Logo
Logo

वामदेवलाई प्रधानमन्त्री बनाउने ओलीको प्रस्तावले नेकपामा तरंग


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १८ बैशाख ।
आफु पार्टीभित्र अल्पमतमा पर्ने देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको विवादलाई नयाँ मोडमा पुर्याएका छन् । विवाद मिलाउन उनले नेता वामदेव गौतमलाई प्रधानमन्त्री तथा माधव कुमार नेपाललाई अध्यक्ष दिने प्रस्ताव गरेका छन् ।


बुधबारको सचिवालय बैठकमा उनले वामदेवलाई यस्तो प्रस्ताव गरेका हुन् । कोरोनाको समस्या सकिएपछि आफुले राजिनामा दिने र संविधान संशोधन गरेर भएपनि वामदेवलाई प्रधानमन्त्री बनाउने उनको प्रस्ताव थियो । उनको प्रस्तावलाई ईश्वर पोखरेल, विष्णु पौडेलले साथ दिएका छन् । प्रचण्ड, माधव नेपाल र झलनाथ खनालले विरोध गरेका छन् । अर्का सचिवालय सदस्य रामबहादुर थापाले प्रधानमन्त्रीले राजिनामा दिन नहुने बताएका छन् ।

प्रचण्ड र माधव नेपाल समूह ओलीलाई प्रधानमन्त्रीबाट हटाउने अभियानमा छ । बुधबारको बैठकमा दुवैले ओलीलाई राजिनामा दिन सुझाव दिएका थिए । स्थायी कमिटि बैठक बोलाउन समेत उनीहरुको माग थियो । ओलीको प्रस्तावपछि वामदेव समेत दंग परेका छन् । यस्तो अफर आउँला भनेर आफुले सपनामा पनि नसोचेको उनको भनाई थियो ।

तर, वामदेवलाई प्रधानमन्त्री हुन भने सहज छैन । उनी सांसद छैनन् । चुनाव हारेर राष्ट्रियसभामा मनोनित व्यक्ति सरकारमा जान नसक्ने उल्लेख छ । ओलीले यसका लागि संविधान संशोधन गर्न सकिने समेत बताएका छन् ।
नेकपाको अर्काे सचिवालय बैठक २० बैशाखमा बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्