Logo

बन्दबन्दीकैबीचमा अर्थतन्त्रलाई क्रमशः चलायमान बनाइने : अर्थमन्त्री


Published On : 11 May, 2020

काठमाडौँ, २९ वैशाख । अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना भाइरसबाट जनताको जीवनरक्षाका लागि जारी बन्दबन्दीकैबीचमा अर्थतन्त्रलाई क्रमशः चलायमान बनाइने बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा पूर्वबजेट छलफलअन्तर्गत आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) सम्बन्धमा भएको छलफलपछि जवाफ दिँदै मन्त्री खतिवडाले अहिलेको पहिलो चुनौती जीवनरक्षा भएको र जीवनरक्षाकै लागि आर्थिक गतिविधिलाई पनि सँगसँगै अघि बढाउने दिशामा सरकारउन्मुख भएको बताए ।

मन्त्री खतिवडाले कृषि उत्पादनले बजार पाउनुपर्ने र स्थानीय तहलाई थप अधिकार दिने कुराहरुलाई स्वीकार गर्दै कोरोना जोखिमका समयमा प्रदेश र स्थानीय तह सक्रिय भई संघीयताको औचित्य पुष्टि गरेकाले तीन वटै तहका सरकारबीच समन्वय बढाउने गरी बजेटको प्रबन्ध गर्ने बताका छन् ।

अर्थमन्त्री खतिवडाले सांसदहरुले कोरोना संकटले प्रभावित भएको अर्थतन्त्रलाई माथि उठाउन कृषि क्षेत्रलाई प्राथमिकता दिन र स्वास्थ्य पूर्वाधारमा लगानी बढाउन दिएका सुझावलाई बजेट निर्माणका क्रममा मार्गदर्शनका रुपमा लिइने विश्वास व्यक्त गरे ।

मन्त्री खतिवडाले विदेशमा रहेका नेपालीलाई बेवारिसे हुन नदिने र कूटनीतिक माध्यमबाट आवश्यक सहयोग गरिने तर सीमा खोल्ने वा आवागमन गर्ने कुरा जोखमयुक्त हुने पनि बताए । अर्थमन्त्री खतिवडाले अरु क्षेत्रको विकाससँगै कृषिको सन्तुलित विकासको मार्गमा सरकारले अघि बढ्ने जानकारी दिए । राष्ट्रियसभाको अर्काे बैठक यही वैशाख ३१ गते बुधबार बिहान ११ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्