Logo
Logo

बोर्ड अध्यक्ष बन्न आवदेन दिनेहरुको ओइरो


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३१ बैशाख । चलचित्र विकास बोर्ड अध्यक्षको अध्यक्ष बन्ने होड लागेको छ । केही दिनअघि मात्र विकास बोर्डले रिक्त रहेको अध्यक्ष पदका लागि उम्मेदरवारी आह्वान गरिएको थियो । यसैक्रममा अहिलेसम्म अध्यक्ष बन्न चार जना भन्दा बढीले आवेदन दिइसकेका छन् ।
निर्देशक दयाराम दाहालदेखि अभिनेता भुवन केसीसम्मले बोर्ड अध्यक्ष बन्न आवदेन दिएका छन् । नेपाली फिल्म क्षेत्रमा लामो समयदेखि कार्यरत निर्देशक दाहाल पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाको नजिकको मान्छे मानिन्छन् । त्यसैले पनि उनको नाम बोर्ड अध्यक्षको दावेदारका रुपमा चर्चामा छ ।
हाल बास्कोटा मन्त्री पदमा नरहेपनि प्रधानमन्त्री ओली निकट रहेका कारण दाहाललाई अध्यक्ष पदका लागि सबैभन्दा बलियो दाबेदारको रुपमा लिइएको छ । यसअघिका अध्यक्ष स्वः केशब भट्टराईले अघि सारेका नीति तथा योजनाहरुमा समेत दाहालको प्रत्यक्ष सहभागिता रहेको थियो ।
यस्तै, अभिनेता भुवनले पनि विकास बोर्ड अध्यक्ष पदका लागि आवेदन दिएका छन् । अघिल्लोपटक समेत उनी अध्यक्ष पदका लागि चर्चामा आएका थिए । अभिनेता भुवन नेकपा नेता माधवकुमार नेपाल निकटस्थ मानिन्छन् । त्यस्तै अघिल्लोपटक प्रधानमन्त्री ओलीले उनलाई आवेदन समेत दिन भनेका थिए । तर, त्यो बेला उनले आवदेन दिन चाहेनन् । आफ्नो सम्पूर्ण समय फिल्म क्षेत्रलाई दिएको र आफ्नो छोरालाई पनि यही क्षेत्रमा ल्याएकोबारे बेला–बेला कुरा गरिरहेका उनी यसपटक अध्यक्ष बन्ने इच्छा देखाएका छन् । ‘जुनी’ फिल्मबाट डेब्यु गरेका भुवन सम्भवतः नेपाली फिल्ममा सबैभन्दा धेरै हिट फिल्म दिने अभिनेता हुन् ।
यस्तै, कलाकार भीमा मैनालीले पनि चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि आवेदन दिएकी छन् । योपटक न्युनतम योग्यता घटाइएकाले कसैलाई लक्षित गरेर त्यस्तो गरिएको होकि भन्ने ठानेर केही दिन अघिसम्म उनी आवेदन दिने कि नदिने दोधारमा थिइन् । तर, साथीहरुको सल्लाह र सुझावले आवेदन दिएको उनको भनाइ छ ।
यस्तै, बोर्ड अध्यक्षका लागि संगीतकर्मी तथा फिल्म निर्माता अर्जुन कुमारले पनि आवेदन दिएका छन् । उनले सबैभन्दा पहिलो आवेदन दिएका हुन् । विसं २०४६ देखि एमालेमा लागेका अर्जुन कुमारले लामो समय एमालेको जन सांस्कृतिक महासंघमा काम गरेका थिए । पुरानाहरु सबै ‘टेस्टेड’ भएको भन्दै बोर्डमा अब नयाँ मान्छेको आवश्यकता रहेको बताउँदै उनले बोर्ड अध्यक्षमा उम्मेदवारी दिएको बताएका छन् । फिल्म उद्योग बुझेको मान्छे चाहिने भएकाले खुला प्रतिस्पर्धामा कोही पनि आफु जति सक्षम नरहेको उनको दावी छ ।
फिल्म उद्योगमा लामो समय काम गरेका अर्जुन कुमारका थुप्रै गीतहरु चर्चित छन् । फिल्ममा भने उनले पहिलो पटक ‘द युगदेखि युगसम्म’मा संगीत दिएका थिए । ‘चपली हाइट’ बाट फिल्म निर्माण शुरु गरेका उनले ‘चपली हाइट (२’, ‘फिटकिरी’, ‘फाटेको जुत्ता’ र ‘चपली हाइट (३’ निर्माण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्