काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी छोटो समयमा नै उदाएको पार्टी हो । ७९ सालको आम निर्वाचन भन्दा ६ महिनाअघि मात्रै स्थापना भएको यो पार्टीले निर्वाचनमा अप्रत्याशित नतिजा हासिल गर्यो । संसद्को चौथो दल भए पनि पटकपटक सत्ता साझेदारी गर्दै सरकारमा पुगेको रास्वपा अहिले भने सरकार बाहिर छ ।
कुनै न कुनै स्टन्ट गरेर चर्चामा आउन चाहिरहने रास्वपाले अहिले पुनः अनौठो अभियानमा छ । गत आमनिर्वाचनबाट चौथो शक्तिको रूपमा उदाएको रास्वपासँग धेरैका धेरै आशा थियो । तर, अहिले रास्वपा र तीनका नेताहरू स्टन्टमै मस्त छन् । पछिल्लो उदाहरण हो– सार्वजनिक यातायात चढ्ने निर्णय । गत शुक्रबार र शनिबार रास्वपाले क्लोज क्याम्पमा विभिन्न समूह बनाएर छलफल गरेको थियो ।
कार्यशाला सकिँदै गर्दा सभापति रवि लामिछानेले सांसद र केन्द्रीय नेताहरू पाँच दिनसम्म सार्वजनिक यातायात चढ्ने प्रस्ताव राखेका थिए । सभापतिको प्रस्तावमा सबैले सहमति जनाएपछि निजी सवारीसाधन पार्टी कार्यालयको पार्किङमा थन्क्याएर शनिबार साँझैबाट नेताहरू सार्वजनिक यातायातमा हिँड्न थालेका छन् । सार्वजनिक यातायात सुधारका लागि आवश्यक नीति बनाउन पहिला समस्याको पहिचान गर्नुपर्ने भन्दै रास्वपा नेताहरूले यो अभियान चलाएका हुन् ।

उक्त अभियान अन्तरगत बुधबारसम्म रास्वपाका नेताहरू सार्वजनिक यातायात चढेरै आफ्नो काममा निस्कनेछन् । सभापति लामिछाने, उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्ले, सांसदहरू डाक्टर तोसिमा कार्की, निशा डाँगी लगायतका नेताहरू सार्वजनिक यातायात चढेर आफ्नो गन्तव्यमा पुग्ने गरेका छन् ।
तर, रास्वपाको यो अभियानलाई धेरैले राजनीतिक स्टन्टकै रूपमा लिएका छन् । रञ्जु दर्शनाले रास्वपाले यस्तो नाटक नरचन आग्रह गरेका छन् ।
रास्वपाका नेताहरुले भने समस्या बुझ्न ५ दिन सार्वजनिक सवारीमा चढ्ने अभियान पार्टीले चलाउँदा खिसीटिउरी गरेको गुनासो गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शिव नेपाली भने– ‘नागरिकले सास्ती खेपेको एउटा क्षेत्र हो सार्वजनिक यातायात, राज्यका उच्च अंग, तहका उच्च अधिकारीहरूले प्रयोग नगर्ने भएकाले होला सार्वजनिक यातायातको सुधारमा उनीहरूको चासो छैन । न सहज सेवा न सुरक्षा न यात्रुमैत्री व्यवहार, दुर्घटनाको दर र मृत्युमा पनि विभेद यस्तो लाग्छ सार्वजनिक यातायात चढ्ने यात्रुप्रति राज्यको कुनै दायित्व नै छैन ।’
यसअघि पनि रास्वपाले यस्ता थुप्रै अभियान चलाएको थियो । तीन अभियानहरूले केही दिन चर्चा पाएपनि प्रगति भने शून्य नै रह्यो । रास्वपा सभापति लामिछानेले गत पुसमा नारायणगढ–बुटवल सडक समयमै निर्माणका लागि ‘दबाब यात्रा’ गरेका थिए ।
पुस नौ गते नारायणगढबाट पैदल यात्रा सुरु गरेका उनी पुस ११ गते पार्टीका नेता, कार्यकर्तासहित बुटवल पुगेका थिए । ‘दबाब यात्रा’ गरेको दुई महिनापछि रास्वपा आफै सत्तामा पुग्यो । तर, सत्तामा रहुन्जेल रास्वपाले नारायणगढ–बुटवल सडकबारे न एक शब्द बोल्यो न त सडक नै बन्यो । रवि लामिछानेको दबाब यात्रा स्टन्टमै सीमित रह्यो ।
यस्तै रवि लामिछानेले विदेशमा रहेका युवालाई स्वदेशमा रोजगारी, ‘ब्लू बस’ र मोबाइल क्लिनिक पनि सुरु गरेका थिए । दोस्रोपटक सांसद निर्वाचित भएको एक सय दिन पुगेको अवसरमा उनले एक सय जनालाई रोजगारी व्यवस्था गरेको घोषणा गरेका थिए ।
त्यसपछि फेरि उपप्रधान तथा गृहमन्त्री समेत बनेका लामिछाने कतिलाई रोजगारी दिए भन्ने तथ्याङ्क अहिलेसम्म खुलाएका छैनन् । बरु रवि निर्वाचित जिल्ला चितवनका किसानहरूले उचित मूल्य नपाएको भन्दै कहिले कुखुरा, कहिले अण्डा, कहिले दूध त कहिले तरकारी सडकमा फालेर बारम्बार प्रदर्शन गरे । तर, त्यसलाई बजारीकरण गर्नेबारे रविले चासो नै दिएनन् ।
सय दिन पुगेकै अवसरमा रविले ‘ब्लू बस’ र ‘मोबाइल क्लिनिक’ सञ्चालनमा ल्याएका थिए । त्यो पनि विवादित बन्यो । कानुन बनाउने थलोमा पुगेका रविले प्रक्रिया नै पूरा नगरी सवारीको रंग फेरेर कानुनकै उल्लंघन समेत गरेका थिए । यस्ता अभियानले रास्वपाका नेताहरूमा सस्तो लोकप्रियताको होडबाजी मात्रै देखाउँछ । यसले ‘जुनै जोगी आएपनि कानै चिरेको’ भन्ने उखानलाई चरितार्थ गरेको छ ।
राजनीतिमा ‘स्टन्ट’ पुरानो भइसक्यो । ‘अरूभन्दा हामी फरक छौँ’ भन्दै ‘नेक्स्ट लेबल’को स्टन्ट देखाएर अहिलेको जमानामा भ्रम चिर्न मुस्किल छ । ‘स्टन्ट’कै भरमा जनताको मन जित्ने दिवास्वप्ना जसले देख्छ, उ सकिँदै छ भनेर बुझ्नलाई गाह्रो छैन ।














