Logo
Logo

कोरोना रोकथाममा कटिबद्ध तानसेन


गोविन्द भट्टराई

0
Shares

  • गोविन्द भट्टराई

पाल्पा, १ जेठ । कपिलबस्तु, रुपन्देहीमा कोरोना संक्रमितको संख्या बढिरहेपनि तानसेनका मेयर उपमेयर लगायत जनप्रतिनिधि भने लकडाउन अघि भन्दा ब्यस्त देखिन्छन् ।


घरबाट निस्कने बेलामा तानसेनका मेयर अशोककुमार शाहीकी धर्मपत्नी सुमित्रा शाहीको अनुरोध सुनिन्छ, ‘कमसेकम मास्क त लगाउनुस !’ मेयर शाही कोरोनाभन्दा नगरबासीको चिन्ताले आफूहरुलाई सताएको बताउनुहुन्छ । कोरोना संक्रमणबाट कसरी नागरिकलाई जोगाउने अनि समस्यामा परेका किसान, मजदूरलगायत नगरबासीको समस्या सम्बोधनमै आफूहरु केन्द्रित रहेको तानसेनका मेयर अशोककुमार शाहीले बताउनु भयो । शाही भन्नुहुन्छ, ‘हामीले ग्रामीण भेगका किसानको तरकारी कुहिन दिनुहुन्न भनेर लकडाउनका बेला कृषि एम्बुलेन्समार्फत् नगरका उपभोक्तालाई किसानकै मोलमा तरकारी वितरणको ब्यवस्था मिलायौँ ।’
कृषि उत्पादन अभिबृद्धिको लक्ष्यसहित तानसेन नगरपालिकाले किसानलाई मकै, धान लगायतका बीउबिजनसमेत बितरण गरेको थियो । तानसेन नगरपालिकाले स्वदेश तथा विदेशमा रहेका ९ हजार बढी नागरिकलाई लक्षित गरेर युवा स्वरोजगार कार्यक्रमका लागि योजना बनाउनुका साथै विदेशमा रहेका नागरिकहरुसँग कोरोनाको असर र रोजगारीका सवालमा भर्चुअल मिटिङमार्फत सुझाव संकलन गरेको नगरप्रमुख अशोककुमार शाहीले जानकारी गराए । तानसेन फर्केपछि युवाहरुलाई कुषि, पशुपालन तथा आन्तरिक पर्यटनमूलक उद्यम ब्यवसायमा समेटनका लागि योजनामै समेटने गरी पहल थालेको बताउँदै शाहीले आफुहरुले स्वरोजगार कोष स्थापना गरी बैंकमार्फत नगरपालिकाको जमानीमा बिनाधितो ऋण प्रवाह शुरु गरिसकेको बताए ।
तानसेन नगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरेका प्रयास मध्ये वडाका जनप्रतिनिधिको सिफारिसमा १७ सय बढी परिवारलाई निशुल्क राहत वितरण, मध्यम वर्गका नागरिक लक्षित ३ हजार २ सय बढी परिवारलाई सहुलियत मूल्यको खाद्यान्न बितरणले समस्यामा परेका नागरिकलाई राहत पुगेको उपमेयर लक्ष्मीदेवी पाठकले बताए । मेयर शाहीका अनुसार भोकै बस्न नपरोस् भनेर पछिल्लोपटक श्रममा आधारित राहतको ब्यवस्था शुरु गरिएको छ ।
तानसेनले लकडाउनका बेला पनि विकास निर्माणका कामलाई निरन्तरता दिएको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज बेल्बासेले बताए । तानसेन नगरपालिकाको विविध राहत कार्यक्रमलाई अधिकांश नगरबासीले सकारात्मक रुपमा लिएको नगरपालिकाका प्रवक्ता दामोदरप्रसाद घिमिरेले बताए ।
हालसम्म तानसेनले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका सिलसिलामा गरेका विभिन्न काममध्ये कृषि एम्बुलेन्स, किसानलाई बीउबिजन बितरण, बिद्यार्थीका लागि रेडियो दूर शिक्षा कार्यक्रम, घरदैलौमै पुगेर उपचार गर्ने तथा जेष्ठ नागरिक भत्ता वितरण गर्ने, स्वास्थ्य संस्थालाई व्यक्तिगत स्वास्थ्य सुरक्षा सामग्री प्रदान लगायतका काम अधिक चर्चामा रहेको पाइयो । पाल्पाको सदरमुकाम समेत रहेको तानसेन नगरपालिकाले सम्पन्न गरेका कतिपय कामको सिको छिमेकी पालिका तथा देशका अन्य पालिकाले समेत अनुकरण गरे ।
सहुलियत मूल्यमा राहत वितरणका लागि तानसेन नगरकार्यपालिकाले गठन गरेको समितिका संयोजक सागरमान महर्जनका अनुसार सीमित साधन स्रोतका भरमा करीब १७ सय विपन्न परिवारलाई निशुल्क खाद्यान्न उपलव्ध गराएलगत्तै करीब ३२ सय बढी निम्न मध्यम वर्गका नगरबासीलाई निश्चित सहुलियत मूल्यमा (करीब २५ प्रतिशत मुल्य नगरपालिकाले व्यहोर्ने गरी) वडा वा पायक पर्ने ठाउँबाट चामल र आटा वितरण गरेको छ ।
कतिपय निम्न मध्यम वर्गीय परिवारले माग गरेन, बरु खान पुग्ने, खाद्यान्न सञ्चित भएकाहरुले नाम लेखाएको गुनासो हामीसँग आयो । कतिले जिम्मेवार व्यक्तिले नै कुरा नबुझेर खाद्यान्न किन्न आवश्यक नपर्ने व्यक्तिहरुलाई समेत नाम लेख्न लगाइयो भन्ने गुनासा पनि सुनिए ।

