Logo
Logo

जोखिममा काठमाडौं, सयौंलाई संक्रमण भएको आशंका


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३ जेठ ।
काठमाडौं उपत्यकामा सयौंलाई कोरोना संक्रमण भएको आशंकामा लडकाउन कडा गरेर परीक्षणमा तिव्रता दिइएको छ । हाल काठमाडौंमा

 

काठमाडौंको चन्द्रागिरी नगरपालिकामा संक्रमितको संख्या पाँच पुगेको छ । शुक्रबार सतुंगलका सात वर्षिय बालकमा संक्रमण पुष्टि भएको हो ।
हालसम्म नगरपालिकामा दुई सय ६० जनाको पिसिआर टेष्ट भएको छ ।
दुई सय ६० जनामै पाँच जना देखिनुले सरकारी अधिकारीहरु सयौंलाई भइसकेको आंशका गर्दछन् । अन्य स्थानीय तहमा थोरै मात्र परीक्षण भएको छ । चन्द्रागिरीमा संक्रमितमध्ये कसैलाई पनि लक्षण देखिएको छैन ।
हरेक दिन नयाँ संक्रमित भेटिएपछि सुमदायमा फैलिएको आशंकामा शनिबारदेखि नगर क्षेत्रलाई सिल गर्ने र खाद्यान्न पसल तथा बैंकहरु समेत सञ्चालन गर्न नदिने निर्णय भएको छ । घरबाट निस्कन समेत रोक लगाउने निर्णय भएको छ ।
‘विदेशबाट आएकाभन्दा उपत्यकाका बाहिरबाट आएकाहरुबाट जोखिम देखिएको छ,’ चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरी भन्छन्,‘बाहिरबाट आएकाहरुको खोजी–खोजी परीक्षण सुरु गरेका छौं ।’
संक्रमितमध्ये एक बलम्बुमै कार्यरत सशस्त्र प्रहरीका कर्मचारी छन् । अर्का उनकै परिवारको सदस्य हुन् । त्यस्तै सतुंगलकी ३० वर्षिया महिला र दहचोक बस्ने सात वर्षिया बालकमा पनि संक्रमण देखिएको छ । उनीहरु उपत्यका बाहिरबाट आएकाले परीक्षण गर्दा संक्रमण देखिएको हो ।
चन्द्रागिरी नगरपालिकामा रहेको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताललाई कोरोनो बिशेष अस्पतालका रुपमा सञ्चालन सुरु गरिएको छ । जहाँ कोरोना परीक्षणको नमुना संकलन हुने गरेको छ । सोही कारण परीक्षण गर्नेको संख्या बढेको छ । कतिपयले आफैंले परीक्षण गरेको र उपत्यका बाहिरबाट आएकाहरुको विवरण संकलन गरी परीक्षण गराउन थालिएको मेयर गिरीले बताए ।

संक्रमित व्यक्तिले भेटेका व्यक्तिहरु खोजेर पनि परीक्षण भइरहेको महानरीय प्रहरी वृत्त थानकोटका डिएसपी घनश्याम श्रेष्ठले बताए ।
पछिल्लो समय काठमाडौंको अन्य क्षेत्रमा हालसम्म संक्रमण देखिएको छैन । तर, परीक्षण कम भएकाले संक्रमण नदेखिएको आँकलन गरेपछि परीक्षण बढाउन थालिएको छ । काठमाडौं महानगरका स्वास्थ्य कर्मचारीहरुको परीक्षण गर्दा ३१ जनाको आरडिटी पोजेटिभ देखिएपछि उनीहरुलाई क्वारेन्टाइनमा राखिएको छ । उनीहरुको पिसिआर परीक्षणको रिपोर्ट आउन बाँकी छ । भक्तपुरमा एक प्रहरीसहित दुई जनामा संक्रमण देखिएको छ। उनीहरुका परिवार तथा भेटेका व्यक्तिमा संक्रमण नभेटिएको र परीक्षण भइरहेको जनाइएको छ ।
शिक्षण अस्पतालकी बालिकामा पनि संक्रमण देखिएको छ । त्यहाँ कार्यरत एक स्वास्थ्यकर्मीमा समेत संक्रमण पुष्टि भइसकेको छ ।

तराईका जिल्लाहरुमा संक्रमण बढ्दै गएको र ठूलो संख्या ती जिल्लाबाट काठमाडौंमा समेत भित्रिएकाले सर्तकता बढाइएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले लकडाउनलाई थप कडाई गरी गल्लीमा हिड्न समेत नदिने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्