Logo

नेकपा स्थायी कमिटी बैठक स्थगित, सदस्यहरुको कोरोना जाँचपछि मात्र बैठक


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३१ बैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आज बुधबार बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगन भएको छ । बिहान ११ बजे पार्टी मुख्यालयमा धूम्रबाराहीमा बस्ने भनिएको बैठक सदस्यहरुको कोरोना जाँचपछि मात्र बस्ने गरी स्थगन गरिएको पार्टी कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए ।
उनका अनुसार स्थायी कमिटीका ४५ सदस्य सबैको कोरोना भाइरस (कोभिड–१९)को परीक्षण गरेरमात्र बैठक बस्ने छ । अब बस्ने बैठक पार्टी एकतापछिको तेस्रो स्थायी कमिटी बैठक हुने छ । ‘केही सांसद रहेका स्थायी कमिटी सदस्यको कोभिड –१९ परीक्षण गरिएको थियो’ उनले भने, ‘तर केहीको बाँकी रहेकाले परीक्षण गरेर मात्र बैठक बस्ने भएको छ ।’ आज बस्ने भनिएको बैठकमा सरकारको नीति तथा कार्यक्रम, कोभिड–१९ र भारतद्वारा अतिक्रमित नेपाली भूमिका बारेमा छलफल गर्ने कार्यसूची थियो ।

प्रतिक्रिया दिनुहोस्