Logo
Logo

काठमाडौंकी संक्रमित महिला प्रहरीकै गाडीमा कञ्चनपुरबाट आएको खुलासा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १ जेठ ।

मंगलबार कोरोना संक्रमण पुष्टी भएकी चन्द्रागिरी मच्छेगाउँकी ३३ वर्षीया महिला दुई दिनअघि कञ्चनपुरबाट सशस्त्र प्रहरीको गाडीमा काठमाडौं गएको खुलेको छ।
चन्द्रागिरी नगरपालिका ९ थानकोट घर भएकी महिलाको पुरानो घर कञ्चनपुरको बेदकोट नगरपालिका १० सिसैयामा पर्छ। आफ्ना देवरको ब्रतवन्धका लागि उनी गएको चैतको पहिलो साता काठमाडौंबाट दुई छोराछोरीसहित कञ्चनपुर आएकी थिइन्।

लकडाउनका कारण देवरको ब्रतवन्ध पनि रोकिएको थियो। त्यसपछि लकडाउनकै कारण उनी तुरुन्तै काठमाडौं जान सकिनन्। काठमाडौँबाट कञ्चनपुर आएको सशस्त्र प्रहरीको स्वास्थ्यकर्मीको टोलीसँगै उनी दुईछोराछोरी लिएर २८ वैशाखमा काठमाडौँ फर्केकी थिइन्।

उनी करिब दुई महिना कञ्चनपुर बसेर काठमाडौं फर्केकी हुन्। ती महिलाका श्रीमान सशस्त्र प्रहरीका स्वास्थ्यकर्मी भएको आफन्तको भनाई छ। काठमाडौं फर्किएलगत्तै सशस्त्र प्रहरीको टोलीसहित उनको पनि स्वाब संकलन गरिएको सशस्त्र प्रहरीका एक अधिकारीले जानकारी दिए।

कञ्चनपुरबाट गएकी महिलामा कोरोना देखिएपछि कञ्चनपुरमा रहेका उनको परिवारका पाँच जना आफन्तको कोरोना परीक्षणका लागि बुधबार स्वाब संकलन गरिएको बेदकोट नगरपालिका मेयर अशोक कुमार चन्दले जानकारी दिए।

‘घरका सबैलाई होम क्वारेन्टाइनमा राखिएको छ’, चन्दले भने, ‘जनस्वास्थ्य कार्यालय कञ्चनपुर र कैलालीबाट आएको स्वास्थ्यकर्मीको टोलीले महिलाको घरपरिवारका सदस्यको स्वाब संकलन गरेको हो।’

प्रतिक्रिया दिनुहोस्