैसाकै बलमा चुनाव जितेको आरोप उनीमाथि लाग्ने गरेको छ ।

अर्का विवादास्पद पृष्ठभुमी भएका सांसद महेश बस्नेतसँग मिलेर समाजवादी पार्टी फुटाउने सरकारको योजनामा उनी गत बुधबार महोत्तरी गएका थिए । सांसद सुरेन्द्र यादबसँग उनको पुरानो चिनजान भएकाले फकाएर ल्याउन लागेका थिए । आफुलाई खनालले नै अत्याधिक कर गरेको यादबले बताएका छन् ।

यो घटनाले खनालको त बेइज्जती भएको छ नै साथै सिंगो प्रहरीमाथि दाग लागेको छ । ‘एकातिर अवकाशपछि यस्तो गर्ने व्यक्तिले पदमा हुँदा के के गरे भनेर प्रश्न उठेको छ,’ एक डिआईजी भन्छन्,‘अर्काेतर्फ प्रहरीहरु असाध्यै खराब हुन्छन् भन्ने सन्देष जनतामा गएको छ, जनतामा बढेको यस्तो नकारात्मक छाप हटाउन हामीले धेरै दुःख गर्नुपर्ने हुन्छ ।’

पूर्व डिआईजी हेमन्त मल्ल पनि यो घटनाले वहालवाला प्रहरीमाथि समेत प्रश्न उठेकाले यसमा छानबिन हुनुपर्ने बताउँछन् ।
प्रतिपक्षी नेपाल कांग्रेस तथा नेकपाकै नेताहरुले कानूनी कारबाहीको माग गरेका छन् ।

राज्यका निकायले अनुसन्धानका क्रममा बाहेक कुनै पनि नागरिक नियन्त्रण गर्नु गोपनीयताको हक हनन हो। भर्खरै सेवा निवृत्त भएका पूर्वआईजीपी खनालले सुरक्षाकर्मी दुरुपयोग गरी गोपनीयताको हक अतिक्रमण गरेका छन्। ‘राज्यको स्रोतसाधन दुरुपयोग गरी गोपनीयताको हक अतिक्रमण गर्नु गलत हो। यो संवैधानिक हकमाथि अतिक्रमण हो,’ वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेलले भने, ‘जोसुकै नागरिकको गोपनीयतामाथि प्रहार हुनु गलत हो। मुलुकका सांसदजस्तो व्यक्तिको त यो हालत छ भने झन् सर्वसाधारणको हाल के होला?’
अपहरणमा परेका सांसद यादबले आफुमाथि धम्की आइरहेको र हत्या समेत हुनसक्ने बताएका छन् । प्राइम टेलिभिजनको अन्तर्वातामा उनले रुँदै आफुमाथि धम्की आइरहेको बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्