Logo
Logo

कोभिड-१९ : डब्लुएचआरको निःशुल्क खानादेखि स्वास्थ्य शिविरसम्म (भिडियोसहित)


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २ जेठ । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण रोकथाम तथा नियन्त्रण गर्न सरकारले देश लकडाउन गरेको आज ५२औँ दिन । लकडाउनले सबै क्षेत्र ठप्प छ । जसका कारण दैनिक ज्यालादारी गर्ने मदजदूर, गरिब र असहाय तथा अति बिपन्न वर्ग ठूलो मारमा परेका छन् । ती वर्गलाई साँझ–बिहान मुख जोर्न समेत समस्यामा परिरहेको छ ।


यसैलाई मध्येनजर गर्दै एक महिनायता मानव अधिकारका लागि महिला, एकल महिला समूह ‘वुमेन फर हुमेन राइट्स’ (डब्लुएचआर)ले उनीहरुलाई निःशुल्क खानाको व्यवस्था गर्दै आएको छ । यो महिनाको अवधिमा ३० हजारभन्दा बढीलाई निःशुल्क खाना खुवाइसकेको यो समूहले निःशुल्क स्वास्थ्य शिविरको समेत आयोजना गरेको छ ।
अन्तर्राष्ट्रिय नर्सिङ दिवसको अवसरमा यो एकल महिला समूहले नेपाल पुलिस अस्पताल, महाराजगञ्ज र स्वास्थ्य एट होमको सहयोगमा स्वास्थ्य शिविरको आयोजना गरेको संस्थाकी अध्यक्ष लिली थापाले जानकारी दिएकी छन् । उनका अनुसार उक्त स्वास्थ्य शिविरमा महिला, स्तनपान गराउने आमाहरु, गर्भवती महिला तथा बालबालिका, जेष्ठ नागरिक, अपांगता भएका व्यक्तिलगायत सर्वसाधरणले सेवा लिएका थिए । उक्त शिविरमा डा.विशाल ढकाललगायतले सेवा दिएका थिए ।
लकडाउनको समयमा पनि स्वास्थ्यको ख्याल राख्नुपर्ने उद्देश्यका साथ निःशुल्क शिविरको आयोजना गरिएको समूहकी सदस्स तथा चन्द्रगिरी नगर समितिकी एकल महिला समूहकी अध्यक्ष शान्ति महर्जनले बताइन् । एकल महिला भएर पनि यो लकडाउनको बेला समस्यामा परेकाहरुलाई आफ्नो ज्यानको बाजी राखेर सहयोगमा जुटेको उनको भनाइ छ ।
यो समूहले लकडाउनमा समस्यामा परेका अति बिपन्न परिवारलाई काठमाडौंको बुढानिलकण्ठ नगरपालिका वडा नम्बर–७ हात्तीगौंडामा रहेको छहारी भवनमा निःशुल्क खाना खुवाउँदै आएको छ । गत बैशाख ३ गतेदेखि निःशुल्क भोजन सेवा दिइरहेको र हालसम्म समूहले ३० हजार जनालाई निःशुल्क खाना खुवाएको चन्द्रागिरी नगर समितिका एकल महिला समुहकी अध्यक्ष शान्ति महर्जनले जानकारी दिएकी छन् । यसका लागि विभिन्न संघसंस्था र व्यक्तिबाट सहयोग पाएको उनले बताइन् ।
लकडाउन अवधिभर बेलुकाको ४ देखि ६ बजेसम्म बुढानिलकण्ठ नगरपालिकाभित्रका बिपन्न परिवारलाई सामाजिक दुरी कायम राख्दै बेलुकाको खाना उपलब्ध गराइँदै आएको समूहकी संस्थापक अध्यक्ष लिली थापाले बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्