Logo
Logo

अख्तियारलाई प्रहरी प्यारो, २ डिएसपी र १२ इन्सपेक्टर थपियो


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३० बैशाख
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रहरीको दरबन्दी थप भएको छ । आयोगमा दुई डिएसपीसहित २० जना प्रहरीको नयाँ दरबन्दी थप गरिएको हो ।

दरबन्दी थप गर्ने आयोगको संगठन तथा व्यवस्थावन सर्वेक्षणको रिपोर्ट मन्त्रीपरिषद्को बैठकले गत साता स्वीकृत गरेको छ । जसअनुसार आयोगमा दुई डिएसपी, १२ इन्सपेक्टर, दुई सई, तीन हवल्दार र एक सिपाहीको दरबन्दी थप भएको हो । यससँगै आयोगमा प्रहरीको दरबन्दी तीन सय ३० पुगेको छ । आयोगको जम्मा जनशक्ति करिब नौ सय छ । तुलनात्मक रुपमा प्रहरीको काम बढी चुस्त भएपछि प्रहरी संख्या थपिएको आयोगका एक अधिकारीले बताए ।

कहिले कटौती, कहिले थप
आयोगमा प्रहरी नायब महानिरीक्षक(डिआईजी)को नेतृत्वमा प्रहरी महाशाखा छ । विगतमा अप्रेसनका काममा बढी प्रहरी खटिनेमा पछिल्लो समय अनुसन्धानमा समेत प्रहरीलाई जिम्मेवारी बढाउँदै लगिएको छ । प्रहरीसँग अपराध अनुसन्धानको अनुभव हुने र भ्रष्टाचारको अनुसन्धानमा पनि उनीहरुको अनुभव काम लाग्ने भएकाले प्रहरीलाई अनुसन्धानको जिम्मेवारीमा बढाउँदै लगिएको हो । विगतदेखि नै केही प्रहरी अधिकृतलाई काजमा राखेर समेत आयोगले अनुसन्धानमा खटाउँदे आएको छ ।
लोकमानसिंह कार्की आयोगको प्रमुख आयुक्त हुँदा प्रहरीको दरबन्दी बढाएर करिब चार सय पु¥याइएको थियो । उनी हटेसँगै प्रहरीको संख्या घटाइएको थियो । अहिले फेरि बढाइएको छ ।
आवश्यकताअनुसार आयोगमा केही दरबन्दी थपघट गरिएको प्रवक्ता प्रदीप कोइरालाले बताए । प्रहरीसँगै निजामतीतर्फ पनि केही प्राविधिक जनशक्तिको दरबन्दी राखिएको र केही कटौती गरिएकाले उनले बताए । विकास निर्माणको गुणस्तर परीक्षणका लागि सबै कार्यालयहरुमा इन्जिनियरको जनशक्ति थप गरिएको छ । त्यस्तै कानूनतर्फ पनि जनशक्ति थप भएको छ । टाइपिष्ट, प्रुफरिडर लगायत तल्लो तहका केही जनशक्ति घटाइएको प्रवक्ता कोइरालाले बताए ।

प्रतिक्रिया दिनुहोस्