काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनायो । आइतबार १ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य सोमबार ३ सय रुपैयाँले बढेर एक लाख ५० हजार पुग्यो । यो मूल्य हालसम्मकै उच्च हो ।
पछिल्लो २० वर्षको अवधिमा सुनको मूल्य प्रतितोला एक लाख ३७ हजार बढीले वृद्धि भएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दै गएपछि त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आर्थिक वर्ष २०६१ मा सुनको मूल्य १२ हजार ६ सय ८ रुपैयाँ थियो । २० वर्षको अवधिमा अवधिमा प्रतितोलामा एक लाख ३७ हजार ३ सय ९२ रुपैयाँले बढेको हो ।
०६५ मा २९ हजार ८०१ रहेको सुनको मूल्य ०७० मा ६३ हजार तीन सय पुग्यो । त्यसपछिको पाँच वर्षको अवधिमा सुनको बढेन । ०७५ सम्म सुनको मूल्य ६३ हजार ३ सयमै कायम रह्यो । त्यसपछि भने सुनको मूल्य आकासिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका पूर्वअध्यक्ष तेजरत्न शाक्यले २०७६ मा विश्वमा महामारीका रूपमा फैलिएको कोरोना भाइरस र रुस–युक्रेन युद्धका कारण विश्व बजारमा सुनको मूल्य अकासिँदै गएका हो ।
विश्वमा फैलिएको कोरोना महामारीपछि विश्वका धनी लगानीकर्ता सुनमा आकर्षित भएकाले यसको मूल्य बढेको उनको भनाइ छ । सुरक्षित लगानीको क्षेत्र सुन मानिएकाले पनि यसतर्फ लगानीकर्ता आकर्षित हुँदा मूल्य बढ्न गएको उनको भनाइ छ ।