कोरोनाविरुद्ध तानसेनका प्रयासहरु

नगरपालिकाका सूचना अधिकारी दुर्गाबहादुर थापाका अनुसार २०७६ फागुनदेखि नै छापा तथा विद्युतिय सञ्चार माध्यमबाट सचेतनासम्वन्धी प्रचारप्रसारका कार्यहरु तानसेन नगरपालिकाले नियमितिरुपमा सञ्चालन गरिआएको छ ।
जिल्ला प्रहरी कार्यालय समेतको सहयोगमा स्थलगत रुपमा तानसेन नगरपालिकाले सचेतनामूलक फ्लेक्स ब्यानर विभिन्न टोलमा राख्नुका साथै माइकिङ गरिआएको छ । नगरपालिकाको सहयोग तथा नर्सिङ एसोसियसन पाल्पासँगको सहकार्यमा नगरभित्रका शैक्षिक संस्था तथा समुदायस्तरमा कोरोनाबारे सचेतना कार्यक्रम सञ्चालन गरी ५ सय बढीलाई सूसूचीत गरियो । मिसन अस्पताल तानसेनका निर्देशक डा. रचेल कारखको शब्द, सौजन्य तथा नगरपालिकाको पहलमा २ चरणमा कोरोनाविरुद्ध सचेतना भिडियो तयार गरी प्रचारप्रसार गरिएको छ ।
सूचना अधिकारी थापाका अनुसार २०७६ चैत्र पहिलो हप्ता मै तानसेन नगरपालिका र युनाइटेड मिसन अस्पताल तानसेनको संयुक्त आयोजनामा नगर कार्यपालिकाका पदाधिकारीहरु, नगरपालिकाका स्वास्थ्य चौकी प्रमुख, शाखा प्रमुख, वडा सचिवहरुको लागि नोवेल कोरोना भाइरस (कोभिड–१९)को बारेमा अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको थियो ।
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारद्वारा जारी गरिएको निर्देशिका बमोजिम २०७६ चैत्र ४ गते तानसेन नगरपालिकाका नगर प्रमुखको संयोजकत्वमा नगरस्तरीय समन्वय समिति गठन गरी आवश्यक कामलाई तीव्रता दिइएको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज बेल्बासेले बताए । लगत्तै तानसेन नगरपालिकाका सम्पूर्ण वडाहरुमा स्थानीय जनप्रतिनिधि, स्वास्थ्य स्वयंसेवीका, टोल विकास समितिका पदाधिकारी र अन्य सरोकारवालाहरुलाई अभिमुखिकरण गरी निर्देशिका अनुसार सम्पूर्ण वडाहरुमा वडास्तरीय समन्वय समिति गठन गरि आवश्यक समन्वय गरिएको प्रमुख प्रशासकीय अधिकृत बेल्बासेले बताए ।
वडा कार्यालय, स्वास्थ्य चौकीहरुमा हात धुनका लागि बाल्टी, साबुन उपलव्ध गराइएको, नेपाली सेनाको गोरखदल गणको समेत सहयोग लिएर नगरपालिकाले बसपार्क, प्रभास लगायतका स्थानमा बाहिरबाट आएका मानिसहरुको स्वास्थ्य परीक्षणका लागि हेल्थ डेस्क सञ्चालन गरेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख झविन्द्र न्यौपानेले बताए ।
न्यौपानेका अनुसार नगर कार्यपालिकाका पदाधिकारी र कर्मचारीहरुलाई सेनिटाइजर निर्माणसम्बन्धी अभिमुखिकरण कार्यक्रम आयोजना गरी आवश्यक ज्ञानशिप प्रदान गरियो र आवश्यक सामग्री जुटाएर चाहिने सेनीटाइजर बनाएर माग अनुसार सरोकारवालालाई वितरण गरिएको छ ।
