
काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले दुई ठुला दल एकै ठाउँमा उभिएकाले उनिहरुलाई गल्ती गर्ने छुट नभएको बताएका छन् ।
वीपी कोइरालाको ४२औँ स्मृति दिवसको अवसरमा वीपी स्मृति सामुदायिक सहकारी अस्पतालले काठमाडौंमा आयोजना गरेको स्मृति सभालाई सम्बोधन गर्दै नेता कोइरालाले अब जनताले सुशासनको अनुभुति हुने गरि सरकारले काम गर्नुपर्ने बताए ।
अहिलेको गठबन्धनले सुशासन र राजनीतिक स्थायित्व दिन्छ भन्ने सन्देश दिएकोले कांग्रेस र एमाले सचेत हुनुपर्नेमा पनि उनको राय थियो । देशको अहिलेको परिस्थिति अत्यन्तै खराब रहेको बताउँदै कोइरालाले भने– ‘अब पनि दुई ठुला दलले गल्ती गरे र जनताको भावना बुझ्न सकेनन् भने देश नै कोल्याप्स हुन पनि सक्छ ।’
आफ्नो पार्टी सरकारमा छ त्यसैले उनिहरुले गरेका सबै काम ठिक छ भनेर चुप लागेर नबस्न नहुने उनको तर्क थियो ।
कांग्रेस नेता कोइराला वीपी कोइरालाको सिद्धान्त अनुसार कांग्रेसका नेता एवं कार्यकर्ता हिड्न नसकेको बताए ।
‘हिजो पश्चिमको साथीलाई चोट लाग्दा पुर्वको साथीलाई दुख्थ्यो । पुर्वको साथीको पिडाले पश्चिमको साथीलाई पोल्थ्यो, हामी आफुलाई वीपीका अनुयायी भन्छौं तर स्वार्थमा परेर आफू–आफुमै लड्छौं । वीपीले त यस्तो कहिल्यै सिकाउँनु भएन । हिजोको त्यो आत्मियता कहाँ गयो ?’, कोइरालाले प्रश्न गरे ।














