Logo
Logo

प्रहरीमा पुग्यो अपहरणको किटानी जाहेरी, सांसद र पूर्व आईजिपीमाथि अनुसन्धान सुरु


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २६ बैशाख ।
जनता समाजवादी पार्टीका सांसद डा सुरेन्द्र यादबले दिएको अपहरणसम्बन्धि उजुरी जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले प्रहरीमा चलानी गरेको छ । प्रहरीले जाहेरी पाएपछि दर्ता गरेर अनुसन्धान सुरु गरेको छ ।


गत २२ बैशाखमा जिल्ला सरकारी वकिल कार्यालयले अपहरणको जाहेरी दर्ता गरेको थियो । सहन्यायधिवक्ता हरि रेग्मीका अनुसार भोलिपल्टै नै जाहेरी प्रहरीमा चलानीको निर्णय भइसकेको छ । काठमाडौं परिसरका अनुसार जाहेरी लिएर अनुसन्धान सुरु गरिएको छ ।
सांसद यादबले नेकपाका सांसदद्वय महेश बस्नेत र कृष्ण कुमार श्रेष्ठ(किसन) तथा पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध किटानी जाहेरी सरकारी वकिल कार्यालयमा दिएका थिए । प्रहरीले जाहेरी नलिएपछि उनले सरकारी वकिल कार्यालयमा दिएका थिए ।
फौजदारी अपराध(कार्यविधि) संहितामा प्रहरीले जाहेरी दर्ता गर्न नमाने सरकारी वकिल कार्यालयले दर्ता गरेर यथाशिघ्र प्रहरीमा पठाउन पर्ने उल्लेख छ । सोही अनुसार प्रहरीमा पठाउने निर्णय भएको हो । सरकारी वकिल कार्यालयले पठाएको जाहेरी दर्ता गर्न प्रहरी बाध्यकारी हुन्छ । गत १४ बैशाखमा डा.यादबसहित जनता समाजवादीका नेताहरु जाहेरी लिएर महानगरीय प्रहरी परिसर काठमाडौं गएका थिए । तर, महोत्तरीको कार्यक्षेत्र पर्ने भन्दै प्रहरीले जाहेरी लिन अस्वीकार गरेको थियो ।
कसरी हुन्छ अनुसन्धान ?
सरकारी वकिल कार्यालयले जाहेरी दर्ता गरेर पठाएपछि अनुसन्धान अघि बढाएर प्रहरीले त्यसलाई टुंगोमा पु¥याउनै पर्ने हुन्छ । सुरुमा अनुसन्धान अधिकृत तोकेर प्रहरीले प्रारम्भिक प्रमाणहरु संकलन गर्नेछ । जाहेरी र अन्य प्रमाणका आधारमा प्रहरीले जाहेरी परेका व्यक्तिलाई पक्राउका लागि अदालतमा अनुमति माग्नेछ । अदालतले पक्राउ पूर्जी जारी गरेमा पक्राउ गरी बयान लिने छ । बयान र प्रमाणहरु पर्याप्त भएमा सरकारी वकिल कार्यालयले मुद्दा चलाउने नत्र मुद्दा नचलाउने निर्णय गर्न सक्छ । अपहरणसम्बन्धि मुद्दाको अनुसन्धानको हदम्याद ६ महिना हुन्छ । प्रारम्भिक अनुसन्धानमा पर्याप्त प्रमाण नपुगेकामा सरकारी वकिल कार्यालयको रायमा प्रहरीले जाहेरी दरपीठमा राख्न सक्ने प्रावधान समेत छ ।
यो घटनामा मुद्दा चलाउन पर्याप्त आधार भएको अनुसन्धान अधिकृतहरु बताउँछन् । ‘कुनै पनि कार्य अपराध हुनका लागि अपराधिक मनसाय र अपराधी कार्य हुनु जरुरी हुन्छ,’ ती प्रहरी अधिकारी भन्छन्,‘यो केसमा दुवै कुरा प्रष्ट छन् । मनसाय पार्टी फुटाएर राजनीतिक फाइदा लिने छ । महोत्तरीबाट विभिन्न दबाब र प्रलोभनमा पारेर काठमाडौंसम्म ल्याउनु अपराधिक कार्य हो ।’
गत १० बैशाख सांसद र पूर्व प्रहरी महानिरीक्षक खनाल डा.यादबलाई लिन महोत्तरी गएका थिए । आफु नजाने बताउँदा पनि दबाब र प्रलोभनमा पारेर उनीहरुकै गाडीमा राखेर ल्याइएको उनले बताएका छन् । काठमाडौं मेरियट होटलमा राखिएको र बिहान आफु भागेको उनको जाहेरीमा उल्लेख छ । सांसद र पूर्व महानिरीक्षक खनालले भने राजीखुशीमै उनलाई काठमाडौं ल्याइएको दाबी गरेका छन् ।
यो घटनामा महोत्तरी प्रहरीले समेत सघाएको प्रदेश नम्बर २ का आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्र यादबले बताएका छन् । जसअनुसार महोत्तरी प्रहरीमाथि समेत छानबिनको माग भएको छ । दुई साता हुँदा पनि प्रहरीले अनुसन्धानमा चासो नदिदा प्रमाणहरु लोप हुन सक्ने जोखिम छ ।
काठमाडौं परिसरका अधिकांश प्रहरी भने यो जाहेरी दरपीठमा राख्ने पक्षमा रहेको स्रोत बताउँछ । सत्तारुढ दलका प्रभावशाली सांसद तथा आफ्नै पूर्व हाकिमविरुद्धको जाहेरी भएकाले उनीहरुले यसमा अनुसन्धान अघि बढाउन चासो दिएका छैनन् ।
पीडित सांसद डा.यादबले भने आफुमाथि सुरक्षा जोखिम रहेको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा समेत उजुरी दिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्