तानसेन नगरपालिकाका विभिन्न वडामा बाहिरबाट हालसालै आएका ब्यक्तिहरु प्हिचान गरी स्वास्थ्यकर्मी घरमै पुगेर स्वास्थ्य परीक्षण गरिएको थियो । उपप्रमुख लक्ष्मीदेवी पाठकसमेत स्वास्थ्यकर्मीसँग सँगै घरघर पुगेकी थिइन् ।उनले भनिन्, ‘नगरबासीलाई कसरी सुरक्षित राख्न सकिन्छ भनेर हामीले स्वास्थ्य परीक्षणका लागि स्वास्थ्यकर्मीलाई घरघरमै पु¥याएका हौँ । पहिले त विदेशबाट आएकाहरुको तथ्यांक संकलन ग¥र्यौं अनि बाहिरबाट आएकाहरुलाई घरघरमै पुगेर परीक्षण गर्नुका साथै तानसेनले नगरपालिका भित्रका स्वास्थ्य चौकीहरुमा ज्वरो परीक्षणको कामलाई अगाडि बढायौँ । यसैगरी नगर तथा ग्रामीण भेगका विभिन्न स्थानमा किटनाशक औषधि छर्ने काम समेत गरिएको छ ।’
नगरपालिकाले विदेशबाट आएकालाई तत्काल क्वारेन्टाइनमा राख्नका लागि तानसेन–६ स्थित जनप्रिय माबिमा ५० शैयाको क्वारेन्टाइन स्थापना गरेको नगरप्रमुख अशोककुमार शाहीले बताए । पटकपटक गरी क्वारेन्टाइनमा ३३ जनालाई राखिएको थियो । उनीहरुलाई सम्बन्धित पालिकाको जिम्मा लगाइएको सूचना अधिकारी दुर्गाबहादुर थापाले बताए ।
लकडाउनका कारण अप्ठेरोमा परेका मजदुर, श्रमिक, सुत्केरी, विद्यार्थी लगायत दैनिक ज्यालादारी गरी जीवन निर्वाह गर्ने व्यक्तिहरुको लगत तयार गरी दैनिक जीवन निर्वाहको लागि आधारभूत खाद्य सामग्री प्रदान गर्ने व्यवस्था मिलाइ निशुल्क खाद्यान्न राहत सामग्री उपलव्ध गराएको नगरप्रमुख शाहीले बताए ।
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण, उपचार र राहत कार्यक्रममा सहयोग पु¥याउन नगरपालिकाको बोर्ड बैठकले तत्काल २५ लाख वजेट ब्यवस्थासहित कोष स्थापना गरेको नगरप्रमुख शाहीले बताए । उक्त कोषमा तानसेन नगरपालिकाका जनप्रतिनिधि, कर्मचारीहरुले समेत सहयोग जम्मा गरेका छन भने नगरस्थित मनकारी संघसंस्था, केही व्यक्तिहरुले आफूखुसी र नगरपालिकाभित्र रहेका सरकारी विद्यालयमा कार्यरत शिक्षकहरुबाट सहयोग जम्मा भएकोे नगरपालिकाका प्रवक्ता दामोदरप्रसाद घिमिरेले बताउ ।
तानसेन नगरपालिकाले प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा आइसोलेसन वार्ड स्थापनाको लागि समिति गठन, एकद्वार प्रणालीबाट राहत सामग्री उपलब्ध गराउने कामलाई समेत प्राथमिकता दिएको छ । केन्द्र तथा प्रदेश सरकार र सम्बन्धित निकायहरुसँग आवश्यक समन्वय एवं सहकार्य गरिएको र नियमितरुपमा आवश्यक सूचना तथा जानकारी आदान प्रदान गरी संञ्चार क्षेत्रलाई समेत सम्प्रेषण गरिएको सूचना अधिकारी दुर्गाबहादुर थापाले बताए । लकडाउनका वावजूद फोहर व्यवस्थापनलाई निरन्तरता दिइएको नगरप्रमुख शाहीले बताए ।
यसैगरी लकडाउनको समयमा पनि तानसेन नगरपालिकाले जेष्ठ नागरिकलाई घरघरमै भत्ता उपलब्ध गराउने कामको शुरुवात गरेको नगरपालिकाका प्रवक्ता घिमिरेले बताए । तानसेन नगरपालिकाले गरेका राम्रा काममध्ये दूर शिक्षा कार्यक्रम पनि एक हो ।
तानसेन नगरपालिकाको सहयोगमा सामुदायिक रेडियो मदनपोखराबाट एसईई परीक्षालाई मध्यनजर गरी दिनको ५ वटा विषयमा कक्षा सञ्चालन गरिएको सामुदायिक रेडियो मदन पोखराका स्टेशन प्रवन्धक राजेशकुमार अर्यालले बताए । उक्त कार्यक्रम ३० भन्दा बढी रेडियोबाट बज्ने गरेकोले परीक्षाको तयारीमा रहेका विद्यार्थी लाभान्वित भएको नगरपालिकाका शिक्षा शाखा प्रमुख रेशमलाल न्यौपानेले बताए । यसैगरी तानसेन नगरपालिकाको सहयोगमा युनिक एफ.एम. तानसेनबाट प्लस टु को लागि परीक्षा सहयोगी कक्षाहरु सञ्चालन भएको स्टेशन प्रवन्धक जगदीश भट्टराईले बताए । नगरपालिकाले नगरबासीको स्वास्थ्य सेवामा खटेका स्वास्थ्यकर्मीको स्वास्थ्यलाई ख्याल राख्दै १२५ थान ब्यक्तिगत स्वास्थ्य सुरक्षा सामग्री (पिपिइ) खरिद गरी पाल्पा अस्पताल (१० थान), मिसन अस्पताल तानसेन (४० थान), लुम्विनी मेडिकल कलेज प्रभास (४० थान), पाल्पा लायन्स लाकौल आँखा अस्पताल (५ थान) लाई उपलव्ध गराएको नगरप्रमुख शाहीले बताए ।
मिसन अस्पतालसँगको सहकार्यमा बृद्धाआश्रममा आइसोलेसन बेड सञ्चालन र क्वारेन्टाइन निसंक्रमणको काममा समेत तानसेन नगरपालिकाले अगुवाइ गरेको पाइन्छ । आवश्यक भएमा निसंक्रमणसम्बन्धी परामर्श सहयोग क्वारेन्टाइन भएका अन्य ठाउँलाई समेत गरिने नगरप्रमुख शाहीले बताए ।
यसैगरी अस्पताल तथा जोखिमपूर्ण स्थलमा रिपोर्टिङमा खट्ने पत्रकारहरुका लागि उपयोग गर्न भनेर नेपाल पत्रकार महासंघ पाल्पालाई तानसेन नगरपालिकाले ब्यक्तिगत स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको नगरपालिकाका सूचना अधिकारी दुर्गाबहादुर थापाले बताए ।
तानसेन नगरपालिकाले कृषि कर्मलाई महत्व दिँदै किसानहरुलाई बीउ, औजार र मलखाद उपलव्ध गराउने निर्णयअनुसार काम भइरहेको उपप्रमुख पाठकले बताए । पाठकका अनुसार मकैको बीउ ५० प्रतिशत अनुदानमा उपलब्ध गराइयो भने धानको बीउका लागि काम हुँदैछ । नगरपालिकाले नेपालमै पहिलोपटक मदनपोखरा संगम कृषि सहकारी संस्थासँगको समन्वयमा तानसेन नगर युवा परिषद्मार्फत कृषि एम्बुलेन्स सेवा सञ्चालन गरी किसानको तरकारी नगरवासीको घर÷टोलमा वितरण गरेको परिषदका अध्यक्ष गुराँस आत्रेयले बताए । अध्यक्ष आत्रेयका अनुसार युवामा उद्यमशीलता र सेवाभाव बढाउन तानसेन नगरपालिकाले विभिन्न रचनात्मक काम गरेको छ ।
पछिल्लोपटक तानसेनले विदेशमा रहेका नागरिकसँग भर्चुअल मिटिङ मार्फत् सम्वाद गरी रोजगारीका लागि योजना निर्माणको काम गरिरहेको नगरप्रमुख शाहीले बताए ।
(स्वतन्त्र पत्रकार)

[email protected]

प्रतिक्रिया दिनुहोस्