Logo

महामारीपछि नयाँ शिक्षा प्रणाली आवश्यकता : अध्यक्ष दाहाल


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १ जेठ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोरोना भाइरस महामारीको संकटले विश्वमा नयाँ शिक्षा प्रणालीको आवश्यकतालाई इंगित गरेको बताएका छन् ।
एकीकृत अखिल नेपाल शिक्षक संगठनले सूचना, सञ्चार तथा प्रविधिसम्बन्धी शिक्षकहरुका लागि आयोजना गरिएकोे पाँचदिने प्रशिक्षक प्रशिक्षण कार्यक्रमको भिडियो संवादमार्फत उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
अध्यक्ष दाहालले भने, ‘महामारीले सिंगै विश्वलाई प्रभावित बनाएको र यसका विरुद्ध मानिसले जित्नेछ भन्ने आशा व्यक्त गर्दै हरेक संकटसँग मानवजाति जुध्नु र संकटबाट पार पाएर परिस्थितिअनुकूल नयाँ सामाजिक, सांस्कृतिक र आर्थिक व्यवस्था अनुकूल हुनु अहिलेको आवश्यकता हो ।’
उनले नयाँ मानिस निर्माण गर्ने वैज्ञानिक र सांस्कृतिक सबै दृष्टिकोणले शिक्षकहरुको भूमिका महत्वपूर्ण रहँदै आएकामा अहिले यो भूमिकाको आवश्यकता झन् बढेको बताए । उनले भने, ‘नयाँ विश्व व्यवस्था र समाजवाद सुहाउँदो शिक्षा प्रणाली स्थापित गर्न शिक्षकहरुले नयाँ सन्देश दिन र परिचालित गर्न प्रशिक्षण एक महत्वपूर्ण पहलकदमी हो ।’
अध्यक्ष दाहालले हरेक नकारात्मकताभित्र मानिसहरुले सकारात्मकताको खोजी गरी विचार र शिक्षा प्रणालीको विकासका ठूलो योगदान दिनसक्ने भएकाले प्रशिक्षणमा सहभागी शिक्षकले त्यसअनुसारको सन्देश विद्यार्थी र अभिभावकसमक्ष लानुपर्नेमा पनि जोड दिए ।
संगठनका अध्यक्ष शंकर अधिकारीले सामुदायिक र निजी विद्यालयका गरी २५० शिक्षक सहभागी रहेको प्रशिक्षणमा गुगल सर्टिभाइड प्रशिक्षक सुशील उप्रेतीको समूहले सहजीकरण गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्