Logo
Logo

आज चीनको चाङ्सा उड्दै हिमालय एयरलाइन्स


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, १८ बैशाख । हिमालय एयरलाइन्सले आज चीनको चाङ्सा शहरमा चार्टर्ड उडान गर्ने भएको छ । चाङ्साबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिन हिमालयको न्यारोबडी जहाज आज साँझ ५ः४५ बजे बुुहान उड्ने तालिका रहेको हिमालय एयरलाइन्सले जनाएको छ ।
चीनबाट स्वास्थ्य सामग्री ल्याउनका लागि चार्टर्ड उडानको तयारी गरिएको कम्पनीका सेवा सुधार शाखाकी प्रमुख उज्ज्वला दलीले जानकारी दिए । लकडाउनको अवधिमा हिमालयको चीनमा यो दोस्रो चार्टर्ड उडान हो । यसअघि वैशाख १४ गते चीनको ग्वाङ्जाओमा चार्टर्ड उडान गरेको थियो ।
चीनबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिनका लागि कार्गो उडानका लागि नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति लिएको हिमालय एयरलाइन्सले जनाएको छ । हिमालयको जहाज ग्वान्जाओबाट स्वास्थ्य सामग्री लिएर शुक्रबार बिहान ६ः३० बजे काठमाडौँ आइपुग्नेछ ।

लकडाउनको अवस्थामा चीनको ग्वान्जाओबाट स्वास्थ्य मन्त्रालय तथा विभिन्न व्यवसायीले जहाज चार्टर्ड गरी स्वास्थ्य सामग्री ल्याइरहेका छन् । नेपालको निजी क्षेत्र र चीनको संयुक्त लगानीको हिमालयले चीनको बेइजिङ र छोङ्गिनसहित अन्य मुलुकका नौ गन्तव्यमा उडान भर्दै आएको छ ।
यसअघि चैत १६ र २० गते नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाजले चार्टर्ड उडानमार्फत ग्वान्जाओबाट स्वास्थ्य सामग्री ल्याइएको थियो । पछिल्लोपटक गत वैशाख ५ गते निगमका दुई वाइडबडी जहाजले ग्वान्जाओबाट स्वास्थ्य सामग्री ल्याएका थिए ।

प्रतिक्रिया दिनुहोस्