काठमाडौं । नेपालको एकमात्र निजी अन्तर्राष्ट्रिय एयरलाइन्स हिमालयले आउँदो २० अगस्टदेखि कुवेतमा आफ्नो सीधा उडान पुनः सुरु गर्ने भएको छ । यात्रुहरूको आवश्यकता पूरा गर्ने प्रतिबद्धताअनुसार पुनः सीधा उडान सञ्चालन गर्न लागेको एयरलाइन्सले जनाएको छ ।
‘कुवेतमा कार्यरत र बसोबास गर्ने नेपालीहरूको अत्याधिक मागलाई सम्बोधन गर्दै हिमालय एअरलाइन्स्ले आफ्नोे सीधा उडान पुन ः सञ्चालन गर्न लागेको हो’ एयरलाइन्सद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

यस्तै, काठमाडौँ–कुवेत–काठमाडौँमा पुनः सुरु गरिएको यस उडानले दुई राष्ट्रका नागरिक बीचको सम्बन्धलाई मजबुत बनाउने, पर्यटन र व्यापारलाई प्रवर्धन गर्न मद्दत र प्रोत्साहन गर्ने एयरलाइन्सको विश्वास छ । एयरलाइन्सले ग्राहकका लागि सेवा सुविधालाई अझ सुदृढ बनाउनका लागि कुवेतका लागि जनरल सेल्स एजेन्ट (जीएसए) पार्टनरको रूपमा सिजर्स ट्राभल गु्रपलाई नियुक्त गरिएको जनाएको छ ।
सुरुवातमा काठमाडौँ–कुवेत–काठमाडौँ हवाई मार्गमा हप्तामा एक उडान सञ्चालन गर्ने र थप मागको आधारमा उडानहरू थप्ने योजना रहेको एयरलाइन्सले जनाएको छ ।
हिमालय एअरलाइन्सले नेपाललाई विश्वसँग जोड्न र प्रवर्धन गर्न प्रतिबद्ध रहेको जनाएको छ । ‘काठमाडौँ–कुवेत मार्गमा उडान पुनःस्थापना हाम्रो उक्त लक्ष्यको प्रमाण हो । हामी हाम्रा यात्रुहरूको यात्रा सहज र आरामदायी बनाउनका साथै नेपाल र कुवेतबीचको बलियो सम्बन्धलाई प्रगाढ तुल्याउन तत्पर छौँ’ हिमालय एयरलाइन्सले भनेको छ ।
एयरलाइन्सले कुवेतको लागि बुकिङ खुला रहेको र यात्रुले हिमालय एअरलाइन्स् र कुवतेमा सिजर्स ट्राभल गु्रपको सेल्स अफिस वा नजिकैको ट्राभल एजेन्सीमा सम्पर्क गर्न सक्ने जनाएको छ ।